close

ग्रामीण भेगका विद्यार्थीलाई निःशुल्क शिक्षामा जोड्ने श्रीरामको डिजिटल अभियान

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन ९, २०८१ १९:२३

ग्रामीण भेगका विद्यार्थीलाई निःशुल्क शिक्षामा जोड्ने श्रीरामको डिजिटल अभियान

काठमाडौं । बागलुङस्थित बागलुङ नगरपालिका वडा नं १३ नयाँपुल घर भएका श्रीराम लामिछानेले गाउँबाट एसईई पूरा गरे । एसईईमा कोरोना महामारीको मारमा परेका उनको कक्षा ११ पनि कोरोना कालमा नै सुरु भएको थियो । बागलुङकै निजी विद्यालयमा विज्ञान अध्ययन सुरु गरेका उनको अधिकांश कक्षा अनलाइनमार्फत नै सञ्चालन भएको थियो  ।  

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पढाइ भइरहेको थियो । अनलाइनमा कक्षा भइरहेकाले भौतिक कक्षामा जस्तो सोच्न सहज थिएन । अन्य सामग्री अनलाइनमा खोज्नलाई पनि नयाँ पाठ्यक्रम भएकाले खोजेजस्तो सामग्री पाउन मुस्किल थियो । 

अझ कतिपय स्थानमा त अनलाइन कक्षा पनि सम्भव थिएन । त्यसैले उनले आफ्नो नोटहरू बनाएर अरूलाई पनि दिन सकेमा सबैलाई सहयोग पुग्ने सोचे । र, सामान्य रूपमा भिडिओ खिचेर युट्युबमा राख्न थाले । 

बागलुङमा वाई-फाई सहजै रुपमा पुगिसकेको थिएन । अझ ग्रामीण भेगमा बालबालिकासँग मोबाइल, ल्यापटप पनि पाउन मुस्किल पर्छ । तर उनीसँग भने सेकेन्ड ह्यान्ड ल्यापटप थियो, अनि भाडामा लिएको स्मार्टफोन । यसैको प्रयोग गरेर आफूले अध्ययनका लागि तयार पारेको भिडिओहरू पोस्ट गर्न थाले । 

उनी भन्छन्, "मसँग जति सामग्री थियो त्यसको सामग्रीको पनि प्रयोग गर्न नपाउने विद्यार्थी पनि हुन्छन् । उनीहरूलाई सहज हुन्छ भनेर आफ्ना नोट्सहरू राख्न थालेँ ।" 

घरभन्दा माथिको डाडामा जाँदा पल्लो गाउँको रिसोर्टको वाई-फाई टिप्थ्यो । युट्युबमा आफ्नो नोट्सको भिडिओ अप्लोड गर्नका लागि उनी त्यहीँ डाडामा पुग्थे । र, त्यहीँ बसेर आफ्नो युट्युब च्यानल द एसआर जोन (The SR Zone) मा पोस्ट गर्थे । 

सुरु सुरुमा युट्युबमा भिडिओ राख्दा उनी आफ्नो अनुहार नदेखाइ भिडिओमात्र राख्ने गर्थे । पछि भने आफ्नो अनुहार देखाएर पनि कन्टेन्ट राख्न सुरु गरे । युट्युब च्यानलमा उनले पहिलो पटक सन् २०२० अक्टोबर २२ मा भिडिओ राखे । जसलाई दुई लाख १५ हजार पटकभन्दा धेरै पटक हेरिएको छ । 

युट्युबमा भिडिओ राखेर चल्न थालेसँगै उनले आफ्नो नोट वेबसाइटमा पनि राख्न थाले। उनी भन्छन्, "त्यसबेलामा मेरो साइट नेपालको सबैभन्दा धेरै ट्राफिक हुने टप १०० साइटहरूमध्येमा थियो ।" आफूले नयाँ पाठ्यक्रम अनुसारका नोटहरू छिट्टै उपलब्ध गरेका कारण पनि धेरै रुचाइएको उनको भनाइ छ । 

साइटलाई हालसम्म ३ करोड भन्दा बढी पटक भिजिट गरिएको उनी बताउँछन् । उनी भन्छन्, "कोरोनाको समयमा एकदमै धेरै ट्राफिक हुन्थ्यो । अहिले पनि दैनिक २५ देखि ३० हजारसम्मले भिजिट गरिरहेको गुगल एनालिटिक्समा देखाउँछ ।"

पछि उनले एप डेभलप गर्न सिके । उनले भन्छन्, “दुई वर्ष लगाएर एन्ड्रोइड डिभाइसका लागि एप बनाउन सिकेँ ।” एसआर जोन नाम गरेकै एप करिब ५० हजारको सङ्ख्यामा डाउनलोड गरिसकेको उनले बताए । 

यस एपमा कक्षा ११ र १२ मा अनिवार्य पढ्नुपर्ने विषयहरूको हरेक शीर्षकका नोट बनाइएका छन् । यो एप अफलाइन भएको अवस्थामा पनि प्रयोग गर्न सकिने भएकाले विद्यार्थीहरूले रुचाएको उनी बताउँछन् । 

ग्रामीण भेग र सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अङ्ग्रेजीमा कमजोर हुन्छन् । “जुनसुकै फ्याकल्टीका विषयहरू पनि नेपाली भाषामा लेख्न सकियो । तर इङ्लिस सधैँ इङ्लिसमा नै लेख्नुपर्छ । त्यही भएर हरेक वर्ष लाखौँ सङ्ख्यामा विद्यार्थीहरू फेल भइरहेका हुन्छन् । उनीहरूलाई पनि मेरो कन्टेन्टले सहयोग गर्छ जस्तो मलाई लाग्छ ।” सबैलाई हुने भएकाले अनिवार्य विषयका नोटहरूलाई प्राथमिकता दिएको उनी बताउँछन् । 

००००

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले आफ्नो गृहकार्य गर्ने समयमा नोट खोजिरहेका हुन्छन् । त्यसैले आफ्नो कन्टेन्टमा सधैं भ्युज आइरहने उनी बताउँछन् । उनले भने, “एक्जाम आउने समयमा सबैभन्दा धेरै इन्गेज्ड हुन्छ । एक्जाम सक्किएपछि भने कम हुन्छ ।” 

हालसम्म आफूले आठ वटा एप्लिकेसन बनाएको उनले सुनाए । तर नेपाली प्रविधि क्षेत्रमा हुनेजस्तै आफूले पनि स्पोन्सर नपाउँदा समस्या आउँछन् । एप्लिकेसनको प्रमोसन पनि गरिएको छैन । "तर पनि मैले कन्टेन्ट बनाइरहेको हुन्छु । किनभने त्यसलाई विद्यार्थीहरूले प्रयोग गरिरहेका हुन्छन् । उनीहरूलाई सहयोग मिलिरहेको छ । नोट बनाउन सजिलो भएको छ ।"

एपमा नयाँ अपडेट ल्याउनेबारे पनि सोचिरहेको उनले सुनाए । भन्छन्, "केही परिवर्तन ल्याएर भिडिओ सेक्सन पनि थप्ने सोचेको छु ।  मेरो युट्युब च्यानलका भिडिओहरू पनि यसबाट सिधै हेर्न सकिने सिस्टम बनाउने योजनामा छु ।"

+२ पास भएपछिको यात्रा 

युट्युब च्यानलमा कन्टेन्ट बनाइरहँदा यसले उनको परीक्षामा पनि सहयोग गर्यो । विज्ञान विषयमा +२ ए प्लस ल्याएर उत्तीर्ण भए । विस्तारै प्रविधितर्फ आकर्षण बढेपछि उनले प्रविधिसँग सम्बन्धित विषयमा नै अध्ययन अघि बढाउने निर्णय गरे । 

त्यसपछि उनले चितवनमा रहेर बीएससी सीएसआईटीको अध्ययन सुरु गरे । चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक गरिरहेका छन् । हाल पाँचौँ सेमेस्टरमा अध्ययनरत रहेको र हरेक सेमेस्टरमा ३.७५ जीपीए मेन्टेन गरिरहेको उनी सुनाउँछन् ।

जब उनी अध्ययनका लागि चितवन गए । कक्षाका धेरै साथीहरूले उनको आवाज परिचित भएको महसुस गर्थे । उनी कलेजमा जाँदाका सुरुवाती दिनहरू सुनाउँदै भने, "भर्चुअल्ली नभएर वास्तवमा नै भेट्दा साथीहरू छक्क पर्थे । धेरै उमेरका मानिसहरू होलान् सोचेको हामीसँगै पढ्ने पो रहेछौ भन्थे । मेरो च्यानलबाट पढेको र यसले धेरै सहयोग मिलेको भनेर उनीहरूले बताउँदा एकदमै खुसी लाग्थ्यो ।" आफ्ना सामग्रीहरूमा आउने सकारात्मक कमेन्टका कारण नयाँ कन्टेन्ट बनाउन थप प्रेरित हुने गरेको उनी सुनाउँछन् । 

स्नातक अध्ययन गरिरहेका उनले आफ्ना युट्युबमा भने स्नातकका नोटहरू राखेका छैनन् । उनी भन्छन्, “मेरो टार्गेटेड अडियन्स कक्षा ११ र १२ मा पढिरहेका विद्यार्थीहरू नै हुन् । उनीहरूलाई नै चाहिने खालका कन्टेन्ट बनाउँछु ।”

पछिल्लो पाँच महिनादेखि लामिछानेले युट्युबमा नयाँ कन्टेन्ट राखेका छैनन् । अब भने कक्षा ११ र १२ को परीक्षा नजिकिँदै गएको र यसका लागि आवश्यक कन्टेन्ट बनाएर छिट्टै पोस्ट गर्ने उनले सुनाए । 

एक पटक उनले फेसबुकमा बग भेट्टाएको सम्झिए । उनी भन्छन्, "मैले बग भेट्टाउँदा फेसबुकले रिवार्ड स्वरूप ५० डलर पुरस्कार दिएको थियो । त्यसबेला म १८ वर्षको थिएँ । " उनले १८ वर्षको हुँदा नै एक लाख सब्सक्राइबर बनाएर सिल्भर प्ले बटन पाएका थिए । 

हाल चितवनमा बसेर अध्ययनसँगै अन्य क्रियाकलापमा पनि सक्रिय छन् । क्याम्पसमा नै सञ्जालनमा रहेको गैर नाफामुखी तथा गैर राजनीतिक 'वीरेन्द्र ओपन सोर्स क्लब' मा उपसभापतिको रूपमा छन् । "यस क्लबबाट खासै अवसर नपाएका विद्यार्थीहरूलाई नि:शुल्क आईडी ट्रेनिङहरू दिइन्छ ।" दूरदराजबाट प्रविधि पढ्न आएका विद्यार्थीहरू आउने तर उनलाई खासै धेरै विषयमा जानकारी नहुने भएकाले उनीहरूलाई तालिम दिने गरेको बताए । उनले भने, "चितवन आसपासका उद्योगहरूसँग सहकार्य गरेर, आइटी इभेन्ट्सहरू आयोजना गर्ने, फ्रीमा इन्टर्नसिप प्रदान गर्ने काम गर्छौँ ।" 

सीएसआईटी एसोसिएसन अफ नेपालको चितवन शाखामा सचिवको रूपमा समेत कार्यरत छन् । संस्थाले ह्याकथनको तयारी गरिरहेको उनले सुनाए ।

यस्तै उनले 'नयन' प्रोजेक्टमा समेत काम गरिरहेका छन् । उक्त प्रोजेक्टमा चस्मा जस्तो क्यामेराबाट फोटोमा उपलब्ध कन्टेन्टलाई टेक्स्टमा र टेक्स्टलाई अडियोमा रूपान्तरण गरेर स्पिकरबाट बजाउन सकिने किसिमको बनाउने योजना रहेको उनले बताए । उनले भने, "आँखा देख्न नसक्ने विद्यार्थीलाई पनि सिकाइमा सहयोग गर्ने किसिमको सामग्री बनाउने मेरो योजना हो ।"

आफ्नो समुदायमा केही योगदान दिने किसिमका सीपहरू सिकिरहेको उनी बताउँछन् । 

के छ भविष्यको योजना ?

भविष्यमा हाल दिइरहेका भन्दा केही फरक किसिमका कन्टेन्ट युट्युबमार्फत दिने योजना उनको छ । "राम्रो जीपीए ल्याएर पास भएका विद्यार्थीहरूसँग कुराकानी गरेर पोडकास्ट जस्ता किसिमका कन्टेन्ट दिने योजना छ । ताकी उनीहरूले कसरी पढ्छन् भनेर जुनियरलाई मोटिभेट गर्न सकून् ।" यस्तै अध्ययनसँगै कसरी कमाउन सकिन्छ भन्ने जानकारी दिने र उत्प्रेरणा जगाउने किसिमका कन्टेन्ट बनाउने योजना छ । 

अध्ययनलाई नै प्राथमिकतामा राखेर सामग्री तयार पार्दै आएका उनको आगामी दिनमा पनि यस्तै किसिमका कन्टेन्ट दिने योजना छ । ‍

तर कन्टेन्ट बनाउन समय, मेहनत र लगानी चाहिन्छ । राम्रो टिम र सेटअप पनि चाहिन्छ । स्पोन्सरसिपहरू नहुँदा काम गर्न समस्या पर्नसक्छ भन्ने विषयमा उनी जानकार छन् । त्यसैले कम जनशक्तिमा पनि राम्रो सुझाव दिन सक्ने सामग्री युट्युबमार्फत दिने योजना उनको छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १९:४२