काठमाडौं । एआईद्वारा सञ्चालित एक रोबोटले वृद्ध-वृद्धाको हेरचाह गर्ने तरिका प्रदर्शन गरेको छ । जापानको राजधानी टोकियोमा हालै गरिएको एक परीक्षणमा उक्त रोबोटले बिरामीलाई कोल्टे फर्काएर डाइपर फेरि दिने र बिस्तारामा हुन सक्ने घाउ/चोटबाट बचाउने क्षमता देखाएको हो ।
१५० किलोग्राम तौल भएको यो रोबोटलाई ‘एआईआरईसी’ नाम दिइएको छ । यो जापानको बढ्दो वृद्ध जनसङ्ख्याबिच हेरचाह गर्ने मानिसहरूको अभावलाई कम गर्न भविष्यमा प्रयोग गर्न सकिने प्रोटोटाइप हो । वासेदा विश्वविद्यालयका प्राध्यापक शिगेकी सुगानोको नेतृत्वमा सरकारी सहयोगमा एआईआरईसीबारे अनुसन्धान भइरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले जापानमा बढ्दो वृद्ध जनसङ्ख्यालाई हेर्दा चिकित्सा र वृद्धवृद्धाको हेरचाहमा रोबोटको सहयोग आवश्यक पर्ने बताए ।
जापान विश्वकै सबैभन्दा बढी वृद्ध जनसङ्ख्या भएको देश हो, जहाँ जन्मदर घट्दो छ भने काम गर्ने उमेरका मानिसहरूको सङ्ख्या कम हुँदै गएको छ । त्यसैमाथि आप्रवासन नीति पनि कडा छ ।
दोस्रो विश्व युद्धपछि जन्मदर बढेकोले ‘बेबी बुमर’ पुस्ताको सङ्ख्या धेरै छ । सन् १९४६ देखि १९६५ को अवधिमा जन्मिएका मानिसहरूलाई बेबी बुमर पुस्ताको नामले चिनिन्छ । दोस्रो विश्व युद्धपछिको आर्थिक उन्नतिले जन्मदर पनि बढाएको थियो ।
यस पुस्ताका सबै सदस्यले सन् २०२४ को अन्त्यसम्ममा ७५ वर्ष उमेर पार गरिसकेका छन्, जसले गर्दा वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको अभाव चुलिएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२४ मा जन्मदर ५ प्रतिशतले घटेर ७ लाख २० हजार ९ सय ८८ मा पुगेको छ, जुन नयाँ रेकर्ड हो ।
जेनकोकाईका निर्देशक ताकाशी मियामोटोले अहिलेको अवस्थामा जेनतेन काम चलाइरहेको र १०-१५ वर्षमा अवस्था निकै नाजुक हुने बताए । उनले प्रविधिको प्रयोगबाट यसलाई रोक्न सकिने तर्क गरेका छन् । जेनकोकाईले नयाँ प्रविधिहरूलाई सक्रिय रूपमा अँगालेको छ, तर रोबोटको प्रयोग भने सीमित छ ।
टोकियोको एक सुविधामा, पुतली आकारको रोबोटले पप गीत गाएर र साधारण व्यायाम गराएर हेरचाहमा मद्दत गर्छ । जबकि मानव हेरचाहकर्ता अन्य काममा व्यस्त हुन्छन् । हाल नर्सिङ केयर प्रविधिको सबैभन्दा उपयोगी पक्ष भनेकै बिरामीको बिस्तारा मुनि राखिएको स्लिपिङ सेन्सर हो, जसले उनीहरूको निद्राको अवस्था निगरानी गर्छ र राति मानिसले गर्ने निगरानीलाई कम गर्छ ।
टेस्लाको अप्टिमस जस्ता ह्युमनोइड रोबोट विकास भइरहेका छन् । जापान टाइम्सलाई प्राध्यापक सुगानोले मानिसहरूसँग सुरक्षित रूपमा अन्तरक्रिया गर्न सक्ने रोबोटलाई उच्च स्तरको इन्टेलिजेन्स आवश्यक पर्ने बताए । उनी भन्छन्, “ह्युमनोइड रोबोटहरू विश्वभर विकास भइरहेका छन् । तर, तिनीहरू विरलै मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउँछन् । तिनीहरूले घरका वा कारखानामा मात्र काम गर्छन् ।”
सुगानोको एआईआरईसी रोबोटले मानिसलाई उठ्न, मोजा लगाउन, अण्डा पकाउन, लुगा धुने र घर वरपरका अन्य उपयोगी कामहरू गर्न मद्दत गर्न सक्छ । तर, सुगानोले नर्सिङ केयर र मेडिकल सुविधामा प्रयोग गर्न सकिने हिसाबले एआईआरईसी सन् २०३० सम्ममा मात्र तयार हुने अपेक्षा गरेका छन् । यसको सुरुवाति मूल्य १ करोड येन (६७ हजार अमेरिकी डलर) हुने अनुमान गरिएको छ ।