close

पब्जीमा कस्तो चल्छ सिजीको इन्टरनेट ? (भिडिओ सहित)

टेकपाना टेकपाना

असार १४, २०७८ २०:६

पब्जीमा कस्तो चल्छ सिजीको इन्टरनेट ? (भिडिओ सहित)

काठमाडौं । यस अघि सिजीको इन्टरनेट रिभ्यु गर्दा हामीलाई त्यसमा गेम समेत टेस्ट गर्नुपर्ने धेरै कमेन्टहरु आएको थियो । तिनै प्रतिक्रिया अनुरुप आज हामी नेपालकै उत्कृष्ट पब्जी प्लेयर माफिया निञ्जा अर्थात उगेन लामामार्फत सिजी इन्टरनेटको गेमिङ रिभ्यु गर्दै छौं । यस क्रममा हामी इन्टरनेटका कारण ई-स्पोर्ट्सको क्षेत्रमा कस्ता समस्या आइरहेका हुन्छन् भन्ने विषयमा समेत कुराकानी गर्ने छौं । प्रस्तुत छ, सिजीको गेमिङ रिभ्यु ।

तपाईंहरु त पब्जीलाई नै करियर बनाएर अगाडि बढ्नु भएको छ । त्यसअर्थ अनलाइन गेम त दिनहुँ खेल्नु हुन्छ होला । पिछिल्लो समय सहभागी भएको प्रतियोगिता चाहिँ कुन थियो ?

हामीले विदेशमै गएर खेलेको पछिल्लो खेल भनेको दुवैमा थियो । त्यहाँ हामी ग्लोबल इभेन्टमै सहभागी भएका थियौं । नेपालबाट भने भर्खरै हामीले साउथ एसिया फाइनल खेलेका थियौं । त्यसमा हामीले तेस्रो स्थान हासिल गर्न सफल भएका थियौं ।

इन्टरनेटको कुरा गर्दा गेमरलाई बढी ब्याण्डविथ चाहिन्छ भनिन्छ । तपाईंहरु थर्ड पोजिसनमै सीमित हुनुको कारण चाहिँ के थियो ?

ई-स्पोर्ट्समा धेरै कुरा हरु जोडिएर आउँछन् । त्यसमा इन्टरनेट पनि पर्छ । साउथ एसिया फाइनलको कुरा गर्दा हाम्रो डे वान र डे टु राम्रै थियो । तर थर्ड डेमा चाहिँ इन्टरनेटको समस्या भयो । त्यो दिन नेपालमा फाइबर आउटेज भएको थियो ।

हामीले भायनेट र वर्ल्डलिङ्क दुवई इन्टरनेट चलाइरहेका हुन्छौं । तर त्यस दिन चाहिँ दुवैमा समस्या आयो । जसले गर्दा हामीले प्रेसरमा खेल्नुपर्‍यो र त्यसको असर हाम्रो पर्फर्मेन्समा पनि देखियो । जसले गर्दा हामी तेस्रो स्थानमा धकेलिन पुग्यौं ।

आईएसपीहरुले होम प्याकेज र कर्पोरेट प्याकेज गरी दुई किसिमको इन्टरनेट उपलब्ध गराइरहेका हुन्छन् । गेमरको रुपमा तपाईंहरु कस्तो प्याकेज चलाइराख्नु भएको छ र कस्तो प्याकेज भए हुन्थ्यो भन्ने लाग्छ ? 

अहिले हामीले प्रयोग गरिरहेको मूख्य इन्टरनेट भायनेटको ५० एमबीपीएसको सोहो प्लान हो । त्यसको हामीसँग तीन वटा कनेक्सन छ । त्यस्तै वर्ल्डलिङ्कको ७५ एमबीपीएसको होम प्याकेज र १० एमबीपीएसको डेडिकेटेड प्याकेज पनि लिएका छौं । 

अब इन्टरनेटको टेस्टिङ तिरै लागौं न त…

म यहाँ सुरुमा २.४ गिगाहर्ज वाईफाईमा पिङ टेस्टिङ गरेर हेर्दै छु । यसमा केही फ्लक्चुएसन (उतार चढाव) देखियो । 

यसमा त समय समयमा बढ्ने घट्ने भइराख्दो रहेछ । अन्य आईएसपीमा खेल्दा चाहिँ कस्तो पाउनु हुन्छ ?

सामान्यतयाः जुनसुकै इन्टरनेट सेवाप्रदायकमा खेल्दा पनि २.४ गिगाहर्ज वाईफाईमा फ्लक्चुएसनको समस्या आइरहेकै हुन्छ । यस्तो राउटर गेमिङको लागि भन्दा पनि अरु किसिमको सामान्य प्रयोजनकै लागि बनाइएको हुन्छ । 

हामीले यस अघि स्पिड टेस्ट गर्दा पनि २.४ गिगाहर्ज राउटरमा एकदमै कम स्पिड पाएका थियौं । अहिले गेम खेल्दा पिङमा पनि त्यस्तै किसिमको समस्या देखिएको छ । इन्टरनेट सेवाप्रदायक मात्र नभएर राउटर कस्तो छ भन्ने कुरामा पनि स्पिड र पिङ पर्ने गरेको देखियो । 

टीडीएममा खेल्दा पिङ ६० सम्म पुगिरहेको छ । ६८ सम्म आएको पनि देखियो । 

पिङ कतिसम्म आउँदा ठीक मानिने हो, अलिकति बुझाइदिनुहुन्छ ? 

पिङ भन्ने कुरा जति थोरै भयो त्यति नै राम्रो हो । नेपालमा ६० एमएस आउनु भनेको पनि धेरै राम्रो मान्नुपर्ने हुन्छ । २.४ गिगाहर्जमा जति आइरहेको छ, त्यो पनि राम्रै छ । सामान्य गेम खेल्नको लागि यो ठीकै छ । यत्तिकोलाई राम्रै भन्नुपर्ने हुन्छ । 

साथीभाइसँग रमाइलोको लागि खेल्दा वा टुर्नामेन्टमा खेल्न इन्टरनेट स्पिड फरक फरक चाहिन्छ कि के हुन्छ ?

सामान्य गेम गेम खेल्दा सबैकोमा एसिया सर्भर नै प्रयोग हुने हो । त्यसैले खासै फरक पर्दैन । पिङ भन्ने कुरा सर्भर अनुसार फरक पर्छ । 

हामीले अबेर रातिसम्म पनि पब्जी खेलिरहेको देखिरहेका हुन्छौं । राति खेल्दा पिङ र स्पिड राम्रो आउने भएर हो ?

हो । बेलुका ८/९ बजेको समयमा धेरैले एकै समयमा इन्टरनेट चलाइरहेका हुन्छ । त्यतिखेर पब्जी खेल्दा केही समस्या आइरहेको हुन्छ । सामान्यतया हामी बेलुका ६ बजेदेखि राति २ बजेसम्म पनि खेलिरहेका हुन्छौं । यस्तोमा रातिको समयमा इन्टरनेटको प्रयोग कम हुने भएकाले पनि राम्रो पिङ र स्पिड आइरहेको हुन्छ । 

अब ५.२ गिगाहर्ज वाईफाईमा पनि टेस्ट गरेर हेरौं न त

यसमा चाहिँ पिङ ५२/६० आइरहेको छ । यो धेरै राम्रो हो । ५.२ गिगाहर्जमा २.४ को तुलनामा राम्रो पिङ हुन्छ । यो अहिले जति आइरहेको त्यो एकदमै राम्रो मान्नुपर्ने हुन्छ  । यसमा प्राक्टिस राउन्डमा पनि फ्लक्चुएसन देखिन्न ।

आफ्ना फ्यानलाई के भन्न चाहनुहुन्छ ? 

यत्तिको पिङमा हान्न पाइयो भने गेमहरु राम्रै जाला नि होइन !  हामीले दुई वटै वाई-फाईबाट इन्टरनेटको पिङ चेक गर्‍यौं । गेमको लागि फाइभजी राउटर नै बढी उपयुक्त हुन्छ । २.४ गिगाहर्ज राउटरले कहिले धोका दिन्छ, थाहै हुन्न । त्यसैले गेमिङका लागि ५ गिगाहर्ज राउटर चाहिँ अनिवार्य जस्तै हुन्छ । 

आईएसपीहरुले गेमरलाई कत्तिको प्राथमिकता दिए जस्तो लाग्छ ?

उनीहरुले गर्न सक्ने जति प्रयास गरिरहेकै छन् । हामीले पब्जीका लागि सर्भर ल्याउने कुराहरु पनि समाचारमा देखिरहेका थियौं । यो धेरै राम्रो कुरा हो । प्याकेजको हिसाबले गेमरका लागि छुट्टै प्याकेज ल्याउँदा अझै राम्रो हुने  थियो । 

नेसनल/इन्टरनेसनल जुनसुकै गेमिङका लागि पिङ राम्रो हुँदा पर्फरमेन्स पनि राम्रो भइरहेको हुन्छ । क्लासिक खेल्दा पनि यसमा राम्रै पिङ आइरहेको छ । 

१२० एमबीपीएस र ५०/६० एमबीपीएसमा गेम खेल्दा केही फरक पाउनु भयो ? 

मैले सामान्यता ५० एमबीपीएसको भायनेटको सोहो प्याकेजमा गेम खेलिरहेको हुन्छु । त्यसमा क्लासिक खेल्दा पिङ ६८/७२ एमएस आइरहेको हुन्छ । यसमा पनि लगभग उस्तै उस्तै पाइयो । 

अनलाइन गेम भए पनि तपाईंहरु विदेश गएर एकै ठाउँमा जम्मा भएर पनि प्रतियोगितामा भाग लिइरहनु भएको हुन्छ । त्यसमा पनि इन्टरनेटकै समस्या हुने भएर हो कि अरु नै कुनै कारण छ ?

उता गएर खेल्दा सबैलाई एउटै पिङ उपलब्ध गराइएको हुन्छ । एउटै इन्टरनेट हुने भएपछि पिङ पनि समान नै हुने भयो । यसले गर्दा सबैलाई एउटै किसिमको अवसर हुन्छ । इन्टरनेट स्पिड कति हुन्छ, त्यो त थाहा भएन । तर पिङ चाहिँ २० एमएस नै आउँछ । 

तर नेपालमा त्यो सम्भव छैन । किन भने हामीसँग त्यस किसिमको सर्भर नै छैन । मलाई तत्कालै नेपालमा सर्भर आइहाल्छ जस्तो पनि लाग्दैन । तर पनि राम्रै सोचौं । 

यसका लागि कसले के गर्नु पर्ला, तपाईंको केही सुझाव छ ? 

सबै आईएसपीले मिलेर पब्जीको सर्भर नेपाल ल्याउनुपर्ने देख्छु । जसले गर्दा उनीहरुलाई पनि राम्रै हुन्छ ।  जुन आइएसपीले राम्रो पिङ दिन्छ, ग्राहकले पनि त्यही लिने कुरा हुन्छ । कतिपयले गेम खेल्नकै लागि इन्टरनेट राखिरहेका हुन्छन् । यसो हुँदा इन्टरनेटले गर्दा गेम बिग्रिने कुरा पनि हुँदैन । ईस्पोर्ट हेर्दा अरु देशको इन्टरनेट राम्रो छ । 

समग्रमा यो इन्टरनेटको गेम टेस्टिङ कस्तो लाग्यो, अनि यसको बारेमा निचोडमा के भन्न चाहनुहुन्छ ? 

पब्जी खेल्दा मैले चाहिँ खासै फरक देखिनँ । तर पनि राम्रो त राम्रै हो । मैले बुट क्याम्पमा प्रयोग गर्ने इन्टरनेट र यो उस्ताउस्तै लाग्यो । तर कुनै कुनै इन्टरनेट भन्दा चाहिँ यो एकदमै राम्रो हो । 

तपाईंले कतिसम्म हुन्छ भन्ने अपेक्षा गर्नु भएको थियो ?

खासमा मैले सोचेजस्तो चाहिँ पाइनँ । सामान्यतया हामीले ६० एमएस तिर खेलिरहेका हुँन्छौं । १२० एमबीपीएस भनेपछि मैले यसमा ४० एमएस/ ५० एमएसको लाइनमा आउला भन्ने अपेक्षा गरेको थिएँ ।  

सिजी भर्खरै बजारमा आएकाले ग्राहक संख्या पनि थोरै छ । अहिले टेस्टिङमा हामीले जुन किसिमको स्पिड र पिङ देख्यौं, त्यो भोलि हुन्छ वा हुँदैन, अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसका लागि त पर्खिनै पर्छ । हामी आगामी दिनमा अन्य आईएसपीको समेत गेमिङ सहितको इन्टरनेट टेस्टिङ सम्बन्धी भिडिओ ल्याएर आउने छौं । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५