close

दुई महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ५ करोड नाघे

टेकपाना टेकपाना

साउन २७, २०७८ १२:४६

दुई महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ५ करोड नाघे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले दुई महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको दुई महिनाको यो अवधिमा रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता पाँच करोड नाघेका छन् ।

संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन । यस्तोमा कम्पनीले विकल्पको रुपमा आफ्नै ओएस सार्वजनिक गरेको हो ।

अमेरिकाले लगाएको प्रतिबन्धको कारण कम्पनीले आफ्नो व्यवसाय पनि विस्तार गुमाउँदै गएको छ । व्यवसाय गुमाउँदै गएको अहिलेको अवस्थामा डिभाइस सेक्सनको व्यापारलाई विस्तार गर्नु कम्पनीका लागि चुनौती विषय बनिरहेको छ ।

त्यसैले पनि कम्पनीले आफूले सार्वजनिक गरेको ओएसलाई जतिसक्दो छिटो बजारमा फैलाउनका लागि काम गरिरहेको छ । त्यसैले पनि ओएस सार्वजनिक भएको दुई महिनाको अवधिमा पाँच करोडको आँकडा छुन सफल भएको हो ।

हुन त अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालोसूचीमा राखेलगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो ।

तर, उक्त हार्मोनी ओएस पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रोडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो ।

त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।

उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।

त्यसलाई अझ परिष्कृत गर्दै दुई महिनाअघि कम्पनीले नयाँ ओएस सार्वजनिक गरेको हो । सार्वजनिक भएको एक महिनाको अवधिमा तीन करोडको आँकडा पुरा गरेको कम्पनीले पछिल्लो एक महिनामा थप दुई करोड प्रयोगकर्तालाई हार्मोनी ओएसमा जोड्न सफल भएको छ ।

कम्पनीका अनुसार यो तथ्याङ्क पनि गएको शुक्रबारसम्मको हो । त्यसको १० दिनअघि अर्थात जुलाई २९ मा हार्मोनी ओएसको सक्रिय प्रयोगकर्ता चार करोड रहेको थियो । त्यसको १० दिनमै थप एक करोड सक्रिय प्रयोगकर्ता थपिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३