close

भारतीय युट्युबर ‘टेक बर्नर’ ले सार्वजनिक गरे आफ्नै स्मार्टवाच, केके छन् फिचर ?

टेकपाना टेकपाना

मंसिर ३, २०८१ ११:१५

भारतीय युट्युबर ‘टेक बर्नर’ ले सार्वजनिक गरे आफ्नै स्मार्टवाच, केके छन् फिचर ?

 

काठमाडौं । ‘टेक बर्नर’का नामले चिनिने भारतीय युट्युबर श्लोक श्रीवास्तवले आफ्नै स्मार्टवाच ब्रान्ड सार्वजनिक गरेका छन् । शनिबार युट्युबमा एक भिडिओ राख्दै ‘टेक बर्नर’ ले स्मार्टवाच ब्रान्ड ‘लेयर्स’ सार्वजनिक गरेको घोषणा गरेका हुन् । 

भारतमा पाइने बजेट स्मार्टवाचमा दाबी गरिएका फिचरहरू त्यति उपयुक्त नभएको भन्दै ‘टेक बर्नर’​ले आफैं स्मार्टवाच ल्याउने घोषणा गरेका थिए । उन​का अनुसार अधिकांश भारतीय स्मार्टवाच कम्पनीहरूले चीनबाट स्मार्टवाच ल्याउने गर्छन् । र, आफूले‌ मात्र भारतमा बिक्री गर्न पाउने विशेष अधिकार लिन्छन् । त्यसपछि वाचमा आफ्नो ब्रान्ड राख्दै बिक्री गर्ने गर्छन् । 

यस्तो हुँदा स्मार्टवाचको डिजाइन फरक भएपनि अरु सबै विशेषता भने समान हुन्छन् । भारतमा पाइने स्मार्टवाच किन कम गुणस्तरका हुन्छन् भन्ने विषयमा लामो अनुसन्धान गरी गुणस्तरीय स्मार्टवाच ल्याएको ‘टेक बर्नर’ को दाबी छ ।

‘अनार्क’ (Anarc) नामको यस स्मार्टवाचको डिजाइन लण्डनका डिजाइनरले गरेको र अन्य खोज तथा अनुसन्धानको काम भारतकै टिमले गरेको ‘टेक बर्नर’​ले जनाएका छन् । डेढ वर्षको खोज तथा अनुसन्धानपछि तयार पारिएको यस स्मार्टवाचमा भरपर्दो सेन्सरहरू समावेश गरिएको छ ।

यसको अधिकांश भाग स्टेनलेस स्टिलबाट बनाइएको छ । यो धातु एप्पलका प्रिमियम स्मार्टवाचमा प्रयोग भएको पाइन्छ । ‘टेक बर्नर’​का अनुसार यसमा राखिएका एक्सेलेरोमिटर, हार्ट रेट, एसपीओ टु‌,‌ स्लिप ट्र्याकिङ लगायतका सेन्सरले सटीक डेटा दिन्छ । आफूहरूले वास्तवमै सेन्सरहरू उपलब्ध गराएकाले केही महँगो पर्ने उनले उल्लेख गरेका छन् । 

यस स्मार्टवाचमा १.८५ इन्च एमोलेड डिस्प्ले छ । रिफ्रेसरेट ६० हर्ज राखिएको छ । यसअघि रिफ्रेशरेट ३० हर्ज राखिएको थियो । तर, प्रयोगकर्ताको अनुभव स्तरीय बनाउन यसको रिफ्रेशरेट ६० पुर्‍याइएको ‘टेक बर्नर’​ले जनाएका छन् । त्यस्तै पिक ब्राइटनेस ७०० निट्स रहेको छ ।

स्मार्टवाचले आईपी ६८ रेटिङ पाएको छ । ब्लुटुथ कलिङ, न्वाइज क्यान्सिलेसन र ब्लुटुथ कलिङ लगायतका सुविधाहरू पनि यसमा समावेश गरिएको छ ।

डिजाइनका हिसाबले यो वाच जिम, पार्टी वा अन्य कुनै अवसरमा लगाउन उपयुक्त छ । यसलाई आईफोन डिभाइससँग सजिलै जोड्न सकिने भएकाले महँगो मूल्य तिरेर एप्पल वाच किन्ने आवश्यकता नभएको दाबी गरिएको छ ।

यस वाचको प्रयोगकर्ता अनुभव र एपमा लामो समयसम्म अनुसन्धान र परीक्षण गरिएको बताइएको छ । भारतमा यस डिजाइनको पेटेन्ट समेत गरिसकिएकाले प्रडक्ट निर्माण गरी बजारमा ल्याइएको हो ।

यसमा ३५० एमएएच क्षमताको ब्याट्री रहेको छ । एक पटकको चार्जमा यो स्मार्टवाच सात दिनसम्म टिक्ने दाबी गरिएको छ । यसको सुरुवाती मूल्य ६,९९९ भारु (करिब ११ हजार २०० रुपैयाँ) पर्ने बताइएको छ । भारतमा यो स्मार्टवाच तीन वा छ महिनाको किस्ताबन्दीमा पनि खरिद गर्न सकिन्छ ।

भारतमा चर्चा पाएका बोट, फायरबल्ट लगायतका स्मार्टवाच नेपालमा पनि उत्तिकै बिक्री हुन्छन् । यी स्मार्टवाच सस्तो भए पनि सेन्सरहरू सटीक हुँदैनन् । डेटा एकुरेसीमा नेपाल भित्रिने सस्तो स्मार्टवाचहरू कमजोर हुन्छन् । नेपालमा लेयर्सको यो स्मार्टवाच सार्वजनिक भयो भने राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८१ ११:१५