काठमाडौं । पोको एक्स ७ सिरिजका स्मार्टफोन भारतीय बजारमा यही ७ जनवरीका दिन सार्वजनिक हुँदैछन् । जसमा पोको एक्स सेभेन र पोको एक्स सेभेन प्रो समावेश छन् ।
यी दुवै चीनमा सार्वजनिक भइसकेका फोनका रिब्रान्डेड भर्सन हुन् । सार्वजनिक हुनु भन्दा अघि यी स्मार्टफोनका केही विवरण समेत बाहिरिएका छन् । पोको एक्स सेभेन फाइभजी र पोको एक्स सेभेन प्रो फाइभजीलाई कम्पनीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको छ ।
यो सिरिजको बेस भेरियन्टमा आयाताकार क्यामेरा डिजाइन मोड्युल रहेको छ । जुन रेड्मी नोट १४ प्रोमा भएजस्तै हो । यो सिरिजको प्रो भेरियन्टमा पिल आकारको क्यामेरा मोड्युल रहेको छ, जुन केही हदसम्म आईफोन १६ बाट प्रेरित भएको देखिन्छ ।
यो स्मार्टफोन चीनमा सार्वजनिक हुने रेड्मी नोट १४ टर्बोको रिब्रान्डेड भर्सन हुन सक्ने अनुमान गरिएको छ । लिक भएका फिचरलाई आधार मान्ने हो भने पोको एक्स सेभेन प्रो फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा प्रोसेसर रहेको छ ।
स्ट्यान्डर्ड भेरियन्टमा भने मिडियाटेक डाइमेन्सिटी ७३००-अल्ट्रा प्रोसेसर हुनेछ। यी स्मार्टफोन ब्ल्याक-एल्लोका अलावा ग्रिन तथा सिल्भर कलर अप्सनमा सार्वजनिक हुनेछन् ।
क्यामेराको कुरा गर्ने हो भने पोको एक्स सेभेन फाइभजीमा ५० मेगापिक्सेलको मुख्य लेन्स हुने बाइएको छ भने प्रो भेरियन्टमा सोनी आईएमएक्स८८२ सेन्सर हुन सक्ने अनुमान छ । स्ट्यान्डर्ड भेरियन्टमा २० एमपी सेल्फी क्यामेरा उपलब्ध हुन सक्छ ।
आईपी ६८ रेटिङमा आउने पोको एक्स सेभेन फाइभजीमा ६.६ इन्चको एमोलेड डिस्प्ले पाउन सकिनेछ, जसमा १२० हर्जको रिफ्रेश रेट हुनेछ । प्रो भेरियन्टमा भने ६.६७ इन्चको क्रिस्टलरेज १.५के एमोलेड डिस्प्ले हुने बताइएको छ ।
स्ट्यान्डर्ड भेरियन्टमा ५११० एमएएच क्षमताको ब्याट्री हुनेछ भने पोको एक्स सेभेन प्रो फाइभजीमा ६,००० एमएएच क्षमताको ब्याट्री पाउन सकिनेछ । दुवै फोनमा क्रमशः ४५ वाट र ९० वाटको चार्जिङ सपोर्ट पाउन सकिनेछ ।
नेपालमा भने पोको एक्स सेभेन सिरिजका स्मार्टफोन उपलब्ध हुने वा नहुने विषय अझै स्पष्ट भइसकेको छैन । पोकोको एक्स फाइभ सिरिज आएको भए पनि गत वर्षको पोको एक्स सिक्स सिरिज भने नेपालमा उपलब्ध भएन ।
यसले गर्दा पोको सिरिजको नयाँ स्मार्टफोन उपलब्ध हुने वा नहुनेमा अहिलेलाई ५०/५० प्रतिशत सम्भावना रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । यदि सो सिरिज नआए पनि सोही स्तरको फिचर र स्पेसिफिकेसन भएको साओमीको अर्को फोन नेपाल आउन सक्नेछ ।