काठमाडौं । पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीका संस्थापकहरुले धमाधम आफ्नो जिम्मेवारी छाड्ने चलन बढेको छ । पछिल्लो समय मात्रै ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद छाड्ने निर्णय गरेका थिए ।
तर, ट्वीटरमा पछिल्लो समय भएको नेतृत्व परिवर्तन अमेजन, माइक्रोसफ्टजस्ता कम्पनीमा यसअघि नै देखिएको छ । यी सबै घटनामा एउटै समानता छ– कम्पनीका स्थापनामा संलग्न व्यक्तिहरु नेतृत्वबाट अलग्गिएका छन् ।
अलिबाबा: चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माले सन् २०१३ बाटै सीईओ पदबाट राजीनामा दिएका थिए । त्यसपछि सन् २०१९ सम्म उनी कम्पनीको कार्यकारी अध्यक्षको रुपमा सक्रिय भए । तर, त्यसयता उनले कम्पनीको जिम्मेबारी छाडेका छन् ।
अमेजन: सन् २०२१ को जुलाईमा अमेजनका संस्थापक जेफ बेजोसले आफू कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद अमेजनकै वेब सर्भिस प्रमुख एन्डी ज्यासीलाई सम्पिए ।
एप्पल: आफू एप्पलको सीईओ बनेको १० वर्ष पुगेको अवसरमा टिम कुकले आगामी दशकमा कम्पनीको नेतृत्व गर्ने ईच्छा नरहेको बताएका छन् ।
बाइटडान्स: टिकटकको स्वामित्व भएको कम्पनी बाइटडान्सका सहसंस्थापक तथा सीईओ ज्याङ यिमिङले केही महिना अघि मात्रै पद छाड्ने घोषणा गरेका छन् । आफूले कम्पनी स्थापना गर्नु अघिकै सोचमा निर्भर रहनु परेको भन्दै उनले कम्पनी छाड्ने घोषणा गरेका हुन् ।
गुगल: सन् २०१५ मा गुगलका सहसंस्थापकद्धय ल्यारी पेज र सर्जी ब्रिन दुवैले सर्च ईन्जिनबाट निष्क्रिय बस्दै मातृ कम्पनी अल्फाबेट सल्हाल्न थाले । त्यो बेला सुन्दर पिचाई गुगलका सीईओ नियुक्त बने भने सन् २०१९ यता पिचाईले नै अल्फाबेटको समेत सीईओको रुपमा नेतृत्व गरिरहेका छन् ।
इन्स्टाग्राम: इन्स्टाग्रामका सहसंस्थापक केभिन सिस्ट्रोम र माइक क्रिगरले सन् २०१८ मा कम्पनी छाडेको घोषणा गरे । फेसबुकको व्यवस्थापन र यसका संस्थापक मार्क जुकरबर्गसँग असन्तुष्ट भएपछि दुवैले कम्पनी छाडेका थिए ।
माइक्रोसफ्ट: माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विभिन्न चरणमा गरी कम्पनीको जिम्मेवारी छाडे । गेट्सले सन् २००० मा सीईओको पद छाडेका थिए भने सन् २००८ मा कम्पनीमा फूल टाइम काम नगर्ने घोषणा गरे । अहिले सत्य नाडाल कम्पनीको सीईओ र अध्यक्षको भूमिकामा छन् ।
पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनी स्थापना गरेकाहरुले पद छाडे पनि मेटाका संस्थापक मार्क जुकरबर्ग भने यस मामिलामा अपवाद हुन् ।
उनले केही अन्तर्वार्तामा पनि कम्पनीको नेतृत्व छाड्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । फेरि, मेटोको शेयर संरचनाका कारण पनि उनलाई कम्पनीबाट अन्य शेयरधनीहरुले हटाउन मिल्दैन ।