close

‘नीतिगत अवरोधले अनलाईन पेमेन्ट विस्तारमा समस्या’

टेकपाना टेकपाना

मंसिर २७, २०७६ १९:४८

‘नीतिगत अवरोधले अनलाईन पेमेन्ट विस्तारमा समस्या’

नेपालमा अनलाइन पेमेन्ट अपेक्षितरुपमा विकास हुन नसक्नुमा नीतिगत नै मूख्य बाधकको रुपमा देखिएको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको ‘नेपाल फिनटेक समिट एण्ड एक्स्पो’ मा बोल्ने सबैजसो वक्ताले अनलाइन भुक्तानीमा नीतिगत अवरोधलाई मूख्य बाधकको रुपमा औँल्याएका हुन् ।

नेपालमै पहिलो पटक आयोजना गरिएको फिनटेक समिट वित्तिय क्षेत्रमा प्रयोग हुने प्रविधिको विकास र प्रयोगको विषयमा प्यानल छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालमा विस्तारै मोबाइल बैंकिङ तथा अनलाइन पेमेन्टप्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गए पनि सरकारी नीति भने साथ नदिएको बताए ।

नेपालमा फिनटेकको हालको अवस्था र यसको भविष्यको विषयमा प्यानल डिस्कसनमा उनले भारतमा विस्तार भएको मोबाइल बैंकिङको उदाहरण दिँदै भने, ‘भारतमा छोटा समयमा मोबाइल बैंकिङ बैंकको विकल्पको रुपमा स्थापित भसकेको छ ।

जसले गर्दा नगदरहीत अर्थात क्यासलेस समाजको निमार्णमा सहयोग पुर्‍याइरेहेको छ । भारतमा सेवा सुरु भएसँगै त्यसको विकासका लागि आवश्यक नीति निमार्ण गरी सहजता प्रदान गरेको छ । तर, नेपालको परिवेशमा भने त्यस्तो हुन सकेको छैन । नीति निर्माताले समयको आवश्यकता अनुसार नीति निमार्णमा सहयोग गर्न सकेको छैन् ।’

बैंक र फिनटेक कम्पनीहरु एक आपसमा प्रतिपर्धी नभएको बरु एकै ठाउँमा सहकार्य गरेर अघि बढ्नु पर्ने ढकालको भनाई थियो । ‘बैंक र फिनटेक कम्पनीको व्यवसाय नै फरक हो’, उनले भने, ‘हेर्दा पैसाकै कारोबार भएको देखिन्छ, तर दुबैको आफ्नै क्षेत्र छ । आ–आफ्नै ग्राहक छन् । त्यसैले यी दुबै क्षेत्र प्रतिस्पर्धामार्फत नभएर सहकार्य गरेर अघि बढ्नु पर्ने हुन्छ ।’

ई–ढेवाका प्रमुख कार्यकारी अधिकृत एलेन बेलोचन तुलाधारले पनि सरकारी नीतिमाथि प्रश्न गर्दै सरकाले आवश्यक रुपमा यो क्षेत्रको विकासका लागि सहयोग गर्न नसकेको बताए । उनले नेपालको आर्थिक विकासका लागि फिनटेक कम्पनीहरु आवश्यक रहेको भन्दै हाल जुन रुपमा प्रयोग भइरहेको छ, त्यसमा भने धेरै नै परिवर्तन गर्न आवश्यक रहको बताए ।

‘हामी फिनटेकको प्रयोग मोबाइलको रिचार्ज गर्नका निम्तिमात्रै गरिररहेका छौं’, उनले भने, ‘नेपाललाई क्यासलेस बनाउनका लागि यस्ता प्रविधिको प्रयोग सहीरुपमा हुन आवश्यक छ ।’

त्यस्तै अमेजन वेभ सर्भिसका सिनियर म्यानेजर विकास बजाजले नेपालमा फिनटेकको विकास उत्कृष्ट रुपमा भइरहेको भन्दै त्यसलाई निरन्तरता दिन ग्राहकको विश्वास जित्न आवश्यक रहेको बताए । उनले ग्राहकलाई उनिहरुले पठाएको पैसाको सुरक्षामा विश्वास दिलाउन आवश्यक रहेको बताए ।

शुक्रबारको कार्यक्रममा बैंकिङ सेक्युरीटी, एप सेक्युरिटी र फिनटेकमा भइरहेको नयाँ विकासको विषयमा विभिन्न व्यक्तिहरुले आफ्नो प्रस्तुती दिएका थिए । शनीबार लधुवित्त क्षेत्रमा भएको डिजिटल रुपान्तरण, क्लाउड कम्प्युटिङ, बिमा क्षेत्रमा भएको प्रविधिको प्रयोग, शेयर बजारमा भएको प्रविधिको प्रयोग लगायतका विषयमा प्रस्तुती रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३