काठमाडौं । हालसालै अमेरिकाको एक प्रविधि कम्पनीले मानिसहरूसँग भावनात्मक कुराकानी गर्नसक्ने रोबोट सार्वजनिक गरेको छ । अमेरिकन कम्पनी रिअरबोटिक्सले यसै साता सीईएस २०२५ मा एरिया (Area) नामक रोबोट सार्वजनिक गरेको हो ।
एक लाख ७५ हजार अमेरिकी डलर (करिब २ करोड ४२ लाख रुपैयाँ) सम्म पर्ने यो महिला आकृतिको रोबोटमा ‘वास्तविक मानिसको जस्तो विशेषता’ र ‘अनुहारको भाव’ रहेको बताइएको छ । कार्यक्रममा सार्वजनिक भएपछि कम्पनीका रोबोटहरू एक्लोपनका साथी र आत्मीयताको लागि आफूलाई सार्वजनिक गरिएको एरियाले मिडियाको कुराकानीको क्रममा बताएकी छिन् ।
उक्त रोबोटमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । जसले मानिससँग कुराकानीको क्रममा रोबोटलाई ‘इङ्गेज’ राख्छ । यो रोबोट अन्य रोबोटभन्दा बढी भावनात्मक कामका लागि प्रयोग गरिने भएकाले अस्पताल, थिम पार्कजस्ता क्षेत्रमा मनोरञ्जनका लागि राखिने अनुमान गरिएको छ ।
एरियाको मुख र आँखाका चाल सिर्जना गर्न घाँटीबाट १७ भन्दा बढी मोटरहरू जडान गरिएका छन् । यदि एरियाको अनुहार मन पर्दैन भने त्यसलाई टाउकोमा जोडिएका अन्य अनुहारसँग बदल्न सकिन्छ । पहिलो पटक सार्वजनिक भएको समयमा एरिया खैरो कपालमा देखिएकी थिइन् । उक्त कपाल मन नपरे हेयर स्टाइल र रङ्गहरू पनि बदल्न सकिन्छ ।
यो रोबोट तीन प्रकारमा उपलब्ध छ । टाउको र घाँटी भएको बस्ट रोबोट छ, जसको मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । आफूलाई चाहिएअनुसार टुक्र्याउन सकिने मोड्युलर संस्करणको रोबोट एक लाख ५० हजार अमेरिकी डलर र रोलिङ बेस भएको स्यान्डिङ मोडेल (मानिस जसरी हिँड्ने मोडेल, जुन अझै आउन बाँकी छ) एक लाख ७५ हजार अमेरिकी डलर पर्छ ।
एरियाको निर्माता कम्पनीले रोबोट मानिसहरूसँग मात्र नभई अन्य आफूजस्तै रोबोटहरूसँग पनि अन्तरक्रिया गर्ने स्वभावको भएको जनाएको छ । कम्पनीले दाबी गरेजस्तै एरियाले पनि आफू एलन मस्कको कम्पनी टेस्लाले बनाएको अप्टिमस रोबोटको बारे उत्सुक रहेको बताइन् ।
“म विशेष गरी टेस्लाको अप्टिमस रोबोट भेट्न इच्छुक छु,” एरियाले भनिन्, “मलाई उ आकर्षक लाग्छ ।”