close

दराज भन्छः १ लाख २० हजार पर्ने ल्यापटपको मूल्य गल्तीले १,९०६ भयो, के होलान् गरिसकेका अर्डर ?

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १९:३४

दराज भन्छः १ लाख २० हजार पर्ने ल्यापटपको मूल्य गल्तीले १,९०६ भयो, के होलान् गरिसकेका अर्डर ?

काठमाडौं । आज ईकमर्स प्लेटफर्म दराजको सबैभन्दा ठुलो सेल दराज ११ः११ चली रहेको छ । यसमा कम्पनीले ग्राहकहरूलाई प्लेटफर्ममा उपलब्ध विभिन्न वस्तुहरूमा आकर्षक छुट दिने गरेको छ । 

यस पटकको सेलमा भने एउटा ल्यापटपमा अस्वाभाविक छुट दिइएको विषय बाहिर आएको छ । सामाजिक सञ्जालमा शेयर गरिएका स्क्रिनशटहरूमा एचपीको एक लाख २० हजार रुपैयाँ पर्ने भेक्टस १५ मा ९८ प्रतिशत छुटमा दिइएको देख्न सकिन्छ । यसले सो ल्यापटपको मूल्य १,९०६ रुपैयाँ कायम भएको छ । 

त्यस्तै यही छुट मूल्यमा केही ग्राहकहरूले अर्डर प्लेसमेन्ट गरेको स्क्रिनशट पनि सामाजिक सञ्जालमा शेयर भएका छन् । तर केही क्षणमा नै दराजले  भने सामानको मूल्य राख्दा गल्ती भएको प्रतिक्रिया दिएको छ । यसैगरी दराजले सो मूल्य सच्याउने र गल्तीले उत्पन्न दुविधा प्रति माफी समेत मागेको छ । 

दराजले अहिले सो ल्यापटपको मूल्यमा भएको गल्ती सच्याई सकेको छ । अहिले ल्यापटपको मूल्य हेर्दा ८ प्रतिशत छुट दिएर १ लाख ९, ९९९ रुपैयाँ कायम गरिएको देख्न सकिन्छ । तर अर्डर गरिसकेका ग्राहक लगायतले पहिलेको छुटमा ल्यापटप डेलिभरी हुन्छ कि हुँदैन भनेर सामाजिक सञ्जालमा जिज्ञासा राखिरहेका छन् ।

यस विषयमा दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरसँग बुझ्दा उनले तत्कालै प्रतिक्रिया दिन मानिनन् । त्यसपछि डिजिटल राइट्सका कार्यकारी निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलसँग बुझ्दा देशमा ईकमर्सबारे छुट्टै कानुन नभएकाले अहिलेको घटनामा के हुन्छ भनेर जवाफ दिन कानुनी व्यवस्था नभएको बताए । 

ईकमर्समार्फत सामग्री खरिद गर्दा विद्युतीय सम्झौता हुने र त्यसक्रममा भएका यस्ता गल्तीहरूबारे हाम्रो देशको कानुनी व्यवस्थाले केही नबताएको उनको सुनाए । यसैगरी अहिलेसम्म यस्तो मुद्दा कसैले अदालतमा लगेको घटना पनि नभएको उनले बताए ।

“अर्डर गरेकाहरूलाई दराजले सम्झाउने एउटा कुरा हुन सक्छ । तर अर्डर गरेकाले पनि यस्तो यस्तो भयो भनेर अदालत जान्छन् जस्तो लाग्दैन,” टेकपानासँगको कुराकानीमा उनले भने, “कोही गयो भने बल्ल केही होला । अहिलेको अवस्थामा ठ्याक्कै यही हुन्छ भनेर भन्न कानुनी व्यवस्था छैन ।” 

अन्य देशहरूको सन्दर्भमा भने विक्रेताले अर्डर कन्फर्म गरेपछि मात्र प्लेटफर्ममा दिइएको मूल्यमा सामान पाइन्छ । यदि विक्रेताले अर्डर कन्फर्म गरेको छैन, तर खरिदकर्ताले सामान किन्ने प्रक्रिया अघि बढाइसकेका छन् भने त्यस्तो बेला बाँकी निर्णय विक्रेताले नै लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १९:३९