काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको प्रदूषण जाँचमा ५४ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत रहेको पाइएको छ । महानगरले ९४५ ओटा सवारी साधनको प्रदूषण जाँच गर्दा ५१५ ओटामा समस्या देखिएको हो ।
महानगरले सडकमा गुडिरहेका सवारी साधनको परीक्षण गर्दा २४९ ओटा पेट्रोलबाट चल्ने गाडीमध्ये ४४ ओटा र ६९६ ओटा डिजेलबाट चल्ने सवारी साधनमध्ये ४७१ ओटा फेल भएका हुन् ।
वातावरणीय सुधारका लागि महानगरले ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ र ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुन कार्यान्वयन गर्दै सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरिएको हो ।
महानगरको ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ ले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि छुट्टाछुट्टै मापदण्ड तोकेको छ । सन् १९९० सम्म बनेका चार पाङ्ग्रे सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा ४.५ प्रतिशतभन्दा बढी हुनुहुँदैन भने १९९१ पछि बनेका सवारी साधनमा ३ प्रतिशतभन्दा बढी हुनुहुँदैन । तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनका लागि पनि कार्बन मोनोक्साइडको मात्रा ४.५ प्रतिशतभन्दा बढी हुनुहुँदैन ।
डिजेल सवारी साधनको हकमा सन् १९९४ सम्म बनेका सवारी साधनको धुवाँको घनत्व ७५ एचएसयूभन्दा बढी हुनुहुँदैन भने १९९५ पछि बनेका सवारी साधनको हकमा ६५ एचएसयूभन्दा बढी हुनुहुँदैन ।
गत पुस २९ गतेदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा गुडिरहेका सवारी साधनको प्रदूषण जाँच गरिरहेको छ ।
पहिलो चरणमा फेल भएका सवारी साधनलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । सुझाव पाएर पनि मर्मत नगर्नेलाई ५०० रुपैयाँ जरिवाना तिराउन थालिएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले बताइन् । उनका अनुसार, अहिलेसम्म ५५ जना सवारी चालकलाई जरिवाना तिराइएको छ।
जरिवाना तिरेपछि पनि मर्मत नगर्ने सवारीसाधनलाई सडकमा सञ्चालन गर्न रोक लगाइने महानगरले जनाएको छ ।
परीक्षणका क्रममा सवारी चालक र सहचालकलाई सम्झाउने, कानुनी व्यवस्थाबारे जानकारी दिने, सवारीधनीलाई एसएमएसमार्फत सवारी साधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने र दोस्रो पटक जाँच गर्दा प्रदूषण मापदण्ड विपरीत पाइएमा कानुनी कारबाही हुने जानकारी गराइएको श्रेष्ठले बताइन् ।
अहिलेसम्म ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने सवारी साधनको परीक्षण भएको छ । फेल हुने सवारी साधनमा सार्वजनिक बस, स्कुल बस, सरकारी बुलेरो र सामान बोक्ने ट्रकहरू छन् ।
काठमाडौंको हावा प्रदुषित हुनुको मुख्य कारण थोत्रा र पुराना गाडीहरू रहेको सरोकारवाला बताउँछन् । यी गाडीले अत्यधिक धुवाँ फाल्दा हावाको गुणस्तरमा ह्रास आइरहेको उनीहरूको भनाइ छ। महानगरले प्रदुषण जाँचलाई कडाइ गरेपनि समस्या भने ज्यूँको त्यूँ छ । यस्तो अवस्थामा विद्युतीय सवारी उपयुक्त विकल्प हुनसक्ने देखिन्छ ।