काठमाडौं । क्रोममा काम गर्दा गर्दै कहिलेकाहिँ कतै जानु परेर हतारमा सबै ट्याब बन्द गर्ने बानी छ ? अथवा एउटा ट्याब बन्द गर्न खोज्दा अर्को ट्याब बन्द हुने कुराले दिक्क हुनुहुन्छ ? चिन्ता नगर्नुहाेस्, अब गुगललले यसको समाधान छिट्टै नै ल्याउँदैछ ।
हुन त झुक्किएर सबै ट्याब बन्द हुँदा हिस्ट्रीमा गएर आफूलाई चाहिने ट्याब पुनः खोजेर ल्याउन त सकिन्छ । तर यसको समाधानका लागि गुगलले एउटा नयाँ फिचर ल्याउँदैछ, जसमा सबै ट्याब बन्द गर्न खोज्दा क्रोमले एकचोटी तपाईंको अनुमति माग्नेछ ।
यो समयलाई सदुपयोग गरेर तपाईंले आफूलाई आवश्यक ट्याब खुल्लै राख्न सक्नुहुन्छ । क्रोम १०० भर्सनमा यो फिचर उपलब्ध हुनेछ ।
यसको बेटा भर्सन क्यानरी च्यानलको भर्सनमा देखापरेको छ । अब क्रोम १०० भर्सनको अपडेटमा यो फिचर डिफल्ट भएर आउँछ वा हामीले हाम्रो आवश्यकता अनुसार सेटिङमा मिलाउन सक्छौं भन्ने चाहिँ आउने दिनमा नै थाहा होला ।
यद्यपि क्यानरीमा आएका सबै फिचर उपलब्ध हुनेछ वा छैन भन्ने कुरामा आशंका नै छ । यो फिचर भने क्रोमको अर्को अपडेटमा उपलब्ध हुने अपेक्षा गरिएकाे छ ।