close

‘इथिकल ह्याकिङको विषयमा गलत सूचना फैलिरहेको छ’

टेकपाना टेकपाना

असार ४, २०७९ १९:३४

‘इथिकल ह्याकिङको विषयमा गलत सूचना फैलिरहेको छ’

अमिर गुरुङ /-

प्रविधिको व्यापक विकास भइरहेको अवस्थामा साइबर सुरक्षासम्बन्धी जानकारी राख्नु वा थाहा पाउनु पनि उत्तिकै आवश्यक छ । साइबर सुरक्षाको एउटा महत्त्वपूर्ण पाटो हो ‘इथिकल ह्याकिङ’ । ह्याकिङ शब्द हामीले सुन्दै आइरहेका छौं । तर यसको विषयमा अझै पनि आममानिसमा गलत धारणा रहँदै आएको छ ।

सामान्यतया ह्याकिङ भन्ने बित्तिकै नेपालमा अझै पनि कसैको फेसबुक आईडी ह्याक गर्नु अथवा कुनै कम्पनीको सिस्टम ह्याक गरेर केही गलत काम गर्नु भन्ने नै बुझिन्छ । वास्तवमा ह्याकिङको विषयमा हाम्रो समाजमा गलत धारणा स्थापित भएको छ ।

आजको प्रविधिमा अभ्यस्त समाजमा ह्याकिङको ठूलो महत्त्व हुन्छ, विशेषगरी इथिकल ह्याकिङको । ह्याकिङको अवधारणा नै गलत प्रचार भइरहेको अवस्थामा इथिकल ह्याकिङलाई बुझ्न त्यति नै कठिन छ ।

एकातिर आम मानिसमा ह्याकिङ सम्बन्धी धेरै ज्ञान छैन भने अर्कोतिर ह्याकिङ सिक्न चाहने  र सूचना प्रविधि क्षेत्रमा रुचि भएका मानिसहरूको जमात ठूलो छ ।

यो दुवै जमातलाई समेट्ने गरी ‘ओपसेक बुक टिम’ ले ‘इथिकल ह्याकिङ’ नामक ई-बुक (विद्युतीय किताब) तयार गरेको हो ।

बजारमा इथिकल ह्याकिङ सम्बन्धित धेरै किताबहरू छन् । यद्यपि नेपाली भाषामा यस्ता किताबहरू अथवा कुनै रिफ्रेन्स किताब नै पाउन भने निकै मुश्किल छ । यसैले इथिकल ह्याकिङको बारेमा जानकारी दिन नेपाली भाषाको यो किताब सार्वजनिक गरेका हौं ।

यो किताब निःशुल्क डाउनलोड गर्न सकिन्छ । कुनै व्यावसायिक प्रयोगजन नभई इथिकल ह्याकिङ सिक्न चाहनेका लागि इथिकल ह्याकिङ किताबको पहिलो भोल्युम सार्वजनिक गरिएको छ ।

किताबको यो पहिलो भोल्युम विशेषगरी ह्याकिङ कसरी हुन्छ भन्ने कुराको वस्तुगत ज्ञानमा मात्र केन्द्रित छ । यसमा चारवटा अध्याय छन् जसमा चरणबद्ध रुपमा ह्याकिङ कहाँबाट सुरु हुन्छ र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ ।

किताबको पहिलो भोल्युममा रिकोनसेन्स (Reconnaissance), नेटवर्क स्क्यानिङ (network scanning), गेनिङ एक्सेस भिया पासवर्ड क्रयाकिङ (gaining access via password cracking) र मेन्टेनिङ एक्सेस (maintaining) गरी चार अध्यायहरू छन् ।

यो सबै पेनिट्रेशन टेस्टिङ अथवा ह्याकिङ प्रकृयाहरू हुन । यो किताबमा यो सबै प्रक्रिया कसरी सञ्चालन हुन्छन् भनेर उदाहरण सहित प्रस्तुत गरिएको छ । हामीले सके सम्म यसमा नेपाली भाषालाई समेट्ने प्रयास गरेका छौं ।

यद्यपि धेरैजसो शब्दहरूको नेपाली रुपान्तरण नभएको कार‌ण उक्त शब्दहरूलाई अंग्रेजीमा नै राखिएको छ ।

नेपालमा इथिकल ह्याकिङबारे पढ्नको लागि नेपाली भाषामा नै स्रोत साधनहरू कम छन् । यही कमी पूरा गर्न यो किताब तयार गरिएको हो । साथै ह्याकिङमा इच्छुक व्यक्तिहरू अथवा सूचना प्रविधि सम्बन्धित रुचि राख्ने व्यक्तिका लागि यो किताब निकै नै उपयोगी हुनेछ ।

हामीले केही पनि नजानेका तथा केही ज्ञान भएका दुवै प्रकारको व्यक्तिलाई लक्षित गरी यो किताब तयार गरिएको भए पनि पहिलो भोल्युम सबैजनाले नबुझ्न पनि सक्छन् । यसमा इथिकल ह्याकिङ सम्बन्धी कुनै सैद्धान्तिक कुरा समेटिएको छैन । यद्यपि रुचि भएका व्यक्तिका लागि भने यो उपयोगी हुनेमा हाम्रो टिमले विश्वास लिएको छ ।

ह्याकिङका पनि विभिन्न चरणहरू हुन्छन्, नेटवर्क ह्याकिङ, वेब ह्याकिङ, डिभाइस ह्याकिङ लगायतका विभिन्न प्रकारका ह्याकिङहरू हुने गर्छन् ।

यो किताबले भने ह्याकिङको सुरुको चरणलाई समावेश गरेको छ, जसले कुनै एउटा प्रणाली ह्याकिङ हुँदा कुन कुन चरण पार गरेर जानुपर्छ भन्ने विषयमा जानकारी दिएको छ ।

आगामी भोल्युमहरूमा भने किताबको सामग्रीमा टिमले थप काम गर्नेछ । सबैभन्दा मुख्य कुरा त हामीले ह्याकिङको विषयमा प्रचलित धारणालाई परिवर्तन गर्नुपर्नेछ ।

साइबर सुरक्षामा ह्याकिङको महत्त्व के छ भन्ने कुरामा पनि मानिसहरूलाई सचेत गराउनु उत्तिकै आवश्यक छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा जे आयो, त्यही नै विश्वास गर्ने हाम्रो समाजमा इथिकल ह्याकिङको प्रचार सकारात्मक रुपमा अझै पनि हुन सकेको छैन ।

अर्को कुरा भनेको विश्वमा इथिकल ह्याकिङको क्षेत्रमा नेपालको स्थान के छ भन्दा पनि नेपालले यो क्षेत्रमा कति कदम चालेको छ भनेर थाहा पाउनु जरुरी छ ।

वास्तवमा नेपाल इथिकल ह्याकिङको सुरुवाती चरणमा नै छ । हामी भर्खर सुरु गर्दैछौं र लामो यात्रा अझै बाँकी छ ।

यो यात्रा हामीले यही किताबमार्फत सुरु गरेका छौं । कोभिडले गर्दा लकडाउनमा पाएको फुर्सदमा फुरेको सोच हो यो । यो किताब तयार गर्न लागेका सबै सूचना प्रविधि क्षेत्रबाट छैनौं । तर यसलाई हामीले सक्ने जति तयार गरेका छौं । भोलिको दिनमा यो थप परिष्कृत भएर सार्वजनिक हुनेछ ।

साथै यो किताबलाई प्रोत्साहनको रुपमा कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा आएको उक्त सहयोग राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ ।

याे किताब यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३