काठमाडौं । २०१८ को फेब्रुअरी महिनामा नेटफ्लिक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिड ह्याटिङ्सले भारतको दिल्लीमा भएकाे ‘ग्लोबल बिजनेस समिट’ मा नेटफ्लिक्सका सबैभन्दा धेरै सब्सक्राइबर भारतबाट हुने बताएका थिए ।
भारतको सस्तो र विस्तार हुँदै गएको इन्टरनेट सेवाका कारण नेटफ्लिक्सको सब्सक्राइबर भारतबाट मात्रै १० करोड हुने उनले बताएका थिए । यद्यपि सो घोषणाको तीन वर्षपछाडि यस्तो देखिएन ।
गत हप्तामात्र सम्पन्न ‘इन्भेस्टर कल’ मा उनले भारतमा आफूहरूले सोचेजस्तो सफलता पाउन नसकेको बताएका छन् । करिब दुई अर्ब डलर खपत हुने स्ट्रिमिङ बजारको करिब १० करोड सब्स्काइबर छन् ।
यस्तोमा छ वर्षअघि सुरु भएको नेटफ्लिक्सलाई अगाडि आउन अझै पनि चुनौतिपूर्ण छ । भारतमा नेटफ्लिक्सको करिब ५५ लाख सब्सक्राइबर मात्र छन् ।
जब कि डिस्नी र हटस्टारको गरेर कूल चार करोड ६० लाख सब्सक्राइबर र अमेजन प्राइम भिडियोको एक करोड ९० लाख सब्सक्राइबर छन् ।
सन् २०१८ मा नेटफ्लिक्सले भारतीय बजारमा स्याक्रेड गेम्स, ग्रिटी ग्याङ्गस्टर जस्ता केही भारतिय मौलिक फिल्म पनि बनाएको थियो । जसको लोकप्रियताका कारण भारतीय बजारमा नेटफ्लिक्सको बजारको भविष्य राम्रो छ भनेर समिक्षकहरूले उक्त समयमा बताएका पनि थिए ।
यद्यपि वास्तविकतामा अनुमान गरे जस्तो हुन पाएन । मनोरञ्जन क्षेत्रको लागि भारत एउटा ठूलो बजार हो । भारतको करिब २० करोड परिवारको घरमा टिभी सेट छ र उनीहरू टिभीका लागि प्रति महिना चार डलरभन्दा पनि कम पैसा तिर्छन् ।
उपभोक्ताको लागि मनोरञ्जनको मुख्य क्षेत्र भनेको फिल्म, खेल तथा समाचार नै हुन् । पछिल्लो समयमा भारतीय जनताले सत्य कथामा आधारित शोहरू पनि हेर्न थालेका छन् ।
गत वर्ष सोनी लिभबाट प्रसारित स्क्याम १९९२ निकै नै चर्चामा रहेको शो बन्न पुगेको थियो । यो बजारमा आफ्नो लोकप्रियता जोगाउन नेटफ्लिक्सले ६० प्रतिशतसम्म मूल्यमा छुट पनि दिएको थियो ।
त्यस्तै मोबाइल प्लानको लागि मात्र प्रति महिना १४९ भारु पर्ने गरी अफर पनि नेटफ्लिक्सले दिएको छ ।
नेटफ्लिक्सले भारतीय बजारलाई लक्षित गर्दै ५० भन्दा बढी फ्लिम निर्माणमा करिब ४० करोड डलर खर्च गरेको छ । जसमध्ये ३० भन्दा बढी हिन्दी भाषामा नै निर्माण गरिएको छ । तर यी फ्लिमले सोचेजस्तो बजार पाएनन् ।
केही डेटिङ सिरिजहरूले राम्रो स्थान पाए पनि विश्वभरी नै तहल्का मच्चाएको स्क्विड गेम जस्ता सिरियलहरूको तुलनामा ती सिरिजहरूको लोकप्रियता धेरै देखिएन ।
भारतीय विज्ञहरू नेटफ्लिक्सको बारेमा भारतीय उपभोक्तामाझ अझै पनि विदेशी सेवा हो र महँगो छ भन्ने धारणा रहेको बताउँछन् ।
यो विषयमा नेटफ्लिक्सको प्रतिस्पर्धी कम्पनी डिस्नी प्लस अगाडि देखिन्छ । क्रिकेटको एउटा ठूलो बजार भएको भारतमा डिस्नी प्लसले आईपीएल लगायत अन्य खेलका लागि डिजिटल ब्रोडकास्टको अधिकार लिएको छ ।
त्यस्तै अमेजन प्राइमले १० वटा विभिन्न भाषामा कार्यक्रमहरू प्रसारण गरिरहेको छ । स्ट्रिमिङमा आएका करिब ४० प्रतिशत हिन्दी फ्लिमहरू अमेजन प्राइमबाट नै प्रसारण भइरहेका छन् ।
यही वर्षदेखि अमेजन प्राइमले न्युजिल्यान्डमा भइरहेको क्रिकेट म्याचको पनि प्रसारण सुरु गरेको छ । नेटफ्लिक्सले भारतीय बजारका लागि अर्बौं रुपैयाँ खर्च गर्यो ।
तर यसको उपलब्धि भने उसले पाउन सकेन । नेटफ्लिक्सको अर्को चुनौती भनेको भारतको आफ्नै ७५ भन्दा बढी स्ट्रिमिङ सेवा हुन् ।