close

भारतमा पढ्ने कूल नेपाली विद्यार्थीबारे सरकार नै बेखबर, यस्तो छ एनओसी लिने विद्यार्थीको आँकडा

टेकपाना टेकपाना

फागुन ११, २०८१ ११:१७

भारतमा पढ्ने कूल नेपाली विद्यार्थीबारे सरकार नै बेखबर, यस्तो छ एनओसी लिने विद्यार्थीको आँकडा

काठमाडौं । वैदेशिक अध्ययनका लागि भारत जाने नेपाली विद्यार्थीहरू कति होलान् ? विडम्बना नै भन्नुपर्छ, त्यसको लेखाजोखा नेपाल सरकारसँग पनि छैन । 

उडिशा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’ सँगै नेपाली विद्यार्थीहरूलाई निकालिएको घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको खोजी सुरु भएको छ । केआईआईटीमा मात्रै १५०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको भनिए पनि भारतमा अध्ययन गर्ने कूल नेपाली विद्यार्थीको सङ्ख्या बारे राज्य बेखबर छ । 

भिसा पनि नचाहिने भएकाले भारत अध्ययनका लागि जाने विद्यार्थीहरूले एनओसी लिइरहनु अनिवार्य छैन । तथापि डलर सटही सुविधा लिन चाहने, औपचारिकताका लागि भिसा लगाएर जाने केही सीमित विद्यार्थीहरूले भने शिक्षा, ज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी (नो अब्जेक्सन लेटर) लिने गरेको मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकाल बताउँछन् । “भारतमा अध्ययन गर्ने कूल नेपाली विद्यार्थी सङ्ख्या बारे अनुमान गर्न पनि मुस्किल छ,” उनी भन्छन् ।

स्रोतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मन्त्रालयको तथ्याङ्क अनुसार एनओसी लिई जाने विद्यार्थीको मात्रै गणना गर्ने हो भने पनि भारतमा ठुलो सङ्ख्यामा नेपाली विद्यार्थी गइरहेका छन् । पछिल्लो पाँच वर्षमा अध्ययनका लागि भारत जान २४ हजार ९६३ विद्यार्थीले एनओसी लिएका छन् । जुन नेपालबाट एनओसी लिएर अध्ययनका लागि विदेश जाने विद्यार्थी सङ्ख्याको हिसाबले सातौँ स्थानमा छ । यसरी हेर्दा प्रत्येक वर्ष औसत करिब पाँच हजार विद्यार्थी एनओसी लिएर अध्ययनका लागि भारत जाने गरेको देखिन्छ । यद्यपि त्यहाँका लागि एनओसी लिने विद्यार्थीको सङ्ख्या गत वर्ष करिब ६ हजार रहेकोमा यस वर्ष  ४ हजार ३७३ भन्दा माथि पुगिसकेको छ । 

पछिल्लो पाँच वर्षमा कूल छ लाख ६८ हजार ९४३ नेपाली विद्यार्थीले एनओसी लिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै विद्यार्थीको गन्तव्य भने अस्ट्रेलिया बनेको छ । यस अवधिमा अध्ययनका लागि अस्ट्रेलिया जान दुई लाख पाँच हजार ३९८ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन् । 

त्यसपछि दोस्रोमा जापान (एक लाख २३ हजार ५९४), तेस्रोमा बेलायत (८८ हजार ३४३), चौथोमा क्यानडा (७६ हजार ६६३), पाँचौँमा अमेरिका (४० हजार ३४६) र छैटौँमा दक्षिण कोरिया (३१ हजार ९७३) रहेका छन् । नेपालबाट पाँच वर्षको अवधिमा विश्वका ८२ देशमा विद्यार्थीहरू अध्ययनका लागि जाने गरेको देखिन्छ । 

 

पछिल्लो अध्यावधिक: फागुन ११, २०८१ ११:२४