काठमाडौं । नेपाल बसेर अवैध रूपमा अनलाइन जुवाको प्लेटफर्म सञ्चालन गरेको आरोपमा थप चार भारतीय पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका ६ बजे बुढानीलकण्ठबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ तौलुङस्थित एक घरमा अवैध रूपमा अनलाइन जुवाको प्लेटफर्म सञ्चालन भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसैको आधारमा छापा मार्दा प्रहरीले दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध अनलाइन जुवा (सट्टेबाजी) कारोबार गरिरहेको अवस्थामा भारतीय नागरिकलाई फेला पारेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश स्थायी ठेगाना भएका २२ वर्षीय एमडी आरिफ हुसेन (गोरखपुर), ४२ वर्षीय अब्दुल कलाम (फतेहपुर), २५ वर्षीय अभिषेक मदेसिया (गोरखपुर) र ४० वर्षीय इरफान पठान (फतेहपुर) रहेका छन् । उनीहरूले भाडामा लिएको घरमा विभिन्न अवैध अनलाइन गेमिङ वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट अनलाइन जुवा खेलाउन प्रयोग गरिएका विभिन्न सामग्री बरामद गरेको छ । बरामद सामग्रीमा १२ थान ल्यापटप, १२ थान मोबाइल फोन, ७ थान क्याल्कुलेटर, १३३ थान हिसाबकिताबको पाना र तीन थान डायरी रहेका छन् ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।