काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका लागि सम्झौता भएको छ।
शुक्रबार भएकाे सम्झौतामा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात अब स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकहरुले नेपालपे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी नेपालपे क्युआर उपलब्ध रहेका मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहले पनि स्मार्ट क्यूआरका मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् ।
हाल नेपालपे क्युआरमा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध रहेका छन् । नेशनल पेमेन्ट स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।