close

नेपालको आईटी कम्पनीमा महिला सहभागिता ८ प्रतिशत मात्रै, प्रतिवेदनले अरू केके देखायो ?

टेकपाना टेकपाना

फागुन ६, २०८१ १८:१२

नेपालको आईटी कम्पनीमा महिला सहभागिता ८ प्रतिशत मात्रै, प्रतिवेदनले अरू केके देखायो ?

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता अत्यन्तै न्यून रहेको एक अध्ययनले देखाएको छ । सूचना प्रविधिमा महिला (डब्लूआईआईटी) नामक संस्थाले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार आईसीटी कम्पनीमा महिलाहरूको सहभागिता ७.८८ प्रतिशत र केही मात्रामा आईसीटी प्रयोग गर्ने संस्थामा ०.५१ प्रतिशत मात्रै छ ।

ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रममा 'सफलताका बाधाहरू: सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा महिलाको अवस्था' नामक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले आईसीटी क्षेत्रमा सहभागीमध्ये सबैभन्दा धेरै २५ वर्षभन्दा कम उमेरका महिला रहेको देखाएको छ । १८ देखि २५ वर्षसम्मका ४५.५४ प्रतिशत र २६ देखि ३५ वर्षसम्मका ४३.७० प्रतिशत महिला सहभागी रहेका छन् ।

आईटी क्षेत्रमा कार्यरत महिलामध्ये उच्च तहमा १९.५५ प्रतिशत, मध्यम तहमा ४०.४ प्रतिशत कार्यरत रहेको देखिएको छ । पीएचडी तहको शिक्षा पाएका ०.६४ प्रतिशत, स्नातकोत्तर गरेका २०.९५ प्रतिशत र स्नातक गरेका ६७.१ प्रतिशत रहेका छन् ।

यस्तै, यस क्षेत्रमा सहभागी महिलाहरूमा बाहुन/क्षेत्री ४४.८ प्रतिशत र जनजाति ४२.४६ प्रतिशत रहेका छन् ।

३४.३% कम्पनीहरूमा महिलाका लागि विशेष किसिमका सपोर्ट टार्गेटहरू राखिएको छ भने बाँकीमा राखिएको पाइएको छैन । ११.४ प्रतिशतमा सुत्केरी अवस्थामा तलबी विदा नपाइएको र ९८ दिनभन्दा बढी सुत्केरी विदा दिने कम्पनीहरू ५.९ प्रतिशत रहेका छन् । ४६ देखि ६० दिनसम्म तलबी सुत्केरी विदा दिने कम्पनीहरू ३८ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

तलब भुक्तानीको कुरामा भने एसियाली अरू देशको तुलनामा नेपालमा समावेशी अवस्था देखिएको छ । ८७.९ प्रतिशत कम्पनीहरूमा तलबमा भेदभाव नगरेको पाइएको छ भने १२.१ प्रतिशतमा यस्तो समस्या देखिएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरूको उपस्थितिलाई अझ बलियो बनाउनका लागि अनुसन्धान-आधारित प्रतिवेदन सार्वजनिक आएको बताइन् । आईटी शिक्षामा लैङ्गिक समावेशिता आवश्यक रहेको भन्दै उनले विद्यालयस्तरबाटै छात्राहरूको संलग्नता बढाउन महानगरले विशेष कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिइन् ।

काठमाडौं इन्जिनियरिङ कलेजकी निर्देशक प्रतिमा प्रधानले ‘डब्लूआईआईटी’ को अनुसन्धान प्रतिवेदनमाथि समीक्षा गर्दै महिलाहरूको सूचना प्रविधि (आईसीटी) क्षेत्रमा सहभागिताबारे विस्तृत रिपोर्टको सराहना गरिन् । प्रतिवेदनले महिलाहरूले सामना गर्ने चुनौती र अवसर उजागर गरेको उल्लेख गर्दै उनले भविष्यमा अझै धेरै सुधार आवश्यक रहेको बताइन् ।

प्रधानले महिलाहरूलाई आफूलाई अपडेट गर्न हिचकिचाउने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिइन् । महिलाहरू नेतृत्वदायी भूमिकामा अघि बढ्न र कार्यस्थलमा आफ्नो हक सुरक्षित गर्न सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

आईसीटीमा महिलाहरूको सहभागिता क्रमशः बढिरहेको बताउँदै यसलाई सकारात्मक संकेतका रूपमा लिइन् । ३५ वर्षमाथिका महिलाहरूको नेतृत्व क्षमता, कार्यस्थलमा पुनरागमन, र उनीहरूलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनले बताइन् ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८१ १८:२४