काठमाडौँ । एप्पलले हालसम्म विश्वभर तीन अर्बभन्दा बढी आईफोन बिक्री गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले एक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सन् २००७ मा लन्च भएयता हालसम्म यो आँकडामा आईफोन बिक्री भएको जानकारी दिएका हुन् ।
यो घोषणा एप्पलले आफ्नो आर्थिक वर्ष २०२५ को तेस्रो त्रैमासमा आईफोनको बिक्रीमा दोहोरो अंकको वृद्धि हासिल गरेसँगै आएको हो । आईफोनको यही बिक्री प्रदर्शनले कम्पनीलाई महत्त्वपूर्ण कोसेढुंगा पार गर्न मद्दत गरेको कुकले उल्लेख गरेका छन् ।
एप्पललाई पहिलो एक अर्ब आईफोन बेच्न नौ वर्ष लागेको थियो । सन् २००७ देखि आईफोन बिक्री गर्न थालेको कम्पनीले सन् २०१६ मा यो उपलब्धि हासिल गरेको थियो । त्यसपछिको करिब नौ वर्षमा (२०१६ देखि हालसम्म) थप दुई अर्ब आईफोन बिक्री भएका छन् । पछिल्लो चार वर्षमा मात्रै एक अर्ब आईफोन बिक्री भएका छन् ।
3 billion iPhones sold!
— Greg Joswiak (@gregjoz) July 31, 2025
Thank you to everyone who’s made iPhone such an important part of their lives. I’m incredibly excited for what’s ahead!
एप्पलले यो सफलताको उत्सव मनाइरहँदा कम्पनीले यस वर्ष शेयर बजारमा भने केही सङ्घर्ष गरिरहेको छ । बजार मूल्याङ्कनमा एप्पल हाल एनभिडिया र माइक्रोसफ्ट जस्ता कम्पनीभन्दा पछि पर्दै तेस्रो स्थानमा छ । एनभिडिया र माइक्रोसफ्ट विश्वका दुई यस्ता कम्पनी हुन्, जसको मूल्याङ्कन ४० खर्ब डलर बढी छ ।
शेयर बजारमा उल्लेखनीय गति नदेखिए पनि आईफोनको बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ । सीईओ कुकका अनुसार, यस वर्षको अप्रिलदेखि जुनसम्म आईफोनको बिक्रीमा दोहोरो अंकको वृद्धि भएको छ । यस अवधिमा कम्पनीले कुल ९४ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।
ब्लुमबर्गका विश्लेषक मार्क गुर्मानका अनुसार अमेरिकामा नयाँ ट्यारिफ लाग्ने भएपछि आईफोनको मूल्य तीन हजारदेखि २५ हजार डलरसम्म पुग्ने हल्ला चलेको थियो । यसले गर्दा ग्राहकले हतारमा आईफोन किनेकाले बिक्री बढेको हुन सक्छ ।
Apple should be very pleased with the folks who spread the lies that the iPhone will cost $3000 or $25,000 if made in the U.S. Clearly that helped a ton for the June quarter.
— Mark Gurman (@markgurman) July 31, 2025
यसैबिच एप्पलले आगामी सेप्टेम्बर महिनामा आफ्नो नयाँ ‘आईफोन १७’ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसबारे हालसम्म बाहिरिएका विवरण तथा हल्ला थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन १७, २०८२ १०:१०
