काठमाडौं । एक समय थियो चिनियाँ व्यापारी ज्याक मा विश्वका शीर्ष धनी व्यक्तिमा गनिन्थे । उनी जताततै छाएका थिए । उनको कथा खुबै चर्चामा आउँथ्यो । तर एक समयपछि उनी कतै हराए भन्ने खबर आउन थाल्यो । अर्थात् उनी सार्वजनिक जीवनबाट गायब भए । यसबीचमा थुप्रै शङ्का उपशङ्का उब्जिए । उनी कहाँ हराए होलान् भन्ने धेरैको कौतूहलता थियो ।
तर लगभग पाँच वर्षपछि उनी फेरि देखिएका छन् । एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा ज्याक मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाउँदै गरेको देखिन्छन् । दुवै जना मुस्कुराइरहेका छन् र एक अर्काको हात बलियो गरी समातेका छन् । यो तस्बिर किन खास छ र ज्याक मा किन फेरि चर्चामा छन् त ? आउनुहोस्, बुझौं:
चीनका सर्वाधिक धनाढ्य भइसकेका अलिबाबा ग्रुपका मालिक ज्याक माले सन् २०२० मा सार्वजनिक जीवनबाट विश्राम लिएका थिए । त्यसअघि ज्याक माले चीनको वित्तीय क्षेत्रको आलोचना पनि गरेका थिए । अहिले विज्ञ, विश्लेषक र सञ्चार माध्यमका मानिसले ‘यो के भयो र अब के हुनेवाला छ’ भन्ने अनुमान लगाउन थालेका छन् । यो भेटघाटपछि चीनको प्रविधि क्षेत्र खासगरी अलिबाबाको स्टकमा वृद्धि भएको छ । के ज्याक मा पुनरागमनको बाटोमा छन् ?
चीनका विश्लेषक बिल बिशपले बीबीसी भने, “ज्याक माको उपस्थिति, उनी सबैभन्दा अगाडिको लहरमा बस्नु, केही नबोल्नु र त्यसपछि सी जिनपिङसँग हात मिलाउनु भनेको ज्याक माको पुनरागमन भइसकेको सङ्केत हो ।” ज्याक माको पुनरागमनले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा एक प्रयोगकर्ताले लेखेका छन्, “ज्याक मालाई सुरक्षित अवतरणको बधाई ।” अर्का प्रयोगकर्ताले लेखे, “ज्याक माको पुनरागमन वर्तमान चिनियाँ अर्थतन्त्रको लागि बुस्टर जस्तै हो । ज्याक मा यसरी फिर्ता आएपछि नजर राख्नेहरूले यसलाई महत्त्व दिएका छन् ।”
तर केही वर्षअघि ज्याक माको समस्या कसरी बढेको थियो ? चीनको वित्तीय क्षेत्र र विशेष गरी चिनियाँ सरकारी बैंकहरूमाथि बयान दिएपछि गायब हुनुअघि ज्याक मा चिनियाँ प्रविधि उद्योगका हर्ताकर्ता व्यक्ति थिए । ज्याक मा अंग्रेजीका शिक्षक थिए । उनलाई कम्प्युटरको दुनियाँमा कुनै अनुभव थिएन । तर उनले आफ्नो घरमै अलिबाबा बनाए र साथीलाई यसमा लगानी गर्न भने । यहींबाट ज्याक माको चीनको सबैभन्दा धनी मान्छे बन्ने र चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी बनाउने यात्रा सुरु भयो ।
त्यहाँका बैंकलाई ‘बूढापाकाहरूको क्लब’ जस्तो भन्दै ज्याक माले भनेका थिए, “चीनमा ‘प्रणालीगत जोखिम’ मुख्य समस्या होइन । बरु, चीनको सबैभन्दा ठूलो जोखिम भनेको यहाँ ‘वित्तीय पारिस्थितिक प्रणाली’को अभाव हुनु हो । चिनियाँ बैंक ‘साहूको पसल’ जस्ता छन्, जहाँ धितो र जमानी नै मुख्य मुद्रा हुन् । परिणामस्वरूप कतिपयले यति ठूलो ऋण लिएका छन् कि उनीहरूलाई असफल हुन दिइँदैन ।”
ज्याक माले अगाडि भनेका थिए, “चिनियाँहरू भन्ने गर्छन्, यदि तपाईंले बैंकबाट १ लाख युआन ऋण लिनुभयो भने, तपाईं अलिकति डराउनुहुन्छ; यदि १० लाख युआन ऋण लिनुभयो भने, तपाईं र बैंक दुवै अलिकति तनावमा हुन्छन्; तर यदि तपाईंले १ अर्ब युआन ऋण लिनुभयो भने, तपाईं पटक्कै डराउनुहुन्न, बरु बैंक डराउँछ ।”
त्यसपछि ज्याक माको एन्ट ग्रुपको ३४.५ बिलियन डलरको शेयर बेच्ने प्रयास गरिएको थियो, जसलाई पछि रद्द गरियो । यसपछि उनको कारोबारलाई धक्का लाग्न थाल्यो । चीनको सरकार ज्याक मालाई शान्त पार्ने दाउमा यो सबै गरेको रूपमा यसलाई हेर्न थालिएको थियो । यसअघि ज्याक मा धेरै अन्तर्वार्ता दिइरहेका हुन्थे, धेरै कार्यक्रममा जान्थे र खुलेर आफ्ना कुरा राख्थे । तर अब जुन तरिकाले ज्याक मा एउटा यस्तो कार्यक्रममा देखिए जहाँ सी जिनपिङ पनि थिए, यसलाई ज्याक माको लागि राम्रो सङ्केतको रूपमा हेरिएको छ । यद्यपि यस कार्यक्रमको कभरेज सीमित थियो र ज्याक माले पनि केही भनेका थिएनन् । त्यसैले अहिलेनै उनको पुनरागमन पूर्ण रूपमा भएको छैन भन्ने गरिन्छ । तर के चीनमा प्रविधि उद्योगको विरुद्धमा कारबाही रोकिनेछ ?
यस कार्यक्रममा सी जिनपिङले उपस्थित मानिसहरूलाई भने, “चीनको अर्थतन्त्रले सामना गरिरहेका चुनौतीहरू, जुन अस्थायी र स्थानीय स्तरमा छन्, तिनीहरूको बाबजुद पनि कम्पनीहरूले थप आविष्कार, नयाँ खोज र उन्नति ल्याउने प्रयास गर्नुपर्छ ।” सी जिनपिङले यो एकदम सही समय भएको बताए । र, अब निजी कम्पनी आफ्नो पूरा प्रतिभा देखाउनुपर्नेमा जोड दिए । अब यसको अर्थ सरकारले निजी प्रविधि कम्पनीहरूलाई उनीहरू सही स्पेसमा छन् भन्ने दर्शाएको छ । ज्याक माको साथै चीनको प्रविधि उद्योगमा पनि गिरावट देखिएको थियो । डेटा सुरक्षा, प्रतिस्पर्धाका नियम र विशेषगरी डिजिटल सम्पत्तिमा सरकारी अधिकारका कारण धेरै कम्पनीहरू नराम्रो अवस्थाबाट गुज्रनुपरेको थियो । चीनको सरकारले अझ बन्देज थपेपछि उद्योगलाई अरबौं डलरको घाटा भयो । वृद्धि रोकियो र त्यसपछि रोजगारीमा पनि यसको असर भयो । तर अब चिनियाँ सरकारलाई सायद निजी क्षेत्रको महत्त्व थाहा भइरहेको छ, जसले चीनको विकास र वृद्धिमा योगदान दिन्छ ।