close

सीटीईभीटी पढेका ५८ प्रतिशत विद्यार्थी रोजगार

टेकपाना टेकपाना

मंसिर १८, २०७९ १८:३८

सीटीईभीटी पढेका ५८ प्रतिशत विद्यार्थी रोजगार

काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का शैक्षिक कार्यक्रम अध्ययन सकेका कुल विद्यार्थीमध्ये ५८ प्रतिशत राेजगार रहेकाे एक अध्ययनले देखाएकाे छ । त्रिभुवन विश्वविद्यालकाे अर्थशास्त्र केन्द्रीय विभाग र मानविकी तथा सामाजिकशास्त्र संकायका अनुसन्धानकर्मीहरूले गरेकाे साे अध्ययनले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

‘इम्फ्याक्ट एसेसमेन्ट अफ टेक्निकल एजुकेसन एन्ड भाेकेसनल ट्रेनिङ’ शीर्षकमा २१ जिल्लामा साे अध्ययन गरिएकाे थियाे । यसअन्तर्गत हरेक प्रदेशका तीन/तीन जिल्लाका विद्यार्थीलाई नमुना सर्वेक्षणमा सहभागी गराइएको थियो ।

अध्ययनमा इन्जिनियरिङ, कृषि, हस्पिटालिटी र स्वास्थ्य विधाका १२३१ विद्यार्थी समेटिएका थिए, जसमा इन्जिनियरिङका ३९७, कृषिका ३५७, हस्पिटालिटीका ३६ र स्वास्थ्यका ४४१ विद्यार्थीलाई सहभागी गराइएकाे थियाे ।

उनीहरुमध्ये कुल ८.८ प्रतिशत विद्यार्थीले सीटीईभीटीमा भर्ना हुनुअघि नै राेजगारी गरेकाे र बाँकी ९१ प्रतिशतमध्ये ५८.२ प्रतिशतले पढाइ सकेर राेजगारी गरेकाे अध्ययनले देखाएकाे छ । 

 

 

राेजगारी गरिरहेकामा सबैभन्दा धेरै स्वास्थ्य विधाका विद्यार्थी छन् । स्वास्थ्य विधाका कुल विद्यार्थीमध्ये ६७.८ प्रतिशत राेजगार छन् । अध्ययनअनुसार हस्पिटालिटीका ६६.७ प्रतिशत र इन्जिनियरिङका ५९.४ प्रतिशत विद्यार्थी राेजगार छन् ।

कृषि पढेकामध्ये ४४.३ प्रतिशत राेजगार छन् । सञ्चालनमा आएदेखि हालसम्म सीटीईभीटीबाट तीन लाख ३७ हजार ६७ विद्यार्थी उत्तीर्ण भइसकेकाे साे अध्ययनले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०७९ १८:२२