close

टेकपाना फ्याक्टचेकः मुस्ताङमा ३५ टन युरेनियम भेटिएको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २३, २०८१ १८:४२

टेकपाना फ्याक्टचेकः मुस्ताङमा ३५ टन युरेनियम भेटिएको दाबी भ्रामक

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा ‘नेपालमा ३५ टन युरेनियम भेटिएको’ भन्ने दाबी सहितका पोस्ट र भिडिओ भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा कैयौं पेजबाट ‘नेपालमा ३५ टन युरेनियम भेटिएकाले छिट्टै धनी हुने’ आशयका पोस्ट आइरहेका छन् ।

टेकपानाको तथ्यजाँचबाट नेपालमा ३५ टन युरेनियम भेटिएको भन्ने दाबी भ्रामक रहेको देखिएको छ । विभिन्न प्रतिवेदनले ठुलो मात्रामा युरेनियम हुनसक्ने उल्लेख गरेका छन् । तर, प्रविधि, जनशक्ति र बजेटको अभावले ठ्याक्कै यति मात्रामा छ भन्ने अवस्था नरहेको देखिएको हो ।

दाबी

युट्युबमा ९ लाख ५२ हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल ‘जगत खबर’ले १७ फेब्रुअरी २०२५ मा एक भिडिओ पोस्ट गर्‍यो । भिडिओको शीर्षक थियो, “आहा!!! मुस्ताङमा भेटियो ३५ टन युरेनियम, अब बन्दैछ नेपाल विश्वकै धनी देश ।” यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा एक लाख पाँच हजार बढी भ्युज, तीन हजार बढी लाइक र २४१ कमेन्ट आएका छन् । हेर्नुहोस् युट्युबमा अपलोड भिडिओको ओरिजिनलआर्काइभ लिङ्क ।

यो भिडिओ पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट, समाचार आदिका आधारमा तयार पारिएको जस्तो देखाइएको छ । तर, यसमा भएका सबै जानकारी जस्ताको तस्तै बीबीसी नेपाली सेवा र लोकान्तर डकटमको समाचारबाट लिइएको देखिन्छ । 

बीबीसीले ८ अप्रिल २०२१ मा “युरेनीअमः नेपालमा कहाँकहाँ पाइन्छ यो बहुमूल्य ‘रणनीतिक खनिज’, के उत्खनन सम्भव छ” शीर्षकको समाचार राखेको थियो । आर्काइभ लिङ्क । 

त्यस्तै लोकान्तरले पहिलो पटक २० डिसेम्बर २०१९ मा “एक किलो युरेनियमको १८ करोड, मुस्ताङमा रहेको ३५ टनले मुलुक हुन सक्छ कायापलट” शीर्षकको समाचार राखेको थियो । आर्काइभ लिङ्क । त्यस्तै अर्को पटक लोकान्तरले ३ मार्च २०२१ मा “युरेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै, अर्थतन्त्र कायापलट” शीर्षकको समाचार राखेको थियो । आर्काइभ लिङ्क

‘जगत खबर’ले बीबीसीको झन्डै चार वर्ष पुरानो र लोकान्तरको क्रमशः पाँच र चार वर्ष पुरानो समाचारबाट रिपोर्ट बनाएको छ । त्यसमा पनि यी दुई समाचार माध्यमले राखेका स्रोतको नाम हटाएर समाचारमा भएका भनाइलाई आफ्नै विज्ञताका आधारमा लेखेको जसरी पढिएको छ । भिडिओको ३ः०४ सेकेन्डमा भनिएको छ, “खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमानथाङमा १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइ रहेको क्षेत्रफलमा बहुमूल्य धातु ‘युरेनियम’ भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ । विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुनसक्ने बताएका छन् ।”  

यी हरफ लोकान्तरको ‘युरेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै, अर्थतन्त्र कायापलट’ बाट लिएको देखिन्छ । आर्काइभ लिङ्क । 

लोकान्तरले २०२१ मा सङ्गती बिगारेर लेखेको वाक्य ‘जगत खबर’ले दुरुस्तै पढेको देखिन्छ । लोकान्तरको दुवै समाचारमा ३५ टन युरेनियमको प्रसङ्ग उल्लेख छ । २०१९ मा पोस्ट भएको समाचारको अन्तिममा लेखिएको छ, “विभागका अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको छ । यी सबैबाट नेपालले ३५ टन शुद्ध युरेनियम निकाल्न सक्छ ।” 

 

त्यस्तै २०२१ मा पोस्ट भएको समाचारमा लोकान्तरले लेखेको छ, “खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा  बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ । विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।” 

लोकान्तरले नेपालमा युरेनियम पाइने सबै ठाउँबाट ३५ टन शुद्ध युरेनियम निकाल्न सक्ने उल्लेख गरेको छ । तर, यसमा पनि ठ्याक्कै ३५ टन युरेनियम निकाल्न सक्ने आधार के छ भन्ने उल्लेख छैन । ‘जगत खबर’ले लोकान्तरकै वाक्यलाई लिएर मुस्ताङको लोमान्थाङमा ३५ टनसम्म युरेनियम भएको दाबी गरेको देखिन्छ ।

 

 

‘जगत खबर’को थम्बनेल अन्य फेसबुक पेजले डाउनलोड गर्दै थप भ्रामक पोस्ट फैलाएको देखिन्छ । भान सिंह ऐरी (आर्काइभ लिङ्क), के आर नेपाली (आर्काइभ),  प्रमोद सुनार, नेपलिज टाइम्स, शुस ईल , Harka Sampang Rai, ग्यालेक्सी फोरके सिधा कुरा जनता संग, राष्ट्रिय स्वतन्त्र पार्टी-समर्थक , Givina Magar - गिभिना मगर, Givina -गिभिना मगर (आर्काइभ लिङ्क), Givina 18 - गिभिना (आर्काइभ लिङ्क), Hark Sampang Rai - A Revolution (आर्काइभ लिङ्क), Givina Givina (आर्काइभ लिङ्क) लगायतका फेसबुक पेजले उही सामग्री पोस्ट गरेको देखिन्छ । 

यी अधिकांश पेज नाम चलेका केही व्यक्तिहरूकै नामबाट खोलिएको देखिन्छ । त्यसको शीर्षकमा लेखिएको छ, “मुस्ताङमा ३५ टन युरेनियम भेटियो! नेपाल आर्थिक समृद्धिको दिशामा? वास्तविकता के हो?”

त्यसभन्दा तल ‘जगत खबर’ले युट्युबका लागि बनाएको थम्बनेल राखिएको छ । सो थम्बनेलमा सबैभन्दा माथि ‘मुस्ताङमा भेटियो ३५ टन युरेनियम’ लेखिएको छ । त्यसको तल लेखिएको छ, “आहा…।” त्यसभन्दा तल निलो अक्षरमा लेखिएको छ, “नेपाल अब बन्नेछ बिश्वकै धनी देश” । र, त्यसैसँग जोडिएको अर्को फोटोमा एउटा डोजर र भौतिक रूपमा काम भइरहेको फोटो देखिन्छ । 

उक्त फोटो पनि ‘जगत खबर’ले आफ्नो उक्त भिडिओमा प्रयोग गरेको क्लिपबाट तानिएको देखिन्छ । यसरी पोस्ट राख्ने अधिकांश फेसबुक पेजले क्याप्सनको तलपट्टि ‘Ten Unknown Facts About #BMW’ भन्ने असम्बन्धित पोस्ट राखेका छन् । यो भनेको फेसबुकको एल्गोरिद‍मलाई झुक्याएर पोस्ट धेरै प्रयोगकर्ताको फिडसम्म पुर्‍याउने बाटो हो । यसबारे विस्तृत जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

 

यी अधिकांश पेजले भिडिओ हेर्नुहोस् भन्दै ‘एडवेयर लिङ्क’ राखेका छन् । त्यस्ता लिङ्कमा क्लिक गर्दा असम्बन्धित विज्ञापन खासगरी बेटिङ साइटमा पुगिन्छ ।

तथ्य जाँच 

सबैभन्दा पहिले फेसबुकमा ‘Givina Givina’ (हेर्नुहोस् आर्काइभ पोस्ट) नामको पेजमा २५ फेब्रुअरीमा ‘मुस्ताङमा ३५ टन युरेनियम भेटियो! नेपाल आर्थिक समृद्धिको दिशामा? वास्तविकता के हो? (भिडियो सहित)  यहाँ हेरौं’ क्याप्सन राखिएको पोस्ट फेला पार्‍यौं । 

उक्त पोस्टका आधारमा हामीले फ्याक्टचेक सुरु गर्‍यौं । त्यसका लागि फेसबुक सर्चमा ‘युरेनियम भेटियो’ कीवर्ड खोज्यौं । त्यसमा एउटै किसिमका पोस्ट आइरहेको फेला पार्‍यौं । उक्त पोस्टका लागि प्रयोग भएको फोटो गुगलमा रिभर्स इमेज सर्च गर्दा ‘जगत खबर’को युट्युब च्यानलको भिडिओमा देखियो । 

१७ फेब्रुअरीमा पोस्ट भएको भिडिओमा भएको स्क्रिप्ट हेर्दै जाँदा बीबीसी र लोकान्तरबाट दुरुस्तै लिइएको देखियो । बीबीसीले ८ अप्रिल २०२१ मा “युरेनीअमः नेपालमा कहाँकहाँ पाइन्छ यो बहुमूल्य ‘रणनीतिक खनिज’, के उत्खनन सम्भव छ” शीर्षकको समाचार राखेको थियो । आर्काइभ लिङ्क । 

त्यस्तै लोकान्तरले पहिलो पटक २० डिसेम्बर २०१९ मा “एक किलो युरेनियमको १८ करोड, मुस्ताङमा रहेको ३५ टनले मुलुक हुन सक्छ कायापलट” शीर्षकको समाचार राखेको थियो । आर्काइभ लिङ्क । त्यस्तै अर्को पटक लोकान्तरले ३ मार्च २०२१ मा “युरेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै, अर्थतन्त्र कायापलट” ले अर्को समाचार राखेको थियो । आर्काइभ लिङ्क । 

लोकान्तरले दुवै समाचारमा ‘नेपालमा ३५ टन युरेनियम हुन सक्ने उल्लेख गरेको छ । २०१९ मा पोस्ट भएको समाचारको अन्तिममा लेखिएको छ, “विभागका अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको छ । यी सबैबाट नेपालले ३५ टन शुद्ध युरेनियम निकाल्न सक्छ ।” 

त्यस्तै २०२१ मा पोस्ट भएको समाचारमा लेखिएको छ, “खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा  बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ । विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।” 

लोकान्तरले एउटा समाचारमा नेपालले देशका विभिन्न ठाउँबाट ३५ टन युरेनियम निकाल्न सक्ने उल्लेख गरेको छ भने अर्को समाचारमा विज्ञले भनेको भन्दै ३५ टनसम्म युरेनियम हुनसक्ने उल्लेख गरेको छ । तर, को विज्ञले भनेको भन्ने कतै उल्लेख छैन । 

त्यस्तै लोकान्तरले विश्व बजारमा शुद्ध युरेनियमको मूल्य २० लाख ९ हजार अमेरिकी डलर (२०२१ तिरको विनिमय दर अनुसार करिब १८ करोड रुपैयाँ) पर्ने उल्लेख गरेको छ । लोकान्तरले यो मूल्यको स्रोत अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभी (nbl.doe.gov) भएको उल्लेख गरेको छ । तर, यो वेबसाइट सन् २०१३ देखि नै बन्द भएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सीडीओ एवं सूचना अधिकारी रामप्रसाद सुवेदीले पछिल्लो समय लोमान्थाङ क्षेत्रमा युरेनियम अन्वेषणको काम नभएको बताए । “पछिल्लो समय मुस्ताङमा युरेनियम अन्वेषणको कुनै पनि काम भएको छैन,” सुवेदीले टेकपानासँग भने, “युरेनियम भएको पहाडलाई सुरक्षा दिने भन्ने सन्दर्भमा पनि हाम्रो नेपाल प्रहरीले सधैं जसो गस्ती गर्ने हो । नेपाली सेनाले सुरक्षा दिइरहेको भन्ने सूचना आएको छ भने पनि त्यो भ्रामक हो । तत्कालै युरेनियम बेचेर नेपाल विश्वकै धनी देश बन्ने भन्ने कुनै अध्ययनले देखाएको छैन ।” 

खानी तथा भूगर्व विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले पनि कुनै पनि रिपोर्टले नेपालमा ३५ टन युरेनियम रहेको भन्ने नदेखाएको स्पष्ट पारे । उनले भने, “नेपालमा ३५ टन युरेनियम भेटिएको भन्ने सूचना कताबाट फैलियो थाहा भएन । हामीसँग आधिकारिक डेटा छैन ।” 

उनले अगाडि भने, “मुस्ताङको लोमान्थाङ युरेनियम भण्डारण भएको क्षेत्र हो । हामीसँग युरेनियम परीक्षण गरेर यति मात्रामा छ भनी जाँच गर्ने उपकरण नै छैन । उपकरण नै नभएपछि यति नै हो भन्न सकिंदैन । पछिल्लो समय ठ्याक्कै यति मात्रामा भेटियो भन्ने कुनै तथ्याङ्क छैन । मुस्ताङमा पछिल्लो समय युरेनियम उत्खनन्‌को कुनै काम भइसकेको छैन । हामीसँग ५०० ओटा स्याम्पल छन् । तिनको परीक्षण भइसकेको छैन । परीक्षण नभएसम्म यति मात्रामा छ भन्न सकिंदैन ।”

काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक बिराजसिंह थापाले पनि सुवेदी र बाँस्कोटको कुरालाई जोड दिंदै ठ्याक्कै ३५ टन युरेनियम भेटिएको भन्ने कुनै तथ्याङ्क नभएको बताए । “लगानी बोर्डले पनि प्रतिवेदन सार्वजनिक गरेको छ । ठुलो मात्रामा माथिल्लो मुस्ताङमा डिपोजिट छ भन्ने रिपोर्टमा छ । युरेनियम राम्रो ग्रेडमा १० किलोमिटर लम्बाइ ३ किलोमिटर चौडाइमा फैलिएको छ भन्ने आएको छ । कति मात्रामा छ भन्ने विस्तृत जानकारी आइसकेको छैन,” थापाले भने, “रिपोर्ट नआए पनि यति मात्रामै छ भन्ने अध्ययन भित्र भएको जस्तो पनि लाग्दैन । ठुलो मात्रामा भन्ने छ । तर, ठ्याक्कै यति टन भन्ने छैन ।”

अमृत क्याम्पस काठमाडौंका रसायन शास्त्रका उपप्रध्यापक देवलप्रसाद भट्टराईले पनि आफूलाई नेपालमा ३५ टन युरेनियम भेटिएको वा हुन सक्ने विषयबारे कुनै जानकारी नभएको बताए । “त्रिविबाट युरेनियमको विषयमा पछिल्लो समय अनुसन्धान भएको छैन । नजाँचेर यति मात्रामा छ भन्न सकिंदैन । अहिले कुनै पनि हिसाबले मुस्ताङमा ३५ टन युरेनियम भेटियो भन्न सकिंदैन,” भट्टराईले भने । 

लगानी बोर्ड नेपालले २०१७ मा ‘Mines & Minerals Sector Profile’ (खानी तथा खनिज क्षेत्रको प्रोफाइल) शीर्षकको रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टको पेज पाँचमा लेखिएको विवरणको नेपाली उल्था यस्तो छ, “नेपालको माथिल्लो मुस्ताङ क्षेत्रमा ठुलो मात्रामा युरेनियमको भण्डार फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा यो भण्डार करिब १० किलोमिटर लामो र ३ किलोमिटर चौडा क्षेत्रमा फैलिएको छ र उच्च कोटिको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले पनि यी निष्कर्षहरू पुष्टि गरेको छ ।”

उक्त रिपोर्टको ११ औं पेजमा युरेनियम नेपालमा कहाँ कहाँ पाइन्छ भन्ने उल्लेख छ । 

यो रिपोर्टमा कतै पनि यति नै सङ्ख्यामा नेपाल वा मुस्ताङमा यति मात्रमा युरेनियम छ भन्ने उल्लेख छैन । त्यसैगरी १५ मे २०२० मा खानी तथा भूगर्भ विभागका पूर्व वरिष्ठ भूवैज्ञानिक कृष्णप्रसाद काफ्लेले तयार पारेको ‘MINERAL RESOURCES OF NEPAL AND THEIR PRESENT STATUS’ (नेपालका खनिज स्रोतहरू र तिनको वर्तमान स्थिति) प्रतिवेदनमा पनि नेपालमा यति नै मात्रमा युरेनियम पाइन्छ भन्ने उल्लेख छैन ।

दाबी

मुस्ताङमा ३५ टन युरेनियम भेटियो/ नेपालमा ३५ टन युरेनियम हुनसक्ने । 

दाबीकर्ता

लोकान्तर डटकम, जगत खबर युट्युब च्यानल सहित विभिन्न व्यक्ति तथा संस्थाका नामबाट खोलिएका फेसबुक पेज । 

तथ्य 

नेपालका विभिन्न क्षेत्रमा बहुमूल्य धातु ‘युरेनियम’ छ । तर, ठ्याक्कै यति मात्रामा छ भन्न सकिने अवस्था छैन । मुस्ताङको लोमान्थाङमा सेनाले अहिले गस्ति गरिरहेका छैनन् । सन् २०२१ तिर नेपालमा युरेनियमको व्यापक चर्चा हुँदा सेना खटिएका थिए । तर, अहिले नेपाल प्रहरीले त्यस क्षेत्रको सुरक्षा दिइरहेका छन् । 

निष्कर्ष

लोकान्तर डटकम, सामाजिक सञ्जालका फेसबुक पेज तथा युट्युबरले दाबी गरेको जस्तो मुस्ताङ वा नेपालमा कतै पनि ठ्याक्कै ३५ टन युरेनियम भेटिएको छैन । केही अध्ययनले नेपालमा युरेनियम ठुलो मात्रामा भएको प्रतिवेदन सार्वजनिक गरेपनि अहिले नै यति मात्रामा छ भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा info@techpana .com मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ०:५४