काठमाडौं । सामाजिक सञ्जालमा चिनेकै भरमा निःशुल्क उपहार पाउने लोभमा सर्वसाधारण ठगिने घटना बढेको छ । आइतबार नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले गिफ्ट र पार्सल पाउने लोभमा पर्दा अधिकांश नेपाली ठगिने गरेको देखाएको हो । इकाइले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न निकायबाट लिइएका १५१ ओटा घटनामध्ये २१ प्रतिशत उपहार र पार्सल सम्बन्धी ठगीका घटना छन् ।
एउटा घटनाको नमुना !
गिफ्ट र पासर्लका नाममा कसरी ठगी हुन्छ भन्ने बुझ्न एउटा घटना लिऔं । जुलाई २०२४ मा जितेन्द्र शर्मा (नाम परिवर्तन) लाई फेसबुक मेसेन्जरमा एक अपरिचित महिलाको मेसेज आयो । मेसेजमा शर्मालाई सिरियाबाट नेपालमा कूटनीतिक पार्सल पठाएको जानकारी दिइएको थियो । मेसेज गर्ने महिलाले शर्मालाई उक्त पार्सल रिसिभ गर्न सहयोग गरिदिए त्यसको ३० प्रतिशत रकम शर्मालाई दिने भनेकी थिइन् । शर्मालाई आफ्नो जालोमा पार्न ती महिलाले आफू सिरियाको सरकारसँग काम गर्ने र अबको तीन महिनामा नेपाल आउन लागेको जानकारी दिइन् । यति देखेपछि शर्माले तत्कालै ती युवतीलाई आफ्नो नाम, नम्बर, ठेगाना सबै पठाइए, ताकि पार्सल रिसिभ गर्न सजिलो होस् ।
शर्माले सबै विवरण उपलब्ध गराए लगत्तै ती महिलाले विमानको बिलको फोटो पठाइन् । त्यसमा पार्सलको नाम, पाउने व्यक्तिको नाम र ठेगाना लेखिएको थियो । महिलाले दुई जनाबीच भएको कुराकानी गोप्य राख्न अनुरोध गरेकी थिइन् ।
त्यसको केही समयमा शर्माको ह्वाट्सएपमा एउटा मेसेज आयो । त्यसमा पार्सल विमानस्थलबाट छुटाउन भन्सार शुल्क तिर्नुपर्ने भनिएको थियो । ती युवतीले पनि शर्मालाई ह्वाट्सएपमा यस्तो मेसेज आउन सक्छ भनेर पहिल्यै जानकारी दिएकी थिइन् ।
त्यसपछि शर्मालाई एउटा बैंक खाता पठाइयो । मनमैजुको बैंकमा गएर शर्माले उक्त खातामा रकम डिपोजिट गरे । बैंकका कर्मचारीले उक्त खातामा भएको कारोबार हेर्दा शङ्कास्पद भएको फेला पारे । र, त्यसलाई बैंकका कर्मचारीले वित्तीय सूचना इकाइमा शङ्कास्पद कारोबार भन्दै दर्ता गराए ।
कसरी हुन्छ गिफ्ट र पार्सलका नाममा ठगी ?
पार्सल ठगीका प्रायः घटनामा सबैभन्दा पहिले एक नक्कली पार्सल डेलिभरीको सूचना दिइन्छ । यस्ता ठगीमा ठगहरूले आफूलाई प्रख्यात कुरियर कम्पनी, भन्सार अधिकारी वा कानूनी निकायका रूपमा प्रस्तुत गर्छन् । उनीहरूले पीडितलाई पार्सल उपलब्ध गराउने विश्वास दिलाउँदै ठगी गर्ने प्रयास गर्छन् ।
पीडितलाई यस्तो सूचना प्रायः ईमेल वा टेक्स्ट मेसेजका रूपमा आउँछ । त्यस्तो ईमेल वा मेसेजमा मेसेज पठाउने व्यक्तिले आफूलाई कुनै प्रख्यात डेलिभरी सेवाबाट आएको दाबी गर्छ । उक्त मेसेजमा ‘तपाईंलाई पठाइएको पार्सलको ट्रान्जिट गर्न समस्या आएको छ’ भनिन्छ । ठगी गर्ने व्यक्तिले त्यसपछि पीडितलाई व्यक्तिगत वा वित्तीय जानकारी उपलब्ध गराउन वा भन्सार शुल्क वा पार्सल शुल्क भुक्तानी गर्न अनुरोध गर्छ ।
सामान वास्तवमै आइरहेको छ भन्ने देखाउन ठगहरूले पीडितलाई नक्कली वेबसाइटतर्फ रिडाइरेक्ट गर्न सक्छन् । यस्तो वेबसाइट वास्तविक कुरियर सेवाको वेबसाइटझैं देखिन्छ । ठगले यस्तो किसिमको ठगीलाई विश्वसनीय बनाउन नक्कली फोन नम्बर वा आधिकारिक लोगो प्रयोग गरेका हुन्छन् । ठगहरूले मानिसको डेलिभरी सिस्टममा रहेको विश्वास र चाँडै समस्या समाधान गर्न खोज्ने मनोवृत्तिको फाइदा उठाउँछन् ।
पार्सल ठगीका विभिन्न प्रकारमा अर्डर नगरेकै सामान आयो भनेर ठग्ने, प्याकेज स्क्याम, नक्कली भन्सार शुल्क स्क्याम, फिसिङ स्क्याम, ओटीपी स्क्याम र ह्वाट्सएप स्क्याम पर्छन् ।
यस्ता ठगीबाट बच्न अञ्जान लिङ्क वा वेबसाइटमा व्यक्तिगत जानकारी राख्ने वा भुक्तानी नगर्न इकाईले सुजाव दिएको छ । त्यस्तै पार्सल पठाइदिने भन्दै आएका मेसेज वा ईमेललाई झट्ट विश्वास गर्नु हुँदैन । यस्तोमा तपाईंलाई कसैले किन पार्सल पठाउँछ भन्ने विषय ख्याल गर्नुपर्छ ।