काठमाडौं । आजबाट फेसबुक २१ वर्ष पूरा भएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममध्ये सर्वाधिक रुचाइएको फेसबुक सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको थियो ।
हार्वर्ड विश्वविद्यालयमा स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेको बेलामा फेसबुकका संस्थापक मार्क जुकरबर्गले “द फेसबुक” परियोजना सुरु गरेका थिए । सोही परियोजनाले दुई दशक पूरा गर्दा सर्वाधिक रुचाइएको सामाजिक सञ्जालमध्ये एक कायम भएको छ ।
सन् २००५ मा उक्त परियोजनाबाट “द” हटाएर फेसबुक मात्र राखिएको थियो । त्यसपछि फेसबुक डटकम सेप्टेम्बर २००६ देखि सबैका लागि उपलब्ध भयो ।
मार्क जुकरबर्गलाई फेसबुकको आइडिया हार्वर्डका साथीहरू क्यामेरोन विन्कलेभोस, टेलर विन्कलेभोस र दिव्या नरेन्द्रबाट चोरेको भन्दै मुद्दा परेको थियो । मार्क जुकरबर्गले हार्वर्ड कनेक्सन भन्ने सामाजिक सञ्जाल बनाउन मद्दत गर्ने नाममा आइडिया चोरेको आरोप लगाइएको थियो । सन् २००८ मा उक्त मुद्दा टुंगिएको थियो ।
त्यसपछि सन् २०१२ मा फेसबुक निजी कम्पनीबाट सार्वजनिक कम्पनी भयो । त्यसबेला फेसबुक अमेरिकाको इतिहासमै सबैभन्दा बढी आईपीओ जारी गर्ने कम्पनी बनेको थियो । कम्पनीले प्रति शेयर मूल्य ३८ डलरमा ४२ करोड १२ लाख ३३ हजार ६१५ कित्ता शेयर जारी गरेको थियो । सन् २०२१ मा मार्क जुकरबर्गले आफ्नो प्रमुख कम्पनीको नाम ‘फेसबुक’ बाट परिवर्तन गरेर मेटा राखे । त्यसयता फेसबुक मेटा कम्पनीअन्तर्गतको एउटा सामाजिक सञ्जाल प्लेटफर्म हो ।
इन्स्टाग्राम, ह्वाट्सएप हुँदै थ्रेड्ससम्म
सन् २०१२ तिर नै सामाजिक सञ्जाल इन्स्टाग्रामलाई फेसबुकले एक अर्ब डलरमा खरिद गर्यो । इन्स्टाग्राम फेसबुककै भाग भए पनि त्यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न थालिएको थियो ।
पछि भने उही पोस्ट फेसबुक र इन्स्टाग्राम दुवैमा शेयर गर्न सकिने, दुवै प्लेटफर्मका प्रयोगकर्तालाई मेसेन्जरबाटै कुरा गर्न सकिने फिचर ल्याइयो । हाल मेसेन्जरबाटै इन्स्टाग्राम प्रयोगकर्तासँग च्याट गर्न सकिने फिचर हटाइएको छ तर इन्स्टाग्रामको रिल्स फेसबुकमा पनि देखाउन थालिएको छ ।
फेसबुकले फोटो शेयरिङ प्लेटफर्मका रूपमा उदाएको इन्स्टाग्राम खरिद गरिसकेको थियो । त्यहीबीच उक्त प्लेटफर्मको मेसेन्जर सेवा पनि उत्तिकै लोकप्रिय थियो । तर, त्यसमा फोन नम्बरकै भरमा कसैसँग कुरा गर्न सकिने विशेषता थिएन ।
फोन नम्बरकै भरमा तत्काल मेसेज पठाउन सकिने फिचर भएको ह्वाट्सएपले २०१४ मा निकै चर्चा बटुलिरहेको थियो । फेसबुकले त्यही समयमा १९ अर्ब डलरमा उक्त प्लेटफर्म खरिद गर्यो ।
फेसबुकले सन् २०१४ मा अर्को भर्चुअल रियालिटी स्टार्टअप अकुलस भीआर आफ्नो स्वामित्वमा लियो । त्यसका लागि कम्पनीले दुई अर्ब डलर खर्च गरेको थियो । सामाजिक सञ्जाल मात्र नभई भर्चुअल रियालिटीको क्षेत्रमा पनि आफ्नो प्रभुत्व कायम गर्न फेसबुकले उक्त कम्पनी खरिद गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जाल एक्ससँग प्रतिस्पर्धा गर्न कम्पनीले "थ्रेड्स" पनि सञ्चालनमा ल्याएको छ ।
फेसबुकमा सन् २०१५ भन्दा अगाडि लाइक बटन मात्र दिइएको थियो । जसरी एक्स र इन्स्टाग्राममा लभ बटन राखिएको छ, त्यस्तै फेसबुकमा लाइक बटन मात्र थियो ।
सन् २०१५ मा कम्पनीले भावना व्यक्त गर्न सहयोग पुगोस् भनेर लभ, वाउ, हाँसोको इमोजी, दुःखी र रिसाएको इमोजी बटनका रूपमा समावेश गरेको थियो । पछि सन् २०२० मा कोभिड-१९ को महामारीको समयमा फेसबुकले केयर इमोजी पनि थपेको थियो ।
विभिन्न विवादमा फेसबुक
क्याम्ब्रिज एनालिटिका काण्डलाई फेसबुकले सामना गरेको सबैभन्दा ठूलो विवादका रूपमा लिइन्छ । एक अनुसन्धानका अनुसार फेसबुकले प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत डेटा एक डेटा एनालाइसिस फर्मलाई बुझाएको थियो ।
विभिन्न रिपोर्टका अनुसार फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा बिक्री गरेको थियो । त्यसका लागि बेलायतको इन्फर्मेसन कमिस्नर अफिस (आईसीओ) ले पाँच लाख डलर जरिवाना तिराएको थियो ।
फेसबुक भ्रामक समाचार फैलाउने माध्यममा गनिन्छ । आफ्नो प्लेटफर्मबाट फैलिने भ्रामक र मिथ्या सूचना रोक्न नसकेको आरोप फेसबुकमाथि लाग्दै आएको छ ।
विशेषगरी निर्वाचन, प्राकृतिक प्रकोप, द्वन्द्वका समयमा उक्त प्लेटफर्मबाट अत्यधिक भ्रामक समाचार फैलिएका हुन्छन् । अहिले पनि भ्रामक समाचार फैलाउन स्क्यामरले यो प्लेटफर्मको अत्यधिक प्रयोग गर्छन् । पछिल्लो समय फेसबुकले ‘फ्याक्ट चेक’ सुविधा हटाउने निर्णय गरेसँगै यस्तो समस्या थप बढ्ने भन्दै आलोचना हुने गरेका छन् ।