close

कस्तो होला वाई-फाई सेभेन

टेकपाना टेकपाना

फागुन ४, २०७८ १९:४४

कस्तो होला वाई-फाई सेभेन

काठमाडौं । वाई-फाई अझ धेरै प्रभावकारी हुँदैछ । बजारमा आउने धेरै फोन तथा ल्यापटप वाई-फाईको अपग्रेडेड भर्सनसहित उपलब्ध हुँदैछन् । हालसम्म २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई अहिले सिक्स गिगाहर्जमा उपलब्ध हुँदैछ ।

यसैबीच वैज्ञानिकहरु वाई-फाई सेभेनको तयारीमा जुट्दैछन् । वाई-फाईको यो नयाँ प्रविधिबाट इन्टरनेटको गति ठूलो मात्रामा वृद्धि हुने बताइएकाे छ । त्यस्तै वाईफाई कनेक्सन पनि अझ विश्वसनीय हुनेछ र वाईफाई वेभको दूरी पनि निकै फराकिलो हुने चर्चा छ ।

फाइभजीजस्तै वाई-फाई सेभेनले लाइभ स्ट्रिमिङ र गेमिङलगायतका काममा लेटेन्सी घटाउने छ । लेटेन्सी भन्नाले राउटर वा एक्सेस प्वाइन्टबाट तपाईंको डिभाइससम्म र डिभाइसबाट राउटरसम्म यात्रा गर्न सिग्नलले लिएको समयलाई बुझाउँछ ।

वाई-फाई सेभेनको नयाँ ३२० मेगाहर्ज च्यानलहरूले वाई-फाई सिक्स र यसका सात १६० मेगाहर्ज च्यानलहरूमा उल्लेखनीय गति दिने बताइएको छ ।

यद्यपि प्रत्येक डिभाइसले यी फराकिलो च्यानलहरूलाई सपोर्ट नगर्न पनि सक्छन् । वाई-फाई सेभेनले स्पासियल स्ट्रिमहरूको संख्या १६ सम्म बढाउनेछ ।

त्यस्तै यो वाई-फाई प्रविधिले ४६ जीबीपीएससम्मको अधिकतम डेटारेट प्रदान गर्ने अनुमान इन्टेलले गरेको छ, जुन वाईफाई सिक्सभन्दा पाँच गुणाले बढी हो ।

वाई-फाई सेभेनको तीव्र गति, कम लेटेन्सी र सुधारिएको इन्टरफेरेन्स ह्यान्डलिङ क्षमताले यसलाई निकै अघि राख्ने अपेक्षा गरिएको छ । तर प्रयोगकर्तालाई सामान्य प्रयोजनको लागि भने यो खासै उपयोगी नहुन पनि सक्छ ।

एआर/भीआर र गेम स्ट्रिमिङजस्ता नयाँ प्रविधिमा वाई-फाई सेभेनमार्फत कम ल्याटेन्सी र स्थिर कनेक्सनको लाभ उठाउन सकिनेछ ।

पछिल्लो समय मेटाभर्स, एआर भर्चुअल रियालीटी जस्ता प्रविधि निकै चर्चामा छन् । जसका लागि बलियो र लो लेटेन्सी भएको नेटवर्क आवश्यक पर्छ । त्यो हुँदा वाई-फाई सेभेनको विकल्प नहुने चर्चा गरिएकाे छ ।

हालै अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले समेत वाई-फाई सेभेनका लागि आवश्यक चिप निर्माणको काम अघि बढाएको छ ।

कम्पनीका अनुसार वाई-फाई सेभेनले वाई-फाई सिक्सको तुलनामा डबल स्पिडका साथै कभरेज प्रदान गर्नेछ । त्यतिमात्रै नभएर वाई-फाई सेभेनको लेटेन्सीमा पनि एकरूपता हुने हुँदा यो बढी प्रभावकारी हुने दावी गरिएको छ ।

त्यो हिसाबले सन् २०२३ मा ग्राहकलाई उपलब्ध गराउने गरी वाई-फाई सिक्सका लागि आवश्यक चिप निर्माणमा काम गरिरहेको जनाइएको छ ।

हुन त यसअघि मिडिया टेकले पनि सन् २०२३ भित्र वाई-फाई सेभेनका लागि आवश्यक चिप निर्माण गरिसक्ने बताएको थियो । विश्व बजारमा वाई-फाई सिक्सको व्यवसायिक सुरु भएको धेरै समय भएको छैन ।

यस्ताेमा वाई-फाई सेभेनको चर्चा चल्नुले वाई-फाई सिक्सको लामो भविष्य भने देखिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२