close

क्रिप्टोकरेन्सीबारे जिज्ञासा र समाधानः यसमा लगानी गर्ने कि नगर्ने ?

टेकपाना टेकपाना

चैत २२, २०७९ ९:२४

क्रिप्टोकरेन्सीबारे जिज्ञासा र समाधानः यसमा लगानी गर्ने कि नगर्ने ?

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गर्दै नेपालमा प्रतिबन्ध लगाएको छ र यसको जानकारी दिन पटक पटक सार्वजनिक सूचना समेत निकाल्दै आएको छ । बैंकले हालै मात्र क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन समेत सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सोही प्रतिवेदनमा रहेर क्रिप्टोकरेन्सी सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू र जवाफ यहाँ उल्लेख छ । 

१. क्रिप्टोकरेन्सी भनेको के हो ?

क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रुपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो ।

२. क्रिप्टोकरेन्सी कुन प्रविधिमा आधारित छ ?

वित्तीय मध्यस्थकर्ता (मुद्रा निष्कासन गर्ने केन्द्रीय बैंक वा मौद्रिक अधिकारी) बिनै भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने गरी क्रिप्टोकरेन्सी जारी हुने गर्छ ।

उक्त कार्य गर्न क्रिप्टोकरेन्सीको प्राप्ति तथा खर्चको हिसाब–किताब नेटवर्कमा आवद्ध सम्पूर्ण प्रयोगकर्ताहरूले राख्नु पर्ने हुन्छ  । जब कि विद्यमान वित्तीय व्यवस्थामा केन्द्रिय बैंक वा बैंक तथा वित्तीय संस्थाले राख्ने गर्दछन् ।

नेटवर्कमा आवद्ध सम्पूर्ण प्रयोगकर्ताहरूले हिसाब–किताब राख्ने कार्यमा  ब्लकचेन वा डिस्ट्रिब्युटेड लेजर (Distributed Ledger) प्रविधि प्रयोग गरिएको हुन्छ ।

यस्तो प्रविधिमा कुनै पनि कारोबार भएमा नेटवर्कमा आवद्ध सम्पूर्ण कम्प्युटरलाई उक्त कारोबार बारे जानकारी गराइन्छ । त्यस्ता नयाँ कारोबारहरूको समूह (जसलाई ब्लक समेत भनिन्छ) लाई कुनै तोकिएको सामूहिक सहमतिको माध्यम मार्फत् यकिन गरिन्छ र त्यस्तो यकिन गरिएको ब्लकलाई त्यस अघिका अन्य ब्लकहरूसँग क्रमवद्ध गरिन्छ । प्रत्येक नयाँ ब्लकलाई अघिल्लो ब्लकसँग आवद्ध गरिने हुँदा आफूसँग नभएको रकम खर्च गर्न वा आफूसँग भएको कुनै रकम खर्च गरेपछि पुनः खर्च गर्न नसकिने गरी क्रिप्टोकरेन्सीलाई डिजाइन गरिएको हुन्छ ।

३. कसरी प्राप्त गर्न सकिन्छ क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सीलाई मुख्यतः माइनिङ (उत्खनन्) र खरिद गरी प्राप्त गर्न सकिन्छ । माइनिङ भन्नाले कुनै क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारहरुको हिसाब किताब राख्ने कार्यलाई जनाउँछ । तसर्थ माइनिङलाई भ्यालिडेसन समेत भन्ने गरिन्छ ।

क्रिप्टोकरेन्सीका प्रयोगकर्ताहरू बीच क्रिप्टोकरेन्सी खरिदबिक्री कारोबार हुँदा त्यस्तो कारोबार वास्तविक कारोबार हो भनि भ्यालिडेसन (पुष्टि तथा प्रमाणीकरण) गर्न भ्यालिडेटर तथा माइनरहरू बीच प्रतिस्पर्धा हुने गर्छ र सो कार्यमा सफलता प्राप्त गर्ने भ्यालिडेटर तथा माइनर लाई पारिश्रमिक स्वरुप क्रिप्टोकरेन्सी प्राप्न हुन्छ ।​ 

क्रिप्टोकरेन्सी प्राप्त गर्ने अर्को प्रमुख माध्यम भनेको अन्य पक्षसँग भएको क्रिप्टोकरेन्सी खरिद गर्नु हो । त्यस्तो खरिदबिक्री कार्य क्रिप्टोकरेन्सी एक्सचेञ्ज मार्फत् समेत हुने गर्छ ।

४. क्रिप्टोकरेन्सीमा गरेको लगानी जोखिमपूर्ण हुन्छ ?

क्रिप्टोकरेन्सीलाई मुद्रा भन्ने गरिए पनि यो कुनै सार्वभौम मुलुकले जमानत तथा सुरक्षण राखी जारी गरेको मुद्रा भने होइन । यसलाई निजी क्षेत्रका कुनै निश्चित व्यक्ति तथा समूहले जारी गर्ने भएकाले यसमा गरिएको

लगानीको कुनै प्रत्याभूति हुँदैन । तसर्थ, यसमा गरिएको लगानी जोखिमपूर्ण मानिन्छ ।

५. क्रिप्टोकरेन्सीमा लगानी गरेका लगानीकर्ताले कसरी उच्च प्रतिफल प्राप्त गरेका छन् ?

क्रिप्टोकरेन्सी आफैंले कुनै निहित उपयोगिता प्रदान गर्दैन । त्यसैले यसको मूल्य र सोको लगानीबाट प्राप्त हुने प्रतिफल विशुद्ध रुपले बजारको माग र आपूर्तिको आधारमा मात्र निर्धारण हुन्छ । कतिपय कारोबारहरू जस्तैः जुवा, तास, चिठ्ठा, बाजी आदिबाट समेत कहिले काहीँ प्रतिफल प्राप्त हुने गर्छ । तर त्यस्तो कारोबार तथा लगानी सट्टेबाजी प्रकृतिको हुने हुँदा अत्यधिक जोखिमपूर्ण हुन्छ र लगानी रकम नै डुब्न सक्छ ।

यद्यपि, क्रिप्टोकरेन्सी कारोबारबाट आकर्षक प्रतिफल प्राप्त हुने भन्दै एकतर्फी मात्र अफवाह फैलाउने व्यक्ति तथा समूह सक्रिय रहेका समेत हुन सक्छन् । पछिल्लो समयमा एफटीएक्स जस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो एक्सचेञ्ज टाट–पल्टिनु तथा टेरायूएसडी र लुनाको पतन हुनुले समेत क्रिप्टोकरेन्सीको लगानी जोखिमपूर्ण​ हुने देखाउँछ ।

६. नेपालमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित छ, तर विश्वका अन्य मुलुकहरूमा खुल्ला रहनुको कारण के हो ?

विभिन्न मुलुकहरूले आफ्नो देशका नागरिकले अन्य देशमा गर्ने लगानी, एक देशबाट अर्को देशमा हुने पुँजीको प्रवाह र मौद्रिक व्यवस्थाका लागि फरकफरक प्रबन्ध गरेको पाइन्छ । नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्धित छ । नेपालमा चालू खातालाई पूर्ण परिवर्त्यता दिइएको भए पनि पूँजी खातामा त्यस्तो व्यवस्था गरिएको छैन ।

विश्वभर प्रचलित एवम् सार्वभौम मुलुकले जारी गरेको मुद्रा (जस्तैः अमेरिकी डलर, जापानी येन, बेलायती पाउण्ड आदि) का सम्बन्धमा समेत नेपालमा नियमन तथा नियन्त्रण गर्ने व्यवस्था छ । नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्छन्  ।

साथै, भारु १०० दरभन्दा ठूला नोटहरू नेपालमा प्रतिबन्धित रहेको हुँदा क्रिप्टोकरेन्सी सम्बन्धी नियन्त्रण तथा प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्था अन्तर्गत रहेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको निकाय, यूएनसीटीएडीले क्रिप्टोकरेन्सी विकासशील राष्ट्रहरूलाई हानिकारक हुने र विकासोन्मुख मुलुकहरूमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नुपर्ने धारणा राखेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले एलसाल्भाडोरलाई क्रिप्टोकरेन्सीको कानूनी मान्यता खारेज गर्न सुझाव दिएको छ ।

चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित मुलुकहरूजस्तो खुल्ला गरिएको छैन । साथै, नेपालभित्र कारोबारका लागि नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनु पर्ने विद्यमान कानूनी व्यवस्था छ । त्यसैले निजी क्षेत्रबाट मुद्राको रुपमा कार्य गर्न सक्ने गरी कुनै वस्तु (दृश्य वा अदृश्य) जारी हुने परिकल्पना गरिएको छैन । प्रचलित नेपाली कानूनले उक्त कार्यलाई दण्डनीय मानेको छ ।

७. क्रिप्टोग्राफी, ब्लकचेन र डिस्ट्रिब्युटेड लेजर जस्ता नवीनतम प्रविधिबाट नेपाल र नेपालीलाई बञ्चित गर्नुको कारण के हो ?

क्रिप्टोग्राफी, ब्लकचेन र डिस्ट्रिब्युटेड लेजर जस्ता नवीनतम प्रविधिलाई विभिन्न प्रयोजनमा ल्याउन सकिन्छ । जसमध्ये क्रिप्टोकरेन्सी पनि एक हो । हाल नेपालमा क्रिप्टोग्राफी, ब्लकचेन र डिस्ट्रिब्युटेड लेजर प्रविधिलाई नै प्रतिबन्धित गरिएको भने होइन ।

त्यस्तो प्रविधिको प्रयोग मुद्रा जस्तो कार्य गर्न सक्ने वस्तु (दृश्य वा अदृश्य) बनाउने प्रयोजनका लागि मात्र प्रतिबन्ध लगाइएको हो । नेपालको प्रचलित कानून अनुसार मुद्रा बनाउने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरिएको छ ।

त्यसैले नेपाल राष्ट्र बैंक बाहेक अन्य जो कोहीले र जुनसुकै प्रविधिबाट मुद्रा बनाउने कार्य प्रतिबन्धित रहेको छ । साथै, त्यस्तो मुद्रा बनाउने कार्य जाली तथा नक्कली मुद्रा बनाए सरह हुन जान्छ ।

८. नेपालीहरूलाई आकर्षक लगानीको प्रतिफल दिने लगानीको अवसरबाट किन बञ्चित गरियो ?

क्रिप्टोकरेन्सीमा गरेको लगानी सट्टेबाजी प्रकृतिको लगानी भएको हुँदा सोबाट प्रतिफल प्राप्त हुन पनि सक्छ वा प्रतिफल प्राप्त नभई आफ्नो सम्पूर्ण लगानी रकम (मूलधन) नै डुब्न पनि सक्छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ विद्यमान रहेको हुँदा क्रिप्टोकरेन्सीको हकमा मात्र नभई कुनै पनि प्रकारबाट विदेशमा लगानी गर्न जस्तैः विदेशमा घर–जग्गा खरिद गर्न, विदेशी धितोपत्र खरिद गर्न विदेशी कम्पनीको स्वामित्व ग्रहण गर्न, विदेशी बैंकमा खाता खोल्न आदि समेत प्रतिबन्धित छन् ।

९. क्रिप्टोकरेन्सीले भुक्तानी सम्बन्धी कार्यलाई सरल बनाउँछ कि बनाउँदैन ?

क्रिप्टोकरेन्सीले भुक्तानी सम्बन्धी कार्यलाई सरल नबनाई जटिल बनाउँछ । सार्वभौम मुलुकले एकरुपता​ भएका (स्तरीय) मुद्रा निष्कासन गर्नुपूर्व निजी क्षेत्रबाट एकरुपता नभएका विभिन्न वस्तु एवम् धातु तथा कागजातले मुद्राको कार्य गर्दथ्यो ।

त्यस्ता निजी मुद्राहरू आम सर्वसाधारणमा स्वीकार्य नभए पनि कुनै निश्चित वर्ग वा समुदायमा मात्र स्वीकार्य हुन्थे र मुलतः वस्तु विनिमय व्यवस्थामा जस्तैमिडियम अफ एक्सचेञ्जको कार्य गर्न सरलता हुँदैनथ्यो । हाल विश्वमा करिब २३ हजार प्रकारका क्रिप्टोकरेन्सी प्रचलनमा रहेका छन् ।

त्यसैले नेपाली रुपैयाँ जस्तो नेपालभित्र सर्व–स्वीकार्य मुद्राले गर्ने भुक्तानी तथा फर्छ्यौटको तुलनामा क्रिप्टोकरेन्सीबाट भुक्तानी सम्बन्धी कार्य जटिल हुन जान्छ ।

साथै, मुद्रास्फ्रितिले केही हदसम्म असर गरेतापनि सार्वभौम मुलुकहरूले जारी गर्ने मुद्राले स्टोर अफ भ्यालुको कार्य समेत गर्छ । जसअन्तर्गत, आफूलाई वर्तमान समयमा कुनै वस्तु तथा सेवा खरिद गर्न आवश्यक नभएमा भविष्यमा वस्तु तथा सेवा खरिद गर्न सकिन्छ ।

तर, क्रिप्टोकरेन्सीको मूल्य विशुद्ध रुपमा बजारको माग र आपूर्तिमा मात्र निर्भर हुने तथा धेरै नै उतारचढावपूृर्ण हुने भएकाले क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आई भविष्यमा कुनै पनि वस्तु तथा सेवा खरिद गर्न नसक्ने समेत हुन सक्ने जोखिम रहन्छ ।

१०. क्रिप्टोकरेन्सी र सेन्टरल बैंक डिजिटल करेन्सीमा के फरक छ ?

क्रिप्टोकरेन्सी र सेन्टरल बैंक डिजिटल करेन्सी (सीबीडीसी) मा मुख्यतः कसले त्यस्तो मुद्रा जारी गरेको हो भन्ने विषय नै फरक हुन्छ । क्रिप्टोकरेन्सी निजी क्षेत्रले जारी गरेको हुन्छ भने सेन्टरल बैंक डिजिटल करेन्सी मुद्रा निष्कासन गर्न अधिकारप्राप्त निकायले जारी गरेको हुन्छ ।

क्रिप्टोकरेन्सीमा कुनै पनि जमानत तथा सुरक्षण एवम् प्रत्याभूति हुँदैन  जब कि सीबीडीसीमा मुद्रा निष्कासन गर्ने अधिकारीले नियमानुसार सुरक्षण राखेको हुन्छ र सार्वभौम मुलुकले जमानत तथा प्रत्याभूति समेत प्रदान गरेको हुन्छ ।

११. क्रिप्टोकरेन्सीमा लगानी गरेका नेपाल बाहिर बस्ने नेपालीहरुलाई कसरी कारबाही हुन्छ ?

आफ्नो देशको कानूनको पालना गर्नु असल नागरिकको कर्तव्य हो । कतिपय कानूनी व्यवस्थाहरूको पालना सरकारबाटै गराउने सम्बन्धमा देशका केही सीमा भने हुन सक्छन् । जस्तैः देशका सम्पूर्ण नागरिक आपराधिक क्रियाकलापमा संलग्न हुने हो भने सम्पूर्ण नागरिकलाई सजाय दिलाउने लगायत कारागारमा राख्ने विषय जुन सुकै देशलाई असम्भव प्रायः हुन सक्छ ।

यद्यपि, क्रिप्टोकरेन्सी माथि लागेको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी भई विदेशमा बस्ने नेपालीलाई समेत नेपाल पक्ष रहेका विभिन्न द्वीपक्षीय​ तथा बुहपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत् उपयुक्त कानूनी दायरामा ल्याउन सकिन्छ ।

१२. नेपालमा जलविद्युतको उच्च सम्भावना रहेको तथा माइनिङ गर्दा अत्यधिक ऊर्जा खपत हुने हुँदा

सर्वसाधारण नेपालीलाई माइनिङ सम्बन्धी कार्य गरी आय आर्जन गर्ने अवसरबाट बञ्चित गरिनुको​ कारण के हो ? ​माइनिङ कार्यमा प्रतिस्पर्धा हुने र सफल हुने माइनरले मात्र पारिश्रमिक स्वरुप क्रिप्टोकरेन्सी प्राप्त गर्छन् ।

नेपालमा जलविद्युतको राम्रो सम्भावना भए पनि माइनिङबाट प्रतिफल प्राप्त हुने तथा आय आर्जन हुने भन्ने विषयलाई विभिन्न तत्वले असर गर्छन् । जसमध्ये ऊर्जा पनि एक हो। माइनिङ कार्यबाट प्रतिफल निर्धारण हुने तत्त्वहरूमा सो समयमा सहभागी रहेका तथा भविष्यमा सहभागी हुने माइनरहरूको संख्या, माइनिङमा प्रयोग हुने कम्प्युटरको क्षमता (ह्याश रेट), सफल माइनिङ हुँदा प्राप्त हुने क्रिप्टोकरेन्सीको परिमाण (ब्लक रिवार्ड-ह्याल्भिङ), ऊर्जाको खपत, ऊर्जाको मूल्य, समूह अथवा पुलमार्फत् माइनिङ गरिएको हो भने त्यस्तो पुलिङ कार्यमा लाग्ने खर्च, सफल माइनिङ गरी प्राप्त भएको क्रिप्टोकरेन्सीको बजार मूल्य आदि पर्छन् ।

कुनै वस्तु उत्पादन गर्दा विभिन्न लागत भए जस्तै ऊर्जा माइनिङ कार्यको एउटा लागत पक्ष हो । वस्तु उत्पादन पश्चात् उद्यमीले बिक्री मूल्यबाट खर्च कटाएर नाफा बचाए जस्तै गरी माइनरले प्राप्त गर्ने पारिश्रमिकको मूल्य समेत विभिन्न तत्वहरूमा निर्भर रहन्छ ।

नेपालमा श्रम, ऊर्जा लगायत केही औद्योगिक कच्चा पदार्थहरूको उपलब्धता तथा मूल्यमा तुलनात्मक लाभको अवस्था छ । तर पनि नेपाल विश्व उत्पादनको केन्द्र बन्न नसक्नुमा त्यस बाहेक अन्य विभिन्न तत्वहरूले समेत असर गरेका छन् । त्यस्तैगरी नेपालमा जलविद्युत सम्भावनाको एकल आधारमा मात्र सर्वसाधारण नेपालीहरू

क्रिप्टोकरेन्सीको माइनिङ कार्यमा सहभागी भई आय आर्जन हुन्छ नै भन्ने सुनिश्चितता हुँदैन । साथै, नेपालमा कुनै वस्तु उपभोग तथा प्रयोग गर्न प्रतिबन्ध लगाएर त्यस्तो वस्तु नेपालमा उत्पादन गरी विश्व बजारमा आपूर्ति गर्ने कार्य समेत विद्यमान विश्व व्यापार सम्बन्धी मर्म तथा नैतिकताको सवालमा जायज हुने हुँदैन ।

१३. वर्षौं पुराना ऐनहरूले क्रिप्टोकरेन्सी जस्तो नयाँ प्रविधिमा आधारित सिर्जनालाई कसरी सम्बोधन गर्न सक्छ र त्यस्ता ऐनअन्तर्गतको प्रतिबन्ध कत्तिको समय सान्दर्भिक हुन्छ ?

क्रिप्टोकरेन्सी मध्ये सबैभन्दा पुरानो बिटक्वाइन सन्२००९ देखि प्रचलनमा आएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ हालसम्म १० पटक संशोधन भइसकेको छ । जसमध्ये पछिल्लो पटक वि.सं​ १९ फागुन २०७५ मा संशोधन भएको हो ।

त्यस्तै, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ हालसम्म दुई पटक संशोधन भएको छ, जसमध्ये पछिल्लो संसोधन वैशाख २०७४ मा गरिएको थियो । कतिपय अवस्थामा ऐनमा संशोधन गरिरहन सम्भव नहुने भएकाले ती ऐनअन्तर्गतका नियम, विनियम, निर्देशन, परिपत्र तथा सूचना बमोजिम उपयुक्त व्यवस्था गर्ने गरी प्रबन्ध गरिएको हुन्छ । सोही बमोजिम नेपालमा २९ साउन २०७४ देखि क्रिप्टोकरेन्सीका सम्बन्धमा प्रतिबन्धात्मक व्यवस्था गरिएको हो । 

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ ९:२४