close

एप्पलले हरेक प्रडक्ट वा फिचरलाई किन दिन्छ छुट्टै नाम ?

टेकपाना टेकपाना

भदौ २७, २०८१ २०:७

एप्पलले हरेक प्रडक्ट वा फिचरलाई किन दिन्छ छुट्टै नाम ?

काठमाडौं । प्रविधि कम्पनी एप्पलले हरेक कुरालाई नाम दिएको हुन्छ । प्रडक्ट कम्पनीले डेस्कटपलाई म्याक, स्मार्टफोनलाई आईफोन, इयरबड्सलाई एयरबड्स नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने सफ्टवेयरको पनि भिन्नै नाम छ । जस्तो आईओएस, आईप्याडओएस, म्याकओएस, वाचओएस, टिभीओएस, भिजनओएस आदि । 

यी बाहेक कम्पनीले हासिल गरेका प्राविधिक सफलता र प्राविधिक फिचरलाई पनि कम्पनीले छुट्टै ब्रान्ड नाम दिएको हुन्छ । अर्थात् एप्पलले ल्याउने हरेक प्रडक्ट, फिचर, सफ्टवेयर आदिलाई कम्पनीले भिन्नै नाम दिएको हुन्छ । 

केही दिनअघि सार्वजनिक भएको आईफोन १६ प्रो र प्रो म्याक्समा हाइ रिफ्रेस रेटको एलटीपीओ डिस्प्ले उपलब्ध गराएको थियो । एन्ड्रोइडमा यही विशेषताको चर्चा गर्दा ‘यसमा १२० हर्ज रिफ्रेस रेट सहितको एलटीपीओ डिस्प्ले छ’ भनिन्छ । तर, एप्पलले त्यही डिस्प्लेलाई प्रोमोसन (ProMotion) डिस्प्ले नाम दियो । 

फिङ्गरप्रिन्ट रिडरलाई एन्ड्रोइडमा फिङ्गरप्रिन्ट भनेरै चर्चा गरिएको हुन्छ । तर, एप्पलले यो अप्टिकल फिङ्गरप्रिन्ट रिडरलाई टच आईडीको नामबाट चिनाएको छ । एन्ड्रोइडमा ‘लार्ज लिनियर भाइब्रेसन मोटर’ भनिने टुललाई एप्पलले ट्याप्टिक इन्जिन नाम दिएको छ । 

कम्पनीले फोनमा पछाडिपट्टि ग्लास समावेश गरेको हुन्छ । तर, एप्पलले यसलाई सेरामिक शिल्ड नाम दिएको छ । हो, आकर्षक वा झ्याप्प मष्तिष्कमा बस्ने नामको छुट्टै अर्थ र महत्त्व हुन्छ ।

बजारमा त्यही विषय (प्रडक्ट, फिचर, सफ्टवेयर, टुल)लाई सबैले एउटै नाम दिएका छन्, तर तपाईंले आफ्ना लागि छुट्टै ब्रान्ड गर्नुभयो भने यसले तपाईंले बनाएको भर्सनलाई तुलना गर्न गाह्रो बनाउँछ । 

उदाहरणका लागि मान्नुस्, तपाईं विभिन्न डिभाइसमा रिफ्रेस रेटको बारेमा चर्चा गर्दै हुनुहुन्छ । एउटा डिभाइसको रिफ्रेस रेट १२० हर्ज छ र अर्को डिभाइसको रिफ्रेस रेट १४४ हर्ज छ । गेमिङका लागि रिफ्रेस रेट महत्त्वपूर्ण हुन्छ । यी दुई डिभाइसको तुलाना गर्दा १२० हर्ज रिफ्रेस रेट भएको डिभाइसभन्दा १४४ हर्ज रिफ्रेस रेट भएको डिभाइस २० प्रतिशत बढी रेस्पोन्सिभ छ भन्ने पत्ता लगाउन सकिन्छ । 

तर, एप्पलले रिफ्रेस रेटमा हर्जको कुरा गर्दैन । उसले नयाँ डिभाइसको चर्चा गर्दा भन्छ, “हामीसँग प्रोमोसन डिस्प्ले छ । यो भर्सनको प्रोमोसन डिस्प्ले हाम्रा अन्य प्रोमोसन डिस्प्ले भएका आईफोनभन्दा भढी रेस्पोन्सिभ छ ।”

ब्याट्रीको चर्चा गर्दा पनि एप्पलले ब्याट्रीको क्षमता कति एमएएच छ भनेर जानकारी दिंदैन । बरु डिभाइसमा यति घण्टा प्लेब्याक टाइम छ भन्ने गर्छ । त्यस्तै तुलाना गर्दा पनि कम्पनी आफूले बजारमा ल्याएको पुराना आईफोनको ब्याट्रीभन्दा कति प्रतिशत बढी टिक्छ भन्ने बताउँछ । यस्तो गर्दा आईफोनको ब्याट्रीलाई अर्को स्मार्टफोनसँग तुलना गर्न केही गाह्रो हुन्छ ।     

एप्पलले वाटर रेसिस्टेन्स आईपी ६८ वा आईपी ६७ छ भनेर बिरलै भन्छ । प्रस्तुतिका क्रममा एप्पल केबल यो डिभाइस ‘वाटर एन्ड डस्ट रेसिस्टेन्स’ (पानी र धुलोले असर नगर्ने) छ भनिन्छ । 

फोनको एमोलेड डिस्प्लेमा क्यामेरा डिस्प्लेको केही तल छ भने त्यसलाई होल-पन्च कटआउट भनिन्छ । तर, एप्पलले त्यसैलाई डाइनामिक आइल्यान्ड नाम दिएको छ । एप्पलले आफ्ना हरेक फिचर, प्रडक्ट र सफ्टवेयरको छुट्टाछुट्टै पेटन्ट दर्ता गरेको छ । कम्पनीले कुन फिचर वा प्रविधिलाई के नाम दिएको छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

- मर्किस ब्राउन्लीबाट

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ २०:१५