पेट्रोल र विद्युतीय गाडी आफैँमा फरक प्रविधिबाट तयार हुने भएकाले यसको ब्रेकिङ सिस्टम पनि फरक हुन्छ । चालकको हिसाबले हेर्दा ब्रेक लगाउने हो, लाग्यो भन्ने मात्र हुन्छ । तर लगाउने तरिका कस्तो छ, त्यसको इन्जिनियरिङ के छ भन्ने कोणबाट हेर्ने हो भने धेरै नै भिन्नता छ । जस्तो इन्जिन गाडीको हकमा ब्रेक पेडलमा खुट्टाले दबाएपछि ब्रेक बुस्टरले ह्राइड्रोलिक तेल चार ओटै चक्कामा समानान्तर रूपमा पुर्याउँछ । जसले गर्दा गाडीका चक्काहरू रोकिन्छन् ।
तर बिजुली गाडीमा धेरै कुराहरू तारहरूबाट नै सञ्चालित हुन्छन् । ईभीमा दुई प्रकारका ब्रेक हुने गर्छन् । एउटा गाडीको फ्रिक्सन ब्रेक, जुन डिस्कहरूमा लागेको हुन्छ । अर्को ईभीको मोटर आफैमा पनि ब्रेकको रूपमा रहेको हुन्छ । यसलाई रिजेन वा रिजेनरेटिभ ब्रेकिङ पनि भनिन्छ ।
गाडीको इन्डक्सन मोटरमा सञ्चित इनर्जी वास्तवमा काम लाग्ने हुदैँन । ब्रेक लाग्ने बित्तिकै त्यो ऊर्जा, जसलाई काइनेटिक इनर्जी पनि भनिन्छ, रिलिज हुन्छ र खेर जान्छ । ईभीमा त्यही खेर जाने काइनेटिक इनर्जीलाई मोटरले पुन; सञ्चित गरेर इलेक्ट्रिक इनर्जीमा कन्भर्ट गर्छ ।
सामान्यतया जब हामी गाडीको ब्रेक पेडलमा थिच्छौँ, यसले गाडीको गतिबाट उत्पन्न भएको ऊर्जालाई तापमा परिवर्तन गर्छ । यो ऊर्जा पूर्ण रूपमा खेर जान्छ । तर, विद्युतीय गाडीमा रिजेनेरेटिभ ब्रेकले काम गर्छ । यसले ब्रेक लगाउँदा उत्पन्न भएको ऊर्जालाई गाडीको मोटर प्रयोग गरेर विद्युतीय ऊर्जामा बदल्छ, जसले गाडीलाई फेरि चार्ज गर्छ ।
त्यसैले यसको प्राविधिक पक्ष राम्रोसँग बुझ्न जरुरी छ । अहिले नेपालमा धेरै प्रकारका ईभीहरू आइरहेका छन् । हामीले बुझ्नुपर्ने कुरा भनेको सबै ईभी सबै प्रकारका रोडका लागि बनेका हुँदैनन् । विशेष गरी नेपाल आइरहेका गाडीहरू पनि सबै यहाँको रोड अनुकूल छैनन् । नेपालका धेरै रोडहरूमा राम्रो ग्रिपिङ छैन । धेरै सडकहरू पिच गरिएका छैनन् । धेरै खाल्डाखुल्डीहरू भेटिन्छन् । अफरोड पनि चिप्लने खालका हुन्छन् ।
यस्तोमा सवारी उत्पादकले रिजेनेरेटिभ ब्रेक प्रभावकारी बनाएको छ कि छैन भनेर बुझ्नु जरुरी छ । केही सवारी उत्पादकहरूले आफ्नो रिजेन ब्याट्री प्रभावकारी बनाएका पनि हुनसक्छन्, केहीले नबनाएका पनि छन् । जस्तो अहिले धेरै कमर्सियल भ्यानहरू पनि चलिरहेका छन् । हामीले कतिपय सोसल मिडियामा इलेक्ट्रिक भ्यान कन्ट्रोल गर्न गाह्रो भएको जस्ता कुराहरू सुनिरहेका हुन्छौँ । धेरै चालकहरूको गुनासो पनि त्यही नै हुन्छ ।
इन्जिन गाडीबाट ईभीमा जाँदा चालकहरूले धेरै प्राविधिक कुराहरू बुझ्नुपर्ने हुन्छ । पहिलो कुरा त ईभीमा एउटा मात्र पेडल सिस्टम हुन्छ । त्यसको बानी धेरैलाई हुँदैन । धेरैलाई एक्सिलेरेटरको प्रयोग कति गर्ने र त्यसपछि ब्रेकिङ कति प्रयोग गर्ने भन्ने हेक्का हुँदैन । जस्तो कि लगातार ओरालो जाँदा धेरै जसो रिजेन ब्रेक नै प्रयोग गरियो भने त्यसले मोटरलाई हेभी बनाउँछ र फ्रिक्सन ब्रेकको प्रयोग कम हुन्छ । तर फ्रिक्सन ब्रेकमा बढी भर गरियो भने लगातार ब्रेकमा खुट्टा राखी रहनुपर्छ र यसले हिट पैदा गर्ने काम मात्र गर्छ । यदि मोटर राम्रो छैन अथवा त्यसमा रिजेन प्रभावकारी छैन भने यसले चालकलाई गाह्रो बनाउँछ । यसले गर्दा कहिलेकाहीँ ब्रेकफेल हुने सम्भावना पनि हुन्छ ।
यही कारणले गर्दा ईभीमा ब्रेक कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउन जरुरी छ । सार्वजनिक सवारीमा त यो अझ जोखिमपूर्ण हुन्छ । चालकसहित यात्रु पनि बोकेर गाडी आफैँमा हेभी हुन्छ अनि लगातार ओरालोमा जाँदा पूर्ण रूपमा खुट्टाको ब्रेकमा भर पर्नु पर्दा यसले काम गरेन भने दुर्घटना हुनसक्छ ।
यस्तै रिजेन ब्रेकले काम नगर्ने अर्को एउटा कन्डिसन पनि छ । जस्तो कि म एकदमै उचाइबाट ओरालो लागिरहेको छु अनि मेरो गाडीको चार्ज १०० प्रतिशत छ । रिजेनको काम भनेको ब्याट्रीलाई चार्ज दिई रहनु हो । गाडी ओरालोमा गइरहेको छ वा उकालोमा भन्ने कुरासँग भन्दा पनि रिजेनले ब्याट्रीलाई चार्ज दिइरहने कुराले बढी महत्त्व दिन्छ । यस्तोमा तपाईँको गाडी १०० प्रतिशत चार्ज छ भने रिजेनले चार्जको आवश्यकता छैन भनेर यसको प्रभावकारितालाई आफैँ कम गरी दिन्छ ।
यसले गर्दा गाडीको सबै लोड फ्रिक्सन ब्रेकमा जान्छ । त्यसैले ओरालोमा जाँदा सकेसम्म १०० प्रतिशत चार्ज नभएको राम्रो हुन्छ । ताकी रिजेन ब्रेकले पनि काम गरोस् र चालकलाई पनि सहज होस् । केही गाडीहरूमा रिजेन र फ्रिक्सन ब्रेक सेलेक्ट गर्ने अप्सन नै हुँदैन । यसले गर्दा पनि चालकलाई ब्रेक लगाउने बेला गाह्रो हुने गर्छ । त्यसैले जतिसक्यो रिजेन ब्रेक प्रयोग गरेको राम्रो हुन्छ ।
अर्कोतिर ‘यस्तो अवस्थाको विषयमा कम्पनीले केही सोचेको छैन होला र’ भन्ने प्रश्न पनि आउनसक्छ । वास्तवमा त्यो होइन । धेरै जसो कम्पनीहरूले सोचेका हुन्छन् र यस्तो अवस्थाको सामाधान पनि दिइएको हुन्छ । तर सबै कम्पनीले दिँदैनन् । अहिले त बजारमा सस्तादेखि लिएर महँगासम्मका गाडीहरू छन् । यसले गर्दा सबैमा यी कुराहरू ध्यानमा नराखिएको पनि हुनसक्छ । यस्ता कुराहरूमा हामीले नै ध्यान दिनुपर्ने हुन्छ । हुन्डाइकै कुरा गर्ने हो भने हामीले रिजेन सेलेक्सन मोड राखेका छौँ । चालकले आफू अनुकूल ब्रेकिङ सिस्टम सेलेक्ट गर्न सक्नुहुन्छ ।
ब्रेकिङ सिस्टमलाई सपोर्ट गर्ने अर्को फिचर एड्यास (ADAS) पनि हो । अवधारणाकै हिसाबले हेर्ने हो भने एड्यास सिस्टमले अहिलेको गाडीहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले ड्राइभिङलाई थप सुरक्षित र सजिलो बनाउन मद्दत गरेको छ । यसले ड्राइभरलाई अनेक प्रकारका असिस्टेन्स प्रदान गर्छ । विशेष गरी कुनै दुर्घटना हुनबाट रोक्नु नै यसको मुख्य काम हो । यसको मुख्य विशेषता इजी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, अटोमेटिक स्टेरिङ, क्रुज कन्ट्रोल, र सिग्नलिङ सिस्टम लगायत छन् । जसले स्वचालित रूपमा रोड सेफ्टी र ड्राइभिङ इफिसेन्सी बढाउँछ । विशेष गरी, यो सिस्टमले ड्राइभरलाई ड्राइभिङमा नै केन्द्रित हुन मद्दत गर्छ । यसले चालकको सुरक्षा र आरामदायी ड्राइभिङलाई सुनिश्चित गर्छ ।
नेपालको सडक संरचना र ट्राफिक नियमहरू त्यति विचारणीय छैनन् । यस्तोमा एड्यास प्रयोग गर्दा केही समस्या आउन सक्छ। नेपालमा सामान्यत: लेनहरू राम्रोसँग डिफाइन गरिएका छैनन् र सडकहरूको अवस्था पनि राम्रो छैन । जसले गर्दा एड्यासका फिचरहरू पूर्ण रूपमा उपयोग गर्न मुस्किल हुन सक्छ । यद्यपि, यो प्रणाली अति नै अपडेटेड र फाइदाजनक छ । मात्र यति हो कि यसको प्रभावकारिता नेपालको अवस्थासँग मेल खान सकेको छैन ।
अब एड्यासका पनि विभिन्न स्तरहरू छन् । जुन लेभल १ देखि लेभल ५ सम्म रहेका छन् । लेभल १ र लेभल २ मा गाडीको नियन्त्रण धेरैजसो ड्राइभरकै हातमा हुन्छ भने लेभल ५ मा गाडी पूर्ण रूपमा स्वचालित हुन्छ र कुनै पनि ड्राइभरको आवश्यकता पर्दैन । नेपालमा अहिले सामान्यतया लेभल २ वा लेभल २.५ का गाडीहरू प्रयोगमा छन्, जसमा गाडीको नियन्त्रण धेरैजसो चालकमा नै हुन्छ ।
यो प्रणालीको विषयमा कुरा गर्दै गर्दा हामीले सेन्सरहरूको भूमिका पनि बुझ्नुपर्छ । रडार, क्यामेरा र लिडार (लाइट डिटेक्सन एण्ड रेन्जिङ) जस्ता उपकरणहरूले गाडीलाई वास्तविक अवस्थाको विषयमा जानकारी दिन्छ र दुर्घटना रोकथामका लागि स्वचालित तवरमा आवश्यक निर्णयहरू लिन्छ । यी उपकरणहरूको सही क्यालिब्रेसन र अपडेट अत्यन्त महत्त्वपूर्ण हुन्छ । किनभने गलत क्यालिब्रेसनले गलत निर्णयहरू लिँदा गाडीको नियन्त्रणमा समस्या आउन सक्छ ।
एड्यास सिस्टम, विशेष गरी आधुनिक गाडीहरूमा हुन्छ । जुन अत्यन्त महँगो र जटिल पनि हुने गर्छ। त्यसैले यस्ता फिचर भएका गाडीहरूको मूल्य पनि बढी हुने गर्छ । नेपालको सन्दर्भमा, यो प्रविधि अझै सामान्य जनताका लागि महँगो नै हुन सक्छ । त्यसैले, एड्यास सिस्टमको प्रभावकारिता र उपयोगिता नेपाल जस्ता विकासोन्मुख देशमा अझै परीक्षण र परिष्कृत गर्नुपर्ने आवश्यकता छ ।
यस अलावा, प्रयोगकर्ताले एड्यास सिस्टम प्रयोग गर्नका लागि यसको सही प्रयोग र क्यालिब्रेसनमा दक्ष हुनु पनि उत्तिकै जरुरी छ । यदि गाडीको एड्यास सिस्टमका फिचरहरू प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँलाई यसबारे राम्रो जानकारी हुनुपर्छ । जस्तै खराब मौसममा रडार र लिडार सिस्टमले पूर्ण रूपले काम नगर्न सक्छन्। त्यसैले यसलाई निरन्तर अपडेट र सुधार गर्नका लागि यस्ता सिस्टमहरूको सेन्सर र हार्डवेयरमा ध्यान दिनु आवश्यक हुन्छ।
समग्रमा, एड्यास प्रविधि सुरक्षित र स्मार्ट ड्राइभिङको लागि एक महत्त्वपूर्ण कदम हो । तर यसको प्रभावकारिता तब मात्र सम्भव छ, जब यो ठिकसँग क्यालिब्रेट र अपडेट गरिएको छ । नेपालको सडक अवस्थालाई मध्यनजर राख्दै यो प्रविधि अझै केही समयसम्म सामान्य प्रयोगकर्ताका लागि जटिल र महँगो हुनेछ ।