close

परीक्षाको मिति बिर्सिँदा १ वर्षको पढाई गुमाएका बाजुराका कुशल यसरी बने ‘आईओई इन्ट्रान्स टपर’

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक २५, २०७९ १९:१९

परीक्षाको मिति बिर्सिँदा १ वर्षको पढाई गुमाएका बाजुराका कुशल यसरी बने ‘आईओई इन्ट्रान्स टपर’

काठमाडौं । बाजुराका कुशल कार्की त्रिभुवन विश्वविद्यालयकाे इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको यस वर्षको प्रवेश परीक्षामा पहिलाे स्थानमा नाम निकाल्न सफल भएका छन् । करिब १० हजार विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा कुशल सबैभन्दा उत्कृष्ट बनेका हुन् ।

आईओईले कम्प्युटरकाे प्रयाेग मार्फत प्रवेश परीक्षा लिने गर्छ । जसले गर्दा उक्त परीक्षाको नतिजा  चाँडै प्रकाशित हुन्छ । कात्तिक २३ गते भएकाे याे वर्षकाे प्रवेश परीक्षाको नतिजा २४ गते नै सार्वजनिक भयो । 

नतिजा प्रकाशित भइसकेको भए पनि टपर भएका कार्कीले भने हेरेका थिएनन् । घरमा बसेर काठमाडौं विश्वविद्यालयको इन्ट्रान्सका लागि अभ्यास गरिरहेको बेला उनलाई प्रवेश परीक्षाकाे तयारी गरेको संस्थाबाट फाेन आयाे ।

कल रिसिभ गर्ना साथ त्यहाँ पढाउने शिक्षकले उनलाई बधाई दिए । उनले प्रवेश परीक्षामा पास भएको अर्थमा बुझे । तर उनै शिक्षकले प्रवेश परीक्षामा प्रथम भएकाे सुनाए । 

“परीक्षा राम्राे भएकाले पास हुन्छु भन्ने त थियाे,” उनी भन्छन्, “सरको कल आएपछि आफैँले पनि नतिजा हेरेँ ।” प्रवेश परीक्षाको तयारी गरिरहेको संस्था पीईएमा उनी कहिलेकाँही मात्र प्रथम हुने गर्थे । तर उनले आईओईको प्रवेश परीक्षामा प्रथम हुने आशा भने गरेका थिएनन् । 

प्रवेश परीक्षामा पाएकाे सफलतालाई उनी सुरुवात ठान्छन् । “सुरुदेखि मेहनत गर्‍यो भने नतिजा पनि राम्राे आउँदो रहेछ,” उनी भन्छन्, “धेरै कुरा गर्न बाँकी नै छ । भर्खर स्नातकको पढाइ सुरु हुने हाे । त्यसपछि स्नातकोत्तर गर्नु छ । राम्राे इन्जिनियर बन्नुपर्ने छ । अनेक सपनाहरू छन्, तिनलाई पूरा गर्नु छ ।”

कुशलसँगै प्रवेश परीक्षा दिने कयौँ साथीहरू थिए । उनीहरूले पनि नाम निकालेका छन् । जसले गर्दा उनको साथ सर्कल उत्साहित छ ।

आईओई नेपालकै राम्राे शैक्षिक संस्था भएकाे कुरा कुशलले सानैदेखि सुनेका थिए । कक्षा ११ मा पुगेपछि आईओईमा जसरी भए पनि नाम निकाल्नु पर्छ भन्ने उद्देश्यका साथ उनले त्यसको तयारी थाले । 

हुन त कुशलले गत वर्ष नै आईओई प्रवेश परीक्षाका लागि तयारी गरेका थिए । तर प्रवेश परीक्षाकाे मिति भुलेपछि उनले दिन पाएनन् । कक्षा १२ मा अन्तिम परीक्षा दिइसकेपश्चात उनले आईओईको प्रवेश परीक्षा फाराम भरेका थिए ।

परीक्षा मिति अगस्ट २८ मा साेचेर तयारी थालिरहेका थिए । तर फ्रेबुअरी २२ मै परीक्षा  सम्पन्न भइसकेकाे रहेछ । उनले प्रवेश पत्रमा सबै कुरा हेरेको भए पनि मिति भने ख्याल गरेका रहेनछन् । उनी भन्छन्, “मिति पनि हेरेको थिएँ सायद, तर दिमागमा फ्रेबुअरी २८ भन्ने बस्याे ।”

प्रवेश परीक्षा छुटेपछि उनी पुल्चाेक स्थित इन्जिनियरिङ अध्ययन संस्थान गए । अब एक वर्ष कुर्नुको विकल्प नरहेको जवाफ पाए । 

प्रवेश परीक्षा नै दिन नपाएपछि आफू निरुत्साहित भएकाे उनी सुनाउँछन् । तर जसरी भए पनि आईओईमा नाम निकाल्ने सपना बाेकेका उनी गत वर्ष स्नातकमा भर्ना हुन पाएनन् ।

बरु अझ राम्रोसँग तयारी गर्न थाले । जसको प्रतिफल यस वर्ष उनी उत्तीर्ण मात्र हाेइन, पहिलाे नम्बरमै नाम निकाल्न सफल भए ।

उनले आफू टपर भएकाे कुरा सबैभन्दा पहिलामा बाजुरामा रहेकी आमालाई फोन गरेर सुनाए । “पास भएँ भन्दा आमा एकदमै खुसी हुनु भयो । अनि फस्ट भएँ भन्दा त झन् खुसी हुनु भो,” उनी भन्छन्, “बुबा पनि नजिकै हुनु हुँदाे रहेछ । उहाँले पनि मलाई धन्यवाद भन्नु भयाे ।”

गत वर्ष प्रवेश परीक्षा छुटाएकाले घरपरिवार अलिक निराश थियाे । तर याे पटक सर्वोत्कृष्ट नतिजा निकालेपछि निराशा सबै हटेकाे छ । 

कुशल आईओई प्रवेश परीक्षाकाे तयारी गर्दा आफूले कार्यतालिका बनाएर त्यसै अनुसार पढ्ने गर्ने गरेकाे बताउँछन् । उनको कार्यतालिकामा पाठ्यक्रमकाे पढ्न बाँकी कुरा पढ्ने र त्यसलाई दाेहाेर्‍याउने कुरा हुन्थ्यो ।

यस बाहेक उनी सम्भावित सेटहरूकाे अभ्यास पनि गर्थे । कुनै पनि परीक्षाकाे तयारी गर्दा याद गरेर सम्भव नहुने कुशलको अनुभव छ । “आफूलाई जसरी सहज हुन्छ, त्यसरी पढ्ने गर्नु पर्छ,” उनी भन्छन्, “रमाइलाे गर्ने बेला रमाइलाे गर्नु पर्छ । तर दैनिक रुपमा कम्तिमा तीन चार घण्टा भने पढ्नै पर्छ ।”

प्रवेश परीक्षा नजिक आउँदै गर्दा उनी दैनिक रूपमा नमुना प्रश्न पत्रको अभ्यास गर्थे । यसाे गर्दा आफू कहाँ कमजाेर छु भन्ने थाहा हुने र सुधार गर्ने धेरै माैका प्राप्त हुने कुशल बताउँछन् ।

आईओईमा नाम निकाल्ने उद्देश्य लिएका कुशल अन्य कुराहरूमा नलागी त्यसैमा केन्द्रित भइरहे । त्यसो त उनी कमै पढ्थे । तर दैनिक पढ्थे ।

“आईओई गन्तव्य हाे भनेर थाहा थियाे । त्यहाँसम्म जाने बाटाे बारे पनि जानकारै थिएँ । त्यसो हुँदा मैले हिड्ने काम मात्रै गर्नु थियाे,” उनी सुझाउँदै भन्छन्, “तर मेहनत चाहिन्छ । धैर्य चाहिन्छ । पढ्दै जानुपर्छ । तर बारम्बार पढ्नु पर्छ भन्ने छैन । पढाइमा कम समय दिए पनि बुझेर पढ्नु पर्छ ।” 

कुशल पढाइ बाहेक बेलामौकामा रमाइलाे पनि गर्छन् । खेलकुदमा सहभागी हुन्छन् । तर पढ्ने क्रममा भने गहिरो किसिमले बुझेर अध्ययन गर्छन् । हुन त कसैकसैले उनलाई ‘कति धेरै पढेकाे’ पनि भन्छन् । उनी आफूलाई एक ‍‍औसत क्षमताकाे विद्यार्थी ठान्छन् । 

आईओई टपर भएपछि चुनौती बढेकाे उनी बताउँछन् । नेपालकै उत्कृष्ट इन्जिनियरिङ संस्थान टपर उनलाई भोलिका दिनमा समेत यो उचाइ कायम राख्नु छ । “त्यसका लागि अझै राम्राेसँग पढ्नु पर्‍यो, अझै राम्राे गर्नु पर्‍यो भन्ने प्रेसर हुने रहेछ,” उनी भन्छन् ।

पढ्दै जाँदा बेग्लै सन्तुष्टि प्राप्त हुने र त्यसले आत्मविश्वास समेत बढ्ने गरेको उनको विश्वास छ । काेराेना महामारीका कारण उनले प्लस टुमा छँदा अनलाइनबाट नै कक्षा लिए । परीक्षा पनि अनलाइनबाटै भयो । यति मात्र होइन, उनले आईओईका लागि प्रवेश परीक्षाको तयारी पनि अनलाइनबाट नै गरे । 

 

उनको घर सुदूरपश्चिमकै दुर्गम जिल्ला बाजुराकाे नाम्चे पिपलडाली हाे । आमाबुबा गाउँमै शिक्षण पेसा गरिरहेका छन् ।

जन्म बाजुरामा भए पनि उनले बाल्यकाल काठमाडौंमै बित्यो । विद्यालय तहको पढाइका लागि उनलाई सानाे उमेरमा नै बुबाले काठमाडाैं ल्याएका थिए । त्यसपछि मामा-माइजु र दिदीसँग बसेर उनी यतै अध्ययन गर्न थाले ।

सात वर्षकै उमेरमा काठमाडौं आएका उनले सानै उमेरमा आमाबुबासँग छुट्टिएर बस्नु पर्छ भन्ने साेचेका थिएनन् । “मैले त गाडी चढ्ने, घुम्ने अनि घर फर्किने साेचेका थिएँ,” उनी सम्झिन्छन्, “दिदी अलि ठूली हुनु भएकाेले सुरुदेखि निराश हुनु हुन्थ्याे । म पनि अलि पछिबाट निराश हुन थालेँ ।”

पढ्नका लागि बुबाले काठमाडाैंमा छाडेर गएपछि उनलाई गाउँ, घर अनि साथीभाइकाे सम्झनाले खुबै सतायो । 

आफ्नो जिल्ला र गाउँ विकासमा धेरै पछाडि परेको कुरा कुशलको मनमा गढेर बसेको छ  । पढाइमा अब्बल उनले राम्राे इन्जिनियर बन्ने र गाउँको अविकास हटाउने सपना देखिरहेका छन् । 

सिभिल इन्जिनियरिङ पढ्ने सोच बनाएका कुशलले चार वर्षपछि स्नातकाेत्तर अध्ययन गर्न विदेश जाने याेजना पनि सुनाए ।

“नेपालमा पढिने धेरै काेर्षहरू बाहिरै डिजाइन हुने, सबै किताबहरू बाहिरका लेखकहरूले लेखेका अनि प्राेफेसरहरू पनि बाहिरकै हुने गरेका कारण स्नातकोत्तर नै बाहिर किन नगर्ने भन्ने लागेको छ,” उनी अगाडि भन्छन् ।

यस बाहेक विदेशी विश्वविद्यालयहरूको प्रतिष्ठाले समेत उनलाई आकर्षित गरिरहेको छ । तर उच्च शिक्षाका लागि विदेश गए पनि काम गर्न भने स्वदेशमै फर्किने उनी बताउँछन् ।
 

आईओई इन्ट्रान्स टपर कुशलका टिप्स

प्रविधि प्रयाेग गरेर पढ्दाका फाइदा बेफाइदा दुवै छन् । जस्ताे कि अनलाइन टेस्ट दिइरहँदा सामाजिक सञ्जाल चलाउन सकिन्छ । यसकारण प्रविधिकाे प्रयाेग गर्दा प्राप्त हुने अवसरहरूलाई आफू तिर तान्न सक्नुपर्छ ।

यसका लागि विद्यार्थी थाेरै मेहनती र उद्देश्य लक्षित हुन पर्छ । यदि कुनै लक्ष्य, उद्देश्य छैन भने आफ्नाे जिम्मेवारी थाहा पाउनु पर्दछ ।

आईओई जस्ता प्रवेश परीक्षाका लागि विद्यार्थीले विभिन्न वेबसाइट तथा एपहरू प्रयाेग गर्न सक्छन् । म आफैँले तयारीका क्रममा इन्जिनियरिङ डट (Engineering Dote) नामक एप प्रयाेग गरेकाे थिएँ ।

यसमा प्रवेश परीक्षामा आउन सक्ने प्रश्नहरूका‍ सेट हुने गर्छन् । जसमा रहेर हामी आफैँले अभ्यास गर्न सक्छौँ । अनलाइनबाट नै सबै कुरा सिक्न सक्ने अवस्था बनिसकेकाे छ ।

आफूलाई नआएकाे कुरा हामीले गुगलमा सर्च गर्न सक्छौँ । युट्युबमा विभिन्न विषयका बारेमा भिडिओ बनेका हुन्छन् । तिनैलाई हेरेर धेरै कुरा सिक्न सकिन्छ । त्यसबाहेक खान एकेडेमी जस्ता विभिन्न अनलाइन एकेडेमीहरू रहेका छ्न् । जसमा विभिन्न विषयका बारेमा स्पष्टसँग बुझाइएकाे हुन्छ ।

विद्यार्थीहरूले माेबाइल फाेन अथवा ल्यापटप प्रयाेग गर्नु सामान्य हाे । आजभाेलि त धेरैले भिडिओ गेमहरू खेल्ने गरेका हुन्छन् । तर यसले पढाइमा निकै बाधा पुर्‍याइरहेको हुन्छ ।

मलाई पनि पढिरहँदा फिल्म हेर्न मन लाग्छ । तर त्यसाे गर्दा मन र दिमाग विचलित हुन्छ र पढ्नै मन नलाग्न सक्छ । कम्प्युटरबाट पढिरहेकाे बेला अर्काे ट्याब खाेलेर गीत सुन्न सकिने, फिल्म हेर्न सकिने अथवा भिडिओ गेम खेल्न सकिने भए पनि त्यसो गर्नै हुन्न । 

गेम तथा सामाजिक सञ्जालहरू विद्यार्थीकाे ध्यान अरु तिर माेड्न बनाइएका हुन् भन्ने बुझ्न पर्छ । हामी गेम खेल्छाैँ, यता हाम्राे समय बर्बाद भइरहेकाे हुन्छ, उता कम्पनीलाई फाइदा मिलिरहेकाे हुन्छ । 

विद्यार्थीले भिडिओ गेम खेल्याे भने लत लाग्छ, त्यसपछि हाम्राे भविष्य बर्बाद हुन्छ । यस कारण हामीले पढाइका लागि कतिपय कुराहरू वेवास्ता गर्न सक्नु पर्छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १९:२६