close

नेपाली वैज्ञानिक तथा प्राविधिज्ञको तथ्याङ्कसहित सञ्चालनमा आयो नयाँ वेबसाइट

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक ४, २०७९ १७:३०

नेपाली वैज्ञानिक तथा प्राविधिज्ञको तथ्याङ्कसहित सञ्चालनमा आयो नयाँ वेबसाइट

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले वैज्ञानिक तथा प्राविधिज्ञहरुकाे तथ्याङ्कसहित नयाँ वेबसाइट सञ्चालनमा ल्याएकाे छ । शुक्रबार एक कार्यक्रम गर्दै नास्टले whoiswho.nast.gov.np नामकाे वेबसाइट सार्वजनिक गरेकाे हाे ।

विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत वैज्ञानिक तथा प्राविधिकहरुको तथ्याङ्क जाेकाेहीले सहज रुपमा फेला पार्न सकुन् भन्ने उद्देश्यसहित वेबसाइट सञ्चालनमा ल्याएकाे नास्टले जनाएकाे छ । कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पानसमा दियाे बालेर कम्प्युटरमा बटन प्रेस गरी वेबसाइट सार्वजनिक गरे ।

साे अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जाेशी, नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा. भाेजराज घिमिरे, महिला वैज्ञानिक मञ्च नेपालकी अध्यक्ष प्राडा. अञ्जना सिंह, नास्टका विभिन्न शाखाका कर्मचारी, वैज्ञानिक र विद्यार्थीहरुकाे उपस्थिति थियाे ।

कसरी प्रयाेग गर्ने वेबसाइट ?

यसअघि ‘Who is Who Science, Technology and Innovation of Nepal, PhD’ नामक पुस्तक सार्वजनिक गरेर नास्टले नेपाल सरकार, वैदेशिक नियाेग, विश्वविद्यालय तथा अन्य अध्ययन अनुसन्धानका कार्य गर्ने विभिन्न निकायहरुलाई तथ्याङ्क उपलब्ध गराउँदै आएकाे थियाे ।

अब याे नयाँ वेबसाइटमा जाेकाेहीले कुनै विषय टाइप गरेर खाेज्दा सम्बन्धित विज्ञहरुकाे नाम देखापर्छ । साथै वेबसाइटमा विज्ञकाे व्यक्तिगत विवरण, शैक्षिक विवरण, कामकाे विवरण आदि उपलब्ध गराइएकाे छ । वेबसाइटमा हालसम्म नास्टकाे who is who मा आबद्ध भएका वैज्ञानिकहरुकाे विवरण हेर्न सकिन्छ ।

कुनै पनि विज्ञसँग सम्पर्क गर्न ‘advance’ सर्च प्रयाेग गर्नुपर्ने हुन्छ । बायाँ माथि भएकाे मेनुभित्र विषय सर्च गर्दा विज्ञहरुकाे सूची आउने छ । याेसँगै विज्ञ नामकाे लाइनमा रहेकाे मेसेज बक्सकाे चिन्ह आकारमा क्लिक गरियाे भने विज्ञलाई सम्पर्क गर्नका लागि नयाँ पेज देखापर्छ । 

उक्त पेजबाट विज्ञलाई आफ्नाे सन्देश अथवा प्रस्ताव लेखेर पठाउन सकिन्छ । साथै नयाँ वैज्ञानिकहरुले यही वेबसाइटमा who is who मा भाग लिन सक्नेछन् । यसका लागि हाेम पेजकाे तल रहेकाे ‘अप्लाई मेम्बरशिप’ मा क्लिक गरेर आवश्यक विवरण भरेर नास्टमा पठाउन सकिन्छ ।

हाल who is who मा पीएचडी (विद्यावारिधि) गरेकाहरुकाे मात्र तथ्याङ्क भएकाे साथै औपचारिक अध्ययन नगरी नयाँ आविष्कार गरेका वैज्ञानिकहरु नसमेटिएकाले यी कुरालाई सुधार गर्नुपर्नेमा वक्ताले जाेड दिएका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १७:३३