close

कत्तिको अपडेटेड छन् नेपालमा पढाई हुने आईटी कोर्ष ?

सञ्जीवन राई सञ्जीवन राई

फागुन ७, २०७९ १६:५१

कत्तिको अपडेटेड छन् नेपालमा पढाई हुने आईटी कोर्ष ?

काठमाडाैं । नेपालकाे सूचना प्रविधि (आईटी) शिक्षामा पाठ्यक्रम परिमार्जनकाे विषयमा पटकपटक चर्चा र बहस हुने गरेकाे छ । समयानुकूल पाठ्यक्रम परिमार्जन नहुँदा बजारले खाेजेकाे जनशक्ति उत्पादन हुन नसकेकाे गुनासा पनि सुनिन्छन् । 

विशेषगरी स्नातक तहको काेर्ष पुरानाे भएकाे र पढाउने शैली पनि परम्परागत नै रहेको विषयमा बहस चलिरहँदा विश्वविद्यालय र कलेज सञ्चालक भने याे कुरा स्वीकार्न तयार छैनन् । 

हाल नेपालमा स्वदेशी तथा विदेशी विश्वविद्यालयका गरी २५० भन्दा बढी कलेजमा सूचना प्रविधिका विभिन्न काेर्षहरू सञ्चालन भइरहेका छन् ।  

नेपालमा सञ्चालनमा रहेका यस्ता शैक्षिक कार्यक्रम समयानुकूल अपडेटेड नै रहेकाे काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्राडा मनिष पोखरेल बताउँछन् ।

“मैले केयू बाहेक अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रमकाे लागि पनि पाठ्यक्रम तयार गरेको छु,” उनी भन्छन्, “अधिकांश काेर्षमा बेलाबेलामा माग अनुसार परिमार्जन भइरहेकै छ।”

काठमाडौं विश्वविद्यालयले आईटी सम्बन्धी नयाँ कोर्ष सञ्चालन गरिरहेको सुनाउँदै उनी भन्छन्, “हामीले हालै सुरु गरेको बीटेक इन एआई, हेल्थ इन्फर्मेटिक्स, बीएससी इन बायोइन्फर्मेटिक्स लगायतका शैक्षिक कार्यक्रम बजारकाे माग र आवश्यकता अनुसारकै हुन् ।” 

यी विषय बाहेक पुराना शैक्षिक कार्यक्रममा पनि नवीन विषयहरू समावेश गरिएको उनी बताउँछन् । अन्यकाे तुलनामा कोर्ष अपडेट गर्न काठमाडाैं विश्वविद्यालय लचिलो रहेकाे उनकाे भनाइ छ ।

“हामीले स्थापनाकालदेखि नै आईटी कोर्ष सञ्चालन गरेका हौँ । पछिल्लो समय हामीले नयाँनयाँ पाठ्यक्रम  थप गरिरहेका छौँ,” उनी अगाडि भन्छन्, “अहिले भर्ना भएका विद्यार्थी चार वर्षपछि बजारमा जाँदाको अवस्था, उद्योगको आवश्यकता आदिलाई अध्ययन गरेर केयूले शैक्षिक कार्यक्रम परिमार्जन गर्ने गरेको छ ।”

उता पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेशकुमार ठगुराथी भने नेपालमा आईटीका पाठ्यक्रम संशोधनको अभ्यास अलि ढिलोगरी हुने गरेको बताउँछन् ।

प्राय: विदेश तिर कलेज नै विश्वविद्यालय सरह हुन्छन् । नेपालमा जस्तो सम्बन्धन लिइरहनु पर्दैन । जसले गर्दा उनीहरूले आवश्यकता अनुसार सहजै पाठ्यक्रम परिमार्जन गर्न सक्छन्,” उनी थप्छन्, “तर नेपाली विश्वविद्यालयहरूमा त्यहाँको जस्तो लचकता छैन । जसले पाठ्यक्रम परिमार्जन ढिलो हुने गर्छ ।”

पाठ्यक्रम परिमार्जन गर्न नेपाली विश्वविद्यालय अन्तर्गत धेरै कलेज हुनु एक ठूलो चुनौती भएको उनको बुझाइ छ । “नेपालमा चार वर्षे कोर्षलाई आठ वर्षसम्म लगाएर पढ्न पाइन्छ । आठ वर्षसम्म विद्यार्थीले पुन: परीक्षा दिन पाउँछन्,” उनी थप्छन् ।

“यो कुराले पाठ्यक्रम चाँडो परिमार्जन गर्दा विद्यार्थीलाई पुन: परीक्षा के, कसरी दिने भन्ने समस्या आउँछन् । यस्ता चुनौतीका विषयले पनि कोर्ष परिमार्जन गर्न ढिलाइ हुने गरेको छ ।” त्यस्तै विश्वविद्यालयको सीमित स्रोतका कारण समेत पाठ्यक्रम परिमार्जनको कार्य ढिलो हुने गरेको उनको अनुभव छ । 

नेपालमा विदेशी विश्वविद्यालयका कोर्ष!

नेपालमा विदेशी विश्वविद्यालयका आईटी कोर्ष समेत विभिन्न कलेजहरूले सञ्चालन गरिरहेका छन् । त्यस्ता कोर्षहरू नेपालमा अध्यापन हुनु राम्रो पक्ष भएको डीन प्राडा पोखरेलको धारणा छ । विश्वपरिवेश अनुरूप तयार हुने त्यस्ता कोर्ष नेपाल ल्याउने सन्दर्भमा बरु सहज वातावरण तयार पार्नुपर्ने उनको विचार छ । 

यद्यपि ती कोर्ष परिमार्जित वा नविनतम् भएर भन्दा पनि क्रेडिट ट्रान्सफर गरी विदेशमा जान पाइन्छ भनेर धेरैले अध्ययन गर्न चाहने उनको बुझाई छ । “अधिकाँश त्यस्ता कोर्षहरू केही वर्षमा अध्ययनपछि क्रेडिट ट्रान्सफर गरेर विदेशमा पढ्न जान पाइन्छ,” उनी भन्छन्, “आईटी कोर्ष जहाँ अध्ययन गरे पनि एउटै हुन्छ । विदेशको राम्रो, तर नेपालको नराम्रो भन्न चाहिँ मिल्दैन ।”

त्यस्तै विदेशी विश्वविद्यालयको कोर्ष सञ्चालन गरिरहेको एक ‍कलेजका प्रतिनिधि नेपाली र विदेशी विश्वविद्यालयको आईटी कोर्ष एकै ठाउँमा राखेर तुलना गर्न नहुने बताउँछन् । 

“नेपाली विश्वविद्यालयले के गरिरहेका छन्, त्यो हाम्रो चासोको विषयमा पर्दैन । तर हामीले लगातार परिमार्जित हुने कोर्ष सञ्चालन गरिरहेका छौं,” नाम खुलाउन नचाहने उनी भन्छन्, “विद्यार्थीले नेपाली बजारमा सहजै जागिर पाऊन् भनेर बरु हामीले त्यही अनुसारका विषयहरू पाठ्यक्रममा थपिरहेका छौं ।”

उनी आफ्ना कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरू नेपालका विभिन्न कम्पनीमा काम गरिरहेको बताउँदै जुनसुकै विश्वविद्यालयको कोर्ष पढे पनि समस्या नहुने सुनाउँछन् ।

“कोर्ष परिमार्जनको विषय उति महत्त्वपूर्ण हो जस्तो लाग्दैन,” उनी भन्छन्, “तर विश्वविद्यालय वा कलेजले विद्यार्थीलाई कसरी अध्यापन गराउँछन्, कस्ता सीप सिकाउँछन्, कस्तो जनशक्ति तयार पार्छन् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छन् । यसकारण विद्यार्थीलाई सीप, क्षमतायुक्त बनाउन बढी काम गर्नु पर्छ ।”

लगातार कोर्ष परिमार्जन गर्दा बजार सिर्जना नहुने चिन्ता !

कोर्ष लगातार परिमार्जन गर्दा त्यस अनुसारको बजार सिर्जना नहुने समस्या रहेको नेपाली विश्वविद्यालयका केही प्रतिनिधि बताउँछन् । यो कुराले  समेत लगातार कोर्ष परिमार्जन गर्न नसकेको नाम नखुलाउने सर्तमा त्रिभुवन विश्वविद्यालयका एक अधिकारी बताउँछन् ।

“चाँडो चाँडो कोर्ष परिमार्जन गर्दा जनशक्ति त तयार हुन्छ । तर त्यस अनुसारको बजार नेपालमा तयार भएको हुँदैन,” उनी थप्छन् ।

“त्यस्तै कोर्ष परिमार्जन गर्दा धेरै शिक्षकलाई तालिम उपलब्ध गराउनु पर्ने हुन्छ । जसमा समय लाग्छ । फेरि ती शिक्षकहरू पढाउन नजाँदै कोर्ष परिमार्जन गर्नुपर्ने समय हुन्छ । यस्तैयस्तै समस्याले पाठ्यक्रम परिमार्जन गर्न लामो समय लाग्ने गरेको हो ।”

 

आईटी शिक्षामा भूमिका विहीन सरकार !

प्रविधिमा नेपाल सरकार निकै पछाडि रहेको धेरैले गर्ने एक साझा गुनासो हो । त्यस्तै प्राविधिक शिक्षामा पनि सरकार निकै पछाडि रहेको काठमाडौं विश्वविद्यालयका डीन प्राडा पोखरेलको धारणा छ ।

“नेपाल सरकारले अपडेट गर्न नखोज्ने, तर आईटी चाहिँ फड्को मारेर गइरहेको अवस्था छ,” उनी थप्छन्, “विश्वमा भइरहने प्रविधिको विकासमा सरकार उत्तिकै अगाडि हुनुपर्छ ।”

त्यसैले विश्वविद्यालय सरकारको लयमा हिँड्न नहुने उनको भनाइ छ । “यदि सरकारको लयमा नै विश्वविद्यालय हिँड्न थाले भने विश्वविद्यालयको पनि गति कम हुन्छ,” उनी भन्छन्, “नेपाली विश्वविद्यालयहरू नेपाल सरकारको गतिमा होइन कि विश्वको नयाँ आईटी ट्रेन्ड अनुसार हिँड्नुपर्छ ।” 

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ १६:५१