काठमाडौं । सामान्यतया मोबाइलको सुरक्षाको लागि हामी मोबाइलमा कभर अर्थात खोल राख्ने गर्छौँ । मोबाइललाई सुन्दर देखाउनको लागि बजारमा विभिन्न प्रकारका कभरहरू पनि पाइन्छन् ।
तर के तपाईंले सोच्नु भएको छ, वास्तवमा मोबाइलमा कभर लगाउनु ठीक कि बेठिक ? आईफोन जस्ता केही साह्रै महँगा फोनहरूले गर्दा प्रयोगकर्ता मोबाइलको सुरक्षाको लागि कभर अथवा केस लगाउने गर्छन् ।
यद्यपि केही मोबाइल कम्पनीहरूले वारेन्टी उपलब्ध गराएका हुन्छन्, जसको आधारमा मोबाइल यदि खसेर बिग्रियो अथवा कतै ठोक्किएर स्क्रयाच नै भयो भने पनि कम्पनीले अथवा रिटेलरले मोबाइलको जिम्मा लिन्छ । तपाईंले फोन खसेर बिग्रेको खण्डमा मोबाइलको डेटा हराउँछ भन्ने चिन्ता पनि गर्नु पर्दैन ।
किनकी अहिले बजारमा थुप्रै क्लाउड स्टोरेजका विकल्पहरू उपलब्ध छन् । जसले तपाईंको डेटा सुरक्षित राखिदिन्छन् । यति भएपछि फोनको सुरक्षाकै लागि भनेर छुट्टै कभर लिइराख्न त्यति आवश्यक पनि देखिँदैन ।
कभर नलगाउँदाका केही फाइदाहरू पनि छन् । सबैभन्दा पहिलो कुरा त मोबाइलको कभरले मोबाइललाई गह्रौं बनाउने गर्छ । यसर्थ कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।
त्यस्तै कम्पनीहरूले अचेल प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै मोबाइलको फिचर मात्र होइन रङ्ग र डिजाइनमा पनि विशेष ध्यान दिएर बनाउने गर्छन् । यसले गर्दा कुनै कभरले तपाईंको मोबाइल छोप्नु भन्दा मोबाइलको डिजाइन देखाउनु सहज हुन्छ ।
अलि फराकिलो रुपमा हेर्ने हो भने हरेक वर्ष करोडौं मोबाइल कभरहरू बन्ने गर्छन् । तपाईंले पक्कै पनि एउटै कभर लामो समयसम्म राख्नु हुन्न होला ।
नयाँ ल्याएपछि पुरानो के गर्ने ? अनावश्यक फोहोरको रुपमा यो जम्मा भइरहेको छ । अन्ततः मोबाइल कभर एउटा रहर मात्र हो ।
यदि तपाईंलाई मोबाइलको कलरमा चित्त बुझेको छैन र तपाईं आफ्नो फोन थप राम्रो अनि फरक देखियोस् भन्ने चाहनुहुन्छ भने मोबाइल कभरको वैकल्पिक उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ । मोबाइल कभरको ठाउँमा तपाईंले मोबाइल स्किन, डिकल्स (स्टिकरहरू) अथवा स्क्रिन प्रोटेक्टर प्रयोग गर्न पनि सक्नुहुन्छ ।