काठमाडौं । नेपालका मौसम पुरीले एआई टुलको सहायताले तयार पारेको महाभारतको ट्रेलरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै पुरीले तयार पारेको महाभारतको दुई मिनेट लामो ट्रेलरमा देखाइएका विभिन्न दृश्यको चर्चा हुन थालेको हो ।
नेप्टोनिक सफ्टवेयर नामक आईटी कम्पनीका संस्थापक समेत रहेका पुरीले हालै मात्र एआई टुलको प्रयोग गरी ट्रेलर तयार पारेका हुन् ।
“अहिले व्यक्तिगत कामले गर्दा पोखरा घरतिरै छु,” उनले भने, “आईटी क्षेत्रकै मान्छे । एआईको चर्चा भइरहेको छ । के गर्न सकिन्छ भन्ने सोचिरहेको थिएँ । टिकटक र फेसबुकमा एआईको दुरुपयोग गरी चरित्रहत्या गरेका भिडिओहरू आइरहेका थिए । त्यही समयमा यसलाई रचनात्मक तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने सोच्दै थिएँ । त्यहींबाट यो ट्रेलर बनाउने आइडिया आयो ।”
स्नातक तहमा कम्प्युटर साइन्स अध्ययन गरेका पुरी सन् २०१४ मा स्नातकोत्तर गर्न जर्मनी गएका थिए । स्नातकोत्तर तहमा ‘अप्लाइड म्याथम्याटिक्स इन डिजिटल मिडिया’ अध्ययन गरेका उनी सन् २०१८ मा नेपाल फर्किए । त्यसपछि स्वदेशमै आईटी कम्पनी सञ्चालन गरेर विभिन्न सेवा र प्रडक्ट बिक्री गर्दै आएका छन् ।
बाल्यकालदेखि नै सबैभन्दा बढी हेरेको महाभारतबाट प्रभावित भएर ट्रेलर बनाएको उनले सुनाए । ट्रेलर बनाउन उनले प्रिमियम एआई टुल मिडजर्नी, क्लिङ एआई र फ्लक्स एआई प्रयोग गरेका छन् । “एउटै पात्रका विभिन्न तरिकाका फोटो तयार पार्न मिडजर्नी प्रयोग गरें । त्यसलाई एनिमेसन गर्न रनवे एमएल प्रयोग गरेको छु । भिडिओमा इमोसन देखाउन क्लिङ एआई प्रयोग गरेको छु,” उनले भने ।
त्यसबाहेक उनले ट्रेलरमा के के राख्ने, कसरी मिलाउने, कुन दृश्य राख्ने भन्ने निर्धारण गर्न च्याटजीपीटी प्रयोग गरेका छन् । उक्त ट्रेलरमा प्रयोग भएको ब्याकग्राउन्ड म्युजिकका लागि पिक्साबे प्रयोग भएको छ भने फोटो एडिट गर्न क्यान्भा प्रयोग भएको छ । यी सबै तयार भइसकेपछि क्यापकटको वेब भर्सन र क्लिपच्याम्पबाट एडिट गरिएको उनले सुनाए ।
“यी सबै टुल प्रयोग गरेर ट्रेलर बनाउन लगभग १५ दिन जति लाग्यो । त्यसमा काम गरेको घण्टा हिसाब गर्ने हो भने ३० घण्टा भयो होला,” उनले भने, “यी प्रिमियम एआई टुल खरिद गर्नुपर्ने हुन्छ । त्यसको खर्च ३०० डलर हाराहारी भएको छ ।”
पुरीले ट्रेलर सामाजिक सञ्जालमा राखिसकेपछि फिल्म क्षेत्रका निर्देशकहरू उनीसँग जोडिन आएका छन् । “ट्रेलर हेरेर तपाईं फिल्म क्षेत्रकै हुनुहुन्छ कि भन्दै केही निर्देशकहरू आउनु भएको छ । उहाँहरूसँग कुरा भइरहेको छ । तर, म फिल्म क्षेत्रको होइन,” उनले भने ।
पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा एआई टुल प्रयोग गरी चरित्रहत्या गर्ने घटना बढेका छन् । यस्तोमा युवाहरूले चरित्रहत्या गर्न वा अरूलाई नकारात्मक देखाउन एआई प्रयोग गर्नुभन्दा रचनात्मक तरिकामा सोच्न उनी आग्रह गर्छन् ।
“हाम्रोमा एआई दुरुपयोग गर्ने घटना बढेका छन् । यसलाई रचनात्मक तरिकाले प्रयोग गर्नुपर्छ भन्ने मेरो चाहना हो । यस्तो भयो भने नेपालीले विश्वबजारमै राम्रो आर्ट लिन सक्छन्.” उनले भने ।
अहिले ठूला ठूला कम्पनीले पनि विज्ञापन भिडिओ एआईबाटै तयार पारिरहेको अवस्था छ । यस्तोमा नेपाली युवाहरूले पनि एआईलाई सिर्जनशीलताका रूपले हेर्रन सके राम्रो आम्दानी हुन सक्ने उनको विश्वास छ ।
प्रस्ताव आएको खण्डमा एआईबाटै पूरै फिल्म बनाउने चाहना पुरीको छ । उनले भने, “एआईबाटै फिल्म बनाउन सकिन्छ भन्ने देखिएको छ । यदि कसैले सहकार्य गर्ने प्रस्ताव ल्याउनु भयो भने म शतप्रतिशत काम गर्छु ।”