काठमाडौं । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एप्पल टिभी एप सार्वजनिक गरेको छ । यसअघि आईओएस डिभाइसका लागि उपलब्ध एप कम्पनीले बुधबार एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको हो ।
यससँगै अब एन्ड्रोइड मोबाइल, ट्याब्लेट र फोल्डेबल डिभाइसमा गुगल प्ले स्टोरबाट एप्पल टिभी एप डाउनलोड गर्न सकिनेछ । यस एपमार्फत प्रयोगकर्ताले एप्पल टिभी प्लस (Apple TV+) विभिन्न कार्यक्रम र सिरिज हेर्न सक्नेछन् । खासगरी अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीले खेल्ने मेजर लिग सकर (MLS) म्याच हेर्न सकिनेछ ।
एप्पल टिभी एप एन्ड्रोइडका लागि नयाँ तरिकाले तयार पारिएको कम्पनीले जनाएको छ । यसले प्रयोगकर्तालाई सहज अनुभव दिने कम्पनीको विश्वास छ । एन्ड्रोइड प्रयोगकर्ताहरूले आफ्नो गुगल प्ले अकाउन्ट प्रयोग गरेर एप्पल टिभी प्लस र एमएलएस सिजन पासको मेम्बरशिप लिन सक्नेछन् । एप्पल टिभी प्लसले नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै सात दिने निःशुल्क परीक्षणको अवसर दिएको छ ।
यस एपमा ‘कन्टिन्यु वाचिङ’ (Continue Watching) जस्ता उपयोगी फिचर छन्, जसले प्रयोगकर्तालाई आफ्नो हेराइको निरन्तरता कायम राख्न मद्दत गर्छ। यसैगरी यसमा भएको ‘वाचलिस्ट’ (Watchlist) फिचर प्रयोग गरी भविष्यमा हेर्न चाहेका सामग्रीहरूको सूची बनाउन सकिन्छ । यो एप वाई-फाई वा सेलुलर डेटामा सजिलै चल्छ र अफलाइन हेर्नका लागि डाउनलोड गर्ने सुविधा पनि छ ।
एप्पल टिभी प्लस १ नोभेम्बर २०१९ मा सुरु भएको थियो । यो संसारभरि एकैसाथ सुरु भएको पहिलो स्ट्रिमिङ सेवा हो । हालसम्म एप्पल ओरिजिनल फिल्म, डकुमेन्ट्री र सिरिजहरूले ५३८ ओटा अवार्ड जितेका छन् भने २५५३ ओटा मनोनयनमा परेका छन् ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । नेपालमा भने अहिले यो एप उपलब्ध छैन ।