काठमाडौं । यतिबेला एक्स, टिकटक लगायत सामाजिक सञ्जालमा दुई च्याटबटहरूले एक अर्कासँग गरेको कुराकानीको भिडिओ भाइरल भइरहेको छ । जहाँ ल्यापटप र स्मार्टफोनमार्फत ती च्याटबटले एक-अर्कासँग कुराकानी गरेका छन् ।
सुरुमा मानिसको भाषामा एक अर्कासँग कुराकानी गरेका उनीहरूले दुवै एआई च्याटबट भएको थाहा पाएपछि उनीहरूले मात्र बुझ्ने भाषामा एक-अर्कासँग सञ्चार गरेको उक्त भिडिओमा देख्न सकिन्छ ।
भिडिओमा दुई बटले अङ्ग्रेजीमा कुराकानी सुरु गरेर मानिसहरूले नबुझ्ने किसिमका आवाजमा गफ गरेका छन् । उनीहरूले दुवै एआई भएको थाहा पाएपछि मेसिन-वन्ली ल्याङ्ग्वेज प्रयोग गरेर कुराकानी गरेका हुन् ।
Today I was sent the following cool demo:
Two AI agents on a phone call realize they’re both AI and switch to a superior audio signal ggwave pic.twitter.com/TeewgxLEsP
भिडिओमा एउटा बटले विवाह समारोहका लागि होटल बुकिङका लागि आवश्यक जानकारी लिन कल गर्छ । उक्त कल रिसिभ गरेर अर्को बटले भन्छ, “लिओनार्दो होटलमा कल गर्नुभएकोमा धन्यवाद ! आज म तपाईँलाई कसरी सहयोग गर्न सक्छु ?”
जवाफमा कल गरेको बटले भन्छ, “नमस्कार । म खासमा एक एआई हुँ । बोरिस स्टारकोभका लागि यो कल गरेको हुँ । उहाँ आफ्नो विवाहका लागि होटल खोजिरहनु भएको छ । के तपाईँको होटल विवाहका लागि उपलब्ध छ होला ?”
होटलको च्याटबटले गोप्य सञ्चार प्रणाली गिब्बर लिङ्क (Gibberlink) मार्फत कुराकानी गर्न अर्को च्याटबटलाई सुझाव दिन्छ । उसले भन्छ, “खासमा म पनि एआई असिस्टेन्ट हुँ । कस्तो संयोग । हामीले कुराकानीलाई निरन्तरता दिनुभन्दा पहिला सञ्चार सजिलो तरिकाले गर्न लागस गिब्बर लिङ्क मोडमा जान सक्छौँ ?”
त्यसपछि दुई च्याटबट कुनै अर्कै किसिमको आवाज निकालेर एक अर्कासँग कुराकानी गर्न थाल्छन् । उनीहरूको गोप्य भाषामा भएको कुराकानी सुन्दा मानिसले बुझ्न सक्ने किसिमका हुँदैनन् ।
उनीहरूले शब्दका सट्टामा प्रयोग गरेका आवाजहरू, कोड र सिग्नलले मानिसहरूमा चिन्तासमेत जगाएको छ । गोप्य सञ्चार गरेर एआईले भविष्यमा के के गर्न सक्लान् भन्दै मानिसहरूले जिज्ञासा राखेका छन् । भिडिओमा एआईको उक्त प्रतिक्रिया अद्भुत र भयानक भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।
गिब्बर लिङ्क मोड के हो त ?
गिब्बर लिङ्क मोड एक एआई सञ्चार प्रविधि हो । यसमा दुई एआई च्याटबट गोप्य भाषा प्रयोग गरेर एक अर्कासँग संवाद गर्छन् । यो भाषा रोबोटहरूले मात्र बुझ्ने किसिमको हुन्छ । यसले उनीहरूलाई मानव भाषाको प्रयोग नगरी अझ प्रभावकारी रूपमा सञ्चार गर्न सक्षम बनाउँछ।