close

आकाशमा ३५ हजार फिट माथि उड्ने हवाईजहाजमा कसरी चल्छ इन्टरनेट ?

टेकपाना टेकपाना

भदौ १९, २०७९ १९:१३

आकाशमा ३५ हजार फिट माथि उड्ने हवाईजहाजमा कसरी चल्छ इन्टरनेट ?

काठमाडौं । धेरैजसो अन्तर्राष्ट्रिय उडानहरूमा हवाईजहाजभित्र नै इन्टरनेटको सुविधा हुन्छ । यात्रुले इन्टरनेटमार्फत चलचित्र हेर्ने, अनलाइन किताब पढ्ने, गीत सुन्ने लगायतका कामहरू सहजै गर्न सक्छन् ।

इन-फ्लाइट वाई-फाईको व्यवस्था धेरैजसो लामो अन्तर्राष्ट्रिय उडानहरूमा उपलब्ध हुने गरेको छ । तर यस्तो सुविधा प्राय सशुल्क नै हुने गर्छ ।

यसका लागि फरकफरक कम्पनीले फरकफरक शुल्क लिने गर्छन् । हवाई क्षेत्रमा इन-फ्लाइट इन्टरनेट सेवा उपलब्ध हुन थालेको करिब दुई दशक पुग्न लागिसकेको छ ।

विमान निर्माता कम्पनी बोइङले अप्रिल २००० मा कन्नेक्सन नामक आफ्नो इन-फ्लाइट सेवा घोषणा गरेको थियो । यो सेवा अन्तर्गत सन् २००४ मा म्युनिख-लस एन्जल्स लुफ्थान्साको विमानमा इन-फ्लाइट इन्टरनेट सेवा सुरुवात गरिएको थियो । 

यद्यपि बोइङले बजार तयार नभएको भन्दै यो सेवा बन्द गरेको थियो । पछिल्लो समयमा भने विभिन्न उपकरणहरूको विकास र प्रविधिको बदलिँदो स्वरूपले यो सेवालाई सहज बनाएको छ । घर अथवा अफिसमा उपलब्ध हुने इन्टरनेटको तुलनामा इन-फ्लाइट सेवा त्यति प्रभावकारी नभए पनि उडानमा यो सेवाले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कसरी चल्छ इन-फ्लाइट इन्टरनेट ? 

इन-फ्लाइट इन्टरनेट विशेषगरी दुई प्रकारको हुने गर्छ । यसको पहिलो प्रकार हो एयर-टु-ग्राउन्ड (ATG)। एटीजी विमानमा जडान गरिएको एन्टेनामा निर्भर हुन्छ । उक्त एन्टेनाले जमिनमा बनाइएका नेटवर्क टावरहरूबाट सिग्नल लिएर विमानमा इन्टरनेट उपलब्ध गराउँछ ।

सन् २००८ मा इन्टेलस्याटले अमेरिकन एयरलाइन्सका विमानहरूमा एटीजी तरिकाबाट इन-फ्लाइट इन्टरनेट उपलब्ध गराएको थियो । हाल यो कम्पनीले आफ्ना एक हजार भन्दा बढी विमानहरूमा यो प्रविधि प्रयोग गरिरहेको छ ।

यो प्रविधिको एउटा प्रमुख कमजोरी भनेको जमिनमा मोबाइल फोन सेवा जस्तै यो पनि टावरको घनत्व र कनेक्टिभिटीमा निर्भर हुन्छ । त्यसैले ग्रामीण क्षेत्र, मरुभूमि वा ठूला खोला/समुन्द्रमाथिबाट उडान गर्दा कनेक्टिभिटीमा समस्या आउने सम्भावना हुन्छ ।

यो प्रविधिमा इन्टरनेटको अधिकतम गति पाँच एमबीपीएस हुन्छ । यसले गर्दा कनेक्टिभिटी त्यति भर पर्दो हुँदैन । यसै कारणले गर्दा पनि धेरैजसो वायुसेवा कम्पनीहरू स्याटलाइटमा आधारित सेवा जडान गर्नतर्फ आकर्षित छन् ।

एटीजीको तुलनामा स्याटलाइट मार्फत जडान गरिने इन्टरनेटले राम्रो कनेक्सन दिन्छ । यसले गर्दा पनि यो बढी प्रभावकारी छ । इन्टेलस्याट आफैँले पनि ५० भन्दा बढी कम्पनीहरूलाई स्याटलाइटमा आधारित इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

ती मध्ये अलास्का, अमेरिकन, डेल्टा, युनाइटेड, एयर क्यानडा, ब्रिटिश एयरवेज र क्याथे प्यासिफिक पनि पर्दछन् । इन-फ्लाइट इन्टरनेटको लागि स्याटलाइट अर्को उपाय हो । 

विश्वभरका धेरै वायुसेवा कम्पनीहरूलाई उच्च-गतिको इन्टरनेट जडानको लागि स्याटलाइट सेवा दिने अर्को कम्पनी ‘भायास्याट’ पनि हो । यो कम्पनीले सन् २०१३ मा ‘जेटब्लू’ नामक सेवाबाट आफ्नो सेवा सुरु गरेको थियो । अहिले विश्वभर एक दर्जन भन्दा बढी विमान कम्पनीहरूले भायासेटको सेवा लिइरहेका छन् । 

स्याटलाइट जडान भएका विमानमा १०० एमबीपीएस तथा प्रति यात्री उपकरण लगभग १५ एमबीपीएसको स्पिड पाउन सकिन्छ । धेरै कम्पनीहरूले आफ्नो विमान र उडानको रुटको आधारमा इन-फ्लाइट इन्टरनेटको तरिका प्रयोग गर्ने गर्दछन् । 

पछिल्लो समय एलन मस्कको स्पेसएक्स कम्पनी पनि यो क्षेत्रमा प्रवेश गरेको छ । यसै वर्षको सुरुमा नै कम्पनीले आफ्नो स्याटलाइट स्टारलिङ्कको नेटवर्क मार्फत उच्च-गतिको इन्टरनेट उपलब्ध गराउन हवाई एयरलाइन्ससँग सम्झौता गरिसकेको छ । 

चुनौती र अवसरहरू

अहिले पनि इन-फ्लाइट इन्टरनेट र जमिनमा उपलब्ध हुने इन्टरनेट बीच ठूलो अन्तर छ । पछिल्लो समयमा इन-फ्लाइट इन्टरनेट सुधार हुने क्रममा छ ।

अहिले उपलब्ध हुने इन-फ्लाइट इन्टरनेटमार्फत मेसेज गर्न, लाइभ टिभी हेर्न तथा भिडिओ स्ट्रिमिङ गर्न पनि सकिने भएको छ । यद्यपि जमिनको जस्तै गति उपलब्ध गराउन भने अहिले पनि सेवा-प्रदायकका लागि चुनौतीकै विषय छ ।

मोबाइल टावरहरूले सामना गर्ने केही समस्याहरूलाई स्याटलाइटले समाधान त गरेको छ तर बढ्दो मागलाई कायम राख्न भने अझै पनि चुनौतीपूर्ण रहेको विज्ञहरूको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३