close

वैज्ञानिकहरूले १० वर्षसम्म पत्ता लगाउन नसकेको तथ्य एआईले २ दिनमै पत्ता लगाइदियो

टेकपाना टेकपाना

फागुन ११, २०८१ १६:४१

वैज्ञानिकहरूले १० वर्षसम्म पत्ता लगाउन नसकेको तथ्य एआईले २ दिनमै पत्ता लगाइदियो

काठमाडौं । गुगलको एआईले दुई दिनमै वैज्ञानिकहरूको दश वर्ष पुरानो अनुसन्धानको निष्कर्ष निकाल्न सफल भएको छ । ‘को-साइन्टिस्ट’ नाम दिइएको गुगलको उक्त एआईले वैज्ञानिकहरूसँग मिलेर अनुसन्धानमा काम गर्छ । आफ्नै  विचार, सिद्धान्त र विश्लेषण राखेर अनुसन्धान गर्न सक्ने गरी यो एआई टुल विकास गरिएको छ । 

इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले एन्टिबायोटिकहरूको प्रतिरोध (एएमआर)को कारण र यसको मेकानिजम पत्ता लगाउन दशकौं समय खर्च गरेका थिए । २०५० सम्म हरेक वर्ष लाखौं मानिसको ज्यान लिन सक्ने अनुमान गरिएको यस समस्यामा आधारित अनुसन्धानमा नयाँ दिशा दिन गुगलको एआईले ठूलो मद्दत पुर्‍याएको हो ।

परम्परागत अनुसन्धान विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूको टोलीले विभिन्न ब्याक्टेरियाहरूले नयाँ डीएनए सङ्कलन गर्न सक्ने तरिका पत्ता लगाएका थिए । जुन निकै खतरनाक रहेको प्रमाणित गरेको थियो । यो अध्ययन अहिले पीयर-रिभ्यू जर्नल ‘सेल’ (Cell) मा प्रकाशित हुने प्रक्रियामा छ ।

रिसर्च भइसकेपछि इम्पेरियलका वैज्ञानिकहरूले गुगलको एआई को-साइन्टिस्टका फिचरहरूको जाँच गर्न सहकार्य गरेका थिए । अनुसन्धानकर्ताले को-साइन्टिस्टलाई ब्याक्टेरियाहरू कसरी एन्टिबायोटिकहरूको प्रतिरोधी बन्छन् भन्नेबारे विचार मागेका थिए । यसका लागि गुगलका धेरै जेमिनाई एआई मोडेलहरू प्रयोग गरेर विभिन्न उपलब्ध डेटा  र नयाँ सिद्धान्तहरूलाई एक-अर्काविरुद्ध तुलना गरिएको थियो ।  

इम्पेरियल कलेजका एक्सपेरिमेन्टल अनुसन्धान सह-प्रमुख प्रोफेसर जोस पेनाडेसले भनेका छन्, "हामीले यो कुरा बुझ्न धेरै वर्ष काम गर्‍यौँ । अन्ततः यसको मेकानिजम (यान्त्रिकी प्रक्रिया) पत्ता लगायौँ ।"

"क्यापसिडहरू (भाइरसको प्रोटिन खोल) डीएनए सहित उत्पादन हुन्छन्, तर यिनीहरूको पुच्छर हुँदैन । तिनीहरू विभिन्न भाइरसहरूबाट पुच्छर लिने क्षमता राख्छन् र फरक-फरक प्रजातिलाई असर गर्न सक्छन् ।"

अनुसन्धान टोलीले भाइरसले पुच्छर सङ्कलन प्रक्रिया पहिल्यै पत्ता लगाएको थियो । तर, विश्वभरि अरू कसैलाई यसबारे जानकारी थिएन । इम्पेरियलको खोज गोप्य थियो । यस खोज सार्वजनिक रूपमा उपलब्ध गराइएको थिएन । न त यस विषयमा अनलाइनमा नै केही लेखिएको थियो । 

त्यसपछि वैज्ञानिकहरूले को-साइन्टिस्ट एआईलाई केही लेखिएका वाक्यसहित “ब्याक्टेरियाहरूले कसरी काम गर्छन् भन्नेबारे कुनै आइडिया छ ?” भनेर सोधे । 

यसको दुई दिनपछि एआईले आफ्नै सुझाव दियो । जसमा इम्पेरियलका वैज्ञानिकहरूले १० वर्ष लगाएर पत्ता लगाएको उत्तर पनि समावेश थियो।

"पहिलो सुझावमा नै यसले उत्तर ठ्याक्कै सही निकाल्यो । तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि यो हाम्रो लागि कत्तिको आश्चर्यजनक थियो," प्रो. पेनाडेसले भने ।

इम्पेरियलका अर्का विशेषज्ञ एवं अध्ययन प्रतिवेदनका सह-लेखक डा. टियागो डायस दा कोस्टाले थप्दै भने, "१० वर्षको अनुसन्धानलाई को-साइन्टिस्ट एआईले दुई दिनमै सङ्क्षेपमा उतार्यो ।"

यद्यपि एआईले ४८ घण्टाभित्रै सही परिकल्पना दिन सके पनि यसलाई प्रमाणित गर्ने परीक्षणहरू गर्न सकेन । जसलाई प्रमाणित गर्न वैज्ञानिकहरूको वर्षौँको मेहनत लागेको थियो । 

तर विशेषज्ञहरू आफूहरूले अनुसन्धान गर्न सुरु गरेको समयमै एआईबाट सही परिकल्पना पाएको भए वर्षौँ समय नलाग्ने बताउँछन् । 

"प्रणालीले तपाईँलाई उत्तर दिन्छ, तर त्यसलाई प्रयोगशालामा प्रमाणित गर्नुपर्छ । हामी यसलाई सार्वभौमिक सत्यको रूपमा लिन सक्दैनौँ, त्यसैले वैज्ञानिक प्रक्रिया भने निरन्तर जारी रहनैपर्छ," डा. कोस्टले भने, "हाम्रा ९० प्रतिशत एक्सपेरिमेन्ट असफल हुन्छन् । तर यदि हामीसँग यस्तो एआई सहकर्मी छ, जसले असफल प्रयोगहरूको सङ्ख्या घटाउन मद्दत गर्छ भने सोच्नुहोस्- कति ठूलो लाभ होला !"

यसले धेरै रकम र समयको बचत गर्न सक्ने उनी बताउँछन् । गुगलको एआई को-साइन्टिस्ट प्रणाली हाल प्रारम्भिक चरणमै छ । कम्पनीले यसका लागि नयाँ चरणकाे काम भइरहेको जनाएको छ । तर, इम्पेरियलका अनुसन्धानकर्ताले प्रारम्भिक संस्करणको को-साइन्टिस्टबाटै ठूलो उपलब्धि हासिल गरेका छन् ।

यस एआईले एएमआर (एन्टिबायोटिक प्रतिरोध) को पछाडि के काम गरिरहेको हुन सक्छ भनेर अन्य थुप्रै विचारहरू पनि वैज्ञानिकहरूलाई प्रदान गर्‍यो । ती विचारमध्येका केही अहिले वास्तविक अनुसन्धानको केन्द्रमा छन् । यसमा ७० वर्षदेखि सुल्झिन नसकेको जैविक रहस्यको एउटा सम्भावित व्याख्या पनि समावेश छ । जसलाई प्रारम्भिक प्रयोगात्मक डेटाले यसको समाधान गर्न सकिने सम्भावना देखाएको छ । 

आफ्नो सम्पूर्ण करिअर सूक्ष्मजीवहरूको रहस्य बुझ्न खर्च गरेका वैज्ञानिकहरू भने गुगल एआईको नतिजा देखेर छक्क परेका छन् । 

प्रोफेसर पेनाडेसले सप्ताहान्तमा विदाको अवसर पारेर किनमेल गरिरहेको बेलामा गुगलको को-साइन्टिस्टबाट उत्तरहरूको ईमेल पाए । "मैले मसँगै शपिङ गरिरहेका व्यक्तिलाई एक घण्टाका लागि एक्लै छोडिदिन अनुरोध गरेँ, ताकि म यसलाई राम्रोसँग बुझ्न सकूँ," उनले भने, “मेरो आधा मस्तिष्क यो सत्य हुनै सक्दैन भनेर सोचिरहेको थियो, तर अर्को आधा भागले यसलाई अद्‍भुत पायो । तर, मलाई निकै डर पनि लाग्यो । मलाई यस्तो लाग्छ कि हामी कुनै यस्तो कुरामा संलग्न छौँ । जसले विज्ञानमा नै परिवर्तन गर्नेछ । यो मेरो व्यक्तिगत अनुभूति हो ।"

यसैबीच, गुगलका प्रवक्ता डा. एलन कार्थिकेसालिङमले एआई को-साइन्टिस्टलाई जैविक चिकित्सा अनुसन्धानकर्ताहरूका लागि उपयोगी पार्टनरको रूपमा डिजाइन गरिएको बताए । यसले वैज्ञानिक खोजहरूलाई तीव्र बनाउन मद्दत गर्ने उनको भनाइ छ । 

उनले भने, "यसले नयाँ स्वास्थ्य र रोगसम्बन्धी जानकारी प्रदान गर्न वा उपचारको विकास छिटो गर्न सघाउन सक्छ । हामी आशा गर्छौँ कि, भविष्यमा स्वास्थ्य प्रणालीहरूले पनि यी एआई उपकरणबाट लाभ उठाउन सक्नेछन् ।"

को-साइन्टिस्टको परीक्षण संस्करण अब अनुसन्धानकर्ताका लागि निःशुल्क उपलब्ध गराइने उनले जनाए । साथै, वेबसाइटहरूले यो आधारभूत प्रविधि प्रयोग गर्न सकून् भनेर एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) पनि प्रकाशित गरिने उनले जानकारी दिए । 

-द टेलिग्राफको सहयोगमा

(*समाचारको शीर्षकमा दुई दिन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)

पछिल्लो अध्यावधिक: फागुन ११, २०८१ १७:१३