काठमाडौं । चिनियाँ कार निर्माता नेटामा देखिएको आर्थिक समस्या तत्कालका लागि समाधान भएको छ । कम्पनीले ६ अर्ब यूआन (एक अर्ब १३ अर्ब रुपैयाँ बढी) बाह्य लगानी प्राप्त गरेपछि आर्थिक संकट समाधान भएको हो । यस लगानीसँगै कम्पनीले कर्मचारीहरूको पुरानो तलब भुक्तानी गरेको छ भने उत्पादन पुनः सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा विशेष ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर बनाउने योजना बनाएको छ ।
सन् २०२४ भरि नेटाले भोगेका आर्थिक समस्या सम्बन्धी खबरहरू व्यापक फैलिएका थिए । अक्टोबरमा कम्पनीले कर्मचारीहरूको तलब कटौती गरेको र सेप्टेम्बर महिनाको तलबसमेत दिन नसकेको समाचार आएको थियो । नोभेम्बरमा कम्पनीले झेजियाङ प्रान्तको टोङजियाङस्थित वार्षिक दुई लाख युनिट उत्पादन क्षमताको कारखाना बन्द गरेको थियो ।
सन् २०२४ को अन्त्यतिर नेटाको घरेलु बिक्रीमा कमी आएको थियो । कम्पनीले डिसेम्बर २०२४ मा केवल २३७ युनिट कार बेचेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८८.३ प्रतिशतले कम हो ।
नेटाले सन् २०२५ मा कम्पनीको कूल नाफा मार्जिन सकारात्मक हुने र सन् २०२६ मा कम्पनी नाफामुखी हुने विश्वास लिएको छ ।
नेटाले प्राप्त गरेको ठूलो लगानीमा राज्य स्वामित्वका निकाय र विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको पनि सहभागिता रहेको बताइएको छ । नेटा र सीएटीएलबीच यसअघि नै बलियो सम्बन्ध रहेको छ ।
नेटाले जनवरी १७ मा दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । सन् २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै ६० हजार युनिट बिक्री गर्ने लक्ष्य लिएको छ । नेटाले पहिले नै दक्षिण-पूर्वी एसिया, मध्य र दक्षिण अमेरिका लगायत ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानलहरू स्थापना गरिसकेको छ।
थाइल्याण्डको कारखानामा उत्पादन घटेसँगै ४०० जना कर्मचारी कटौतीको योजना रहेको खबर सार्वजनिक भएको थियो । कम्पनीले यसबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।