close

नेपालमा अनलाइन ठगी गर्नेमा १९-२४ उमेर समूहका विद्यार्थी सबैभन्दा बढी

टेकपाना टेकपाना

मंसिर ३, २०८१ १३:८

नेपालमा अनलाइन ठगी गर्नेमा १९-२४ उमेर समूहका विद्यार्थी सबैभन्दा बढी

काठमाडौं । नेपालमा हुने अनलाइन ठगीका घटनामा १९ देखि २४ वर्ष उमेर समूहका युवायुवती बढी सक्रिय भएको देखिएको छ । आइतबार नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले यस्तो तथ्याङ्क देखाएको हो । 

रिपोर्ट तयार पार्न १५१ ओटा ‘शंकास्पद गतिविधि रिपोर्ट’ (एसएआर) र शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) नमुना विश्लेषण गरिएको छ । यसमा ४९ प्रतिशत अनलाइन ठगीका घटनामा १९ देखि २४ वर्ष उमेर समूहका युवायुवती संलग्न रहेको पाइएको छ ।

त्यसपछि २५ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू २१ प्रतिशतसहित दोस्रो स्थानमा छन् । ३१ देखि ३६ वर्ष उमेर समूहका नागरिकहरू १६ प्रतिशत र बाँकी १४ प्रतिशत भने ३६ वर्षमाथिका व्यक्ति छन् ।

इकाइले यी नमुना घटनाहरू पीडित, प्रहरी, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, राष्ट्र बैङ्क, समाचार माध्यम, रेमिट्यान्स कम्पनी, भुक्तानी सेवा सञ्चालक र खातावालाबाट लिएको हो ।

अनलाइन ठगीका घटनामा सबैभन्दा बढी विद्यार्थीहरू संलग्न रहेको तथ्याङ्कले देखाएको छ । रिपोर्ट अनुसार १५१ घटनामध्ये ४४ घटनामा विद्यार्थीहरूको संलग्नता रहेको  छ । त्यसपछि दोस्रो स्थानमा २७ जना जागिरे रहेका छन् ।

अन्य संलग्नमध्ये १६ जना किसान र १६ जना व्यवसायी, नौ जना तरकारी तथा फलफूल पसल सञ्चालक रहेका छन् । 

त्यसैगरी सात जना गृहिणी, छ जना बेरोजगार, चार जना अटोमोबाइल वर्कशपका मेकानिक, तीन जना स्वरोजगार र दुई जना ड्राइभर पनि साइबरजन्य ठगीका घटनमा संलग्न रहेको देखिएको छ ।

साइबरजन्य ठगीका घटनामा संलग्न भनिएका झण्डै आधा खाताहरू खाता खुलेको तीन महिनाभित्र ठगीमा दुरुपयोग भएका छन् । यस्तै झण्डै तीन चौथाइ खाताहरू खाता खुलेको नौ महिनाभित्र दुरुपयोग हुने गरेको देखिन्छ । यसबाट नयाँ खाता प्रयोग गरेर धोखाधडीबाट आर्जित रकम संकलन गर्ने प्रवृत्ति बढेको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८१ १३:१५