काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रमुख (डीन) नियुक्त गर्न एक अनौठो छनौट समिति बनाइएको छ । उक्त रिक्त पदपूर्ति गर्न भन्दै निजी कलेजका सञ्चालक, संस्थानकै सहायक डीन र एक जना विद्यार्थी सम्मिलित समिति बनेको हो ।
यसबाट मुलुककै जेठो तथा सबैभन्दा ठुलो विश्वविद्यालयको प्रमुख संस्थान मध्येको आईओईले योग्य तथा सक्षम नेतृत्व प्राप्त गर्नेमा अनेक आशङ्का उब्जिएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । निवर्तमान डीन प्राडा शशीधरराम जोशीको कार्यकाल सकिएपछि संस्थान नेतृत्व विहीन छ ।
इन्जिनियरिङ तथा प्राविधिक जनशक्ति उत्पादनमा आईओई देशकै कहलिएको महत्त्वपूर्ण शैक्षिक संस्था हो । तर यही निकायको प्रमुख छनौट गर्न गठित समितिमा भने स्वार्थ बाझिने र कनिष्ठ पदभार सम्हालिरहेका व्यक्तिहरू रहेको भन्दै सरोकारवाला पक्षले प्रश्न उठाएका हुन् ।
त्रिवि कार्यकारी परिषद्ले गत ५ भदौमा आईओई सहित अन्य सङ्कायको रिक्त पदमा डीन नियुक्ति गर्न विभिन्न छनौट समिति गठन गरेको थियो । जसअनुसार आईओई डीन छनौट गर्न जीवराज पोखरेल संयोजक र प्राडा चिन्तामणि पोखरेल र प्रा देविप्रसाद भट्टराई सदस्य रहने गरी तीन सदस्यीय समिति बनाइएको छ ।
छनौट समिति संयोजक र सदस्यहरूको योग्यतामा प्रश्न
समितिका संयोजक प्राडा जीवराज पोखरेल आईओईकै पूर्व डीन भए पनि उनी हाल कान्तिपुर इन्टरनेसनल कलेजका इन्जिनियरिङ तर्फका प्रिन्सिपल पनि हुन् ।
त्यस्तै सदस्य रहेका प्राडा चिन्तामणि पोखरेल हालको आईओईको बहालवाला सहायक डीन हुन् भने प्रा देविप्रसाद भट्टराई पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायका डीन हुन् ।
भट्टराई आईओईमै विद्यावारिधि अध्ययनरत विद्यार्थी पनि हुन् । यसरी निजी कलेजका प्रिन्सिपल, सहायक डीन र विद्यार्थीले आफूभन्दा माथिल्लो पदका लागि कसरी उपयुक्त डीन छनौट गर्न सक्लान् ? यसरी छानिने डीनको हैसियत के होला ? सरोकारवालाहरूले अहिले यस्ता अनेकन् प्रश्नसहित देशकै प्राविधिक शिक्षाको मेरुदण्ड मानिने इन्जिनियरिङ अध्ययन संस्थानको भविष्य प्रति चिन्ता व्यक्त गर्न थालेका हुन् ।
“निजी कलेजको प्रिन्सिपलले संस्थानको डीन छनौट गर्दा स्वार्थ बाझिन्छ कि बाझिन्न ?,” आईओईमै प्राध्यापन गराइरहेका एक प्राध्यापक भन्छन्, “बहालवाला सहायक डीनले आफ्नै हाकिम छनौट गर्दा आउने डीनको हैसियत के होला ? अनि संस्थानकै विद्यार्थीले सोही संस्थानको डीन छनौट गर्न पाउने व्यवस्थाले के सङ्केत गर्छ ?”
त्रिवि कार्यकारी परिषदको सचिवालय भने डीन छनौट गर्ने समितिले आफ्नो मन लाग्दी तरिकालेभन्दा पनि विनियममा रहेर काम गर्ने भएकाले समस्या नहुने बताउछ । समितिले विनियमका उल्लिखित विभिन्न आधारमा अङ्क दिने र सबैभन्दा बढी अङ्क प्राप्त गर्ने आवेदकहरूलाई प्राथमिकता दिएर उत्कृष्ट तीन जनालाई मात्र परिषद्मा सिफारिस गर्ने सचिवालयको भनाई छ । यसले गर्दा स्वार्थ नबाझिने र राजनीतिक भागबन्डामा भन्दा योग्यता र क्षमताका आधारमा डीन नियुक्त हुने दाबी त्रिवि कार्यकारी परिषद् सचिवालयको छ ।
त्रिविको निमित्त उपकुलपति समेत भइसकेका प्राडा शिवलाल भुसाल भने डीनको छनौट गर्ने समितिमा वरिष्ठ अथवा सेवा निवृत्ति भइसकेका प्राध्यापक अथवा पूर्व डीनहरू हुनु पर्ने बताउँछन् ।
डीन नियुक्तिका लागि गठन गरिएको समितिबारे आफू अलि अनभिज्ञ भएकाले त्यसबारे उनले टिप्पणी गर्न चाहेनन् । यद्यपि अहिलेको कार्यकारीले डीन लगायत अन्य पदमा छनौटका आधार तोकिदिएकाले समितिमा जो भए पनि उनीहरू त्यही आधार भित्रमा बस्ने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै समिति संयोजक रहेका प्राडा पोखरेल आफूले यो विषयमा विवाद हुन सक्ने अनुमान गरेरै यसबारे त्रिवि कार्यकारीको ध्यानाकर्षण गराएको सुनाउँछन् । टेकपानासँगको कुराकानीमा उनले आफू निजी कलेजको प्रिन्सिपल भएको र मिल्छ मिल्दै भनेर प्रश्न गर्दा कार्यकारीले मिल्छ भनेपछि जिम्मेवारी सम्हाल्न तयार भएको उनको प्रस्टोक्ति छ ।
“डीन नियुक्त गर्ने समितिमा म हुनै पर्छ भन्ने पनि थिएन । मलाई परिषद्ले यस विषयमा स्पष्ट पारेपछि मात्र बसेको हुँ । फेरि अन्य समितिमा पनि निजी कलेजमा पढाइरहेका व्यक्तिहरू देखिनु भएको छ,” उनले भने ।
यस समितिको पहिलो बैठक पनि बसिसकेको छ । त्रिवि कार्यकारीले समितिलाई आफ्नो काम गर्न १४ दिनको म्याद दिएको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै समितिले योग्य उम्मेदवारहरूबाट आवेदन समेत माग गरिसकेको छ । यसो हुँदा सबै काम सकेर आईओईले डीन पाउन करिब एक महिना लाग्ने पोखरेलको भनाइ छ ।
यसअघि पनि डीन नियुक्ति गर्न छनौट समिति बन्ने गर्थ्यो । समितिमा भएकाले योजना बनाएर डीन बन्न सक्षम व्यक्तिहरूको बारेमा परिषद्मा पेस गर्थे । तुलनात्मक रूपमा यो काम अलि गोप्य र अपारदर्शी हुन्थ्यो । समिति भित्र भित्रै बन्ने र भित्रभित्रै नियुक्ति हुने गर्थ्यो ।
अहिले भने कस्तो खालको मूल्याङ्कन आधार अपनाउने भनेर समेत लेखिएको छ । जसमा केही सङ्ख्यात्मक र गुणात्मक आधार छन् । अझ गुणात्मक आधारमा कसैको प्रभाव देखिन सक्ने भएकाले सङ्ख्यात्मक आधार पनि भएको उनी सुनाउँछन् ।
यसैले आफूहरूले आवेदकको योग्यता, दक्षता, अनुभव, लक्ष्य र योजनाका आधारमा सकेसम्म राम्रो व्यक्तिलाई प्रस्ताव गर्न कुनै कसुर नछाड्ने उनको दाबी छ । यस प्रक्रियाबाट पहिलो पटक डीन नियुक्ति हुन लागेको उल्लेख गर्दै त्यसमा स्वच्छ मनले काम गर्ने उनको भनाई छ । “तर परिषद्मा सिफारिस गरिने तीन जना व्यक्तिमा राजनीतिक चलखेल भए त्यसको जिम्मेवारी भने हामी लिन सक्दैनौं,” पोखरेलले भने ।
विनियम नै फेरबदल
त्रिवि परिषद्ले विभिन्न पदहरूको नियुक्तिलाई पारदर्शी बनाउन गत ३२ साउनमा ‘सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ पारित गरेको छ । यो विनियम मस्यौदामा निकै फेरबदल गरेर पारित गरिएको छ ।
विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने उद्देश्यले बनाइएको विनियमनको त्रिवि भित्रै विरोध भएपछि अन्तत: त्रिवि परिषद्ले संशोधनपछि राजनीतिक नियुक्ति अनुकूल हुने गरी विनिमय पारित गरिएको स्रोतको दाबी छ ।
यसअघिको विनियम मस्यौदामा डीन पदका लागि त्रिभुवन विश्वविद्यालयमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापन अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक भएको हुनु पर्ने, कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनु पर्ने, शैक्षिक प्रशासन वा प्राज्ञिक पदमा कार्य अनुभव भएको हुनुपर्ने लगायतका मापदण्ड थिए । त्यसै नैतिकतामा प्रश्न उठे र तोकिएको कार्यकालभन्दा निवृत्ति हुने सेवा अवधि कम भए उम्मेदवार हुन नपाउने व्यवस्था पनि राखिएका थियो । तर ३२ साउन पारित गरिएको विनियममा भने ती विषयहरूलाई हटाइएको छ ।
यस्ता विषय संलग्न विनियम आउने चर्चाबिच आएको राजनीतिक धम्की र दबाबका कारण र चापका कारण त्रिवि कार्यकारीले तुरुन्तै विनियम परिवर्तन गरेर उनीहरू अनुकूल बनाएको सरोकारवालाहरू बताउँछन् ।
अहिलेको यस विनियमले त्रिविमा चलिआएको राजनीतिक भागबन्डाको अन्त्य नहुने सरोकारवालाहरूको तर्क छ । यस विषयमा त्रिवि कार्यकारी परिषद्ले भने विश्वविद्यालयले आवश्यकता र औचित्यका आधारमा विनियममा केही बुँदाहरू तलमाथि गरेको बताएको छ ।
पहिलेको विनियममा समावेश केही बुँदा व्यवहारिक रूपमा अलि गाह्रो हुने देखिएकाले मात्र परिवर्तनहरू गरिएको दाबी छ । जसलाई नकारात्मक रूपमा लिन नहुने र परिमार्जन गरिएको कुरालाई परिषद्ले सर्वसम्मत तरिकाले पारित गरेर सार्वजनिक गरिसकेको कार्यकारी परिषद् सचिवालयको भनाइ छ ।
संस्थान गत २२ साउन यता नेतृत्व विहीन छ । निवर्तमान डीन प्राडा शशीधरराम जोशीको कार्यकाल सकिएसँगै सो पद रिक्त रहन गएको हो । अहिले संस्थानकै सहायक डीन (शैक्षिक प्रशासन) प्राडा विनोदकुमार भट्टराईले निमित्त डीनको जिम्मेवारी सम्हालिरहेका छन् ।