काठमाडौं । तपाईँ दिनमा कति पटक फोन प्रयोग गर्नुहुन्छ ? आजको दिनमा एक व्यक्तिले औसतमा ८ देखि १० पटक फोनकल गर्छन् ।
चिठीपत्रको आदानप्रदानलाई सहज बनाउँदै सुरु भएको फोनकललाई मोबाइल कलले झनै सहज बनायो ।
सन् १९७३ को अप्रिल ३ अर्थात् आज भन्दा ५० वर्ष अगाडि आजकै दिन पहिलो मोबाइल कल गरिएको थियो । मोटोरोलाका इन्जिनियर मार्टी कुपरले आफ्नो गोजीबाट फोनबुक झिकेर एउटा ठूलो डिभाइसमा नम्बर डाइल गरे । अनि त्यो डिभाइसलाई आफ्नो कानतिर लगेर राखे । त्यतिबेला सबैजनाको आखाँ उनीतिर नै थियो ।
उनले सो डिभाइसबाट आफ्नै सहकर्मीलाई फोन लगाए । यसरी आफ्नै खल्तीमा अटाउन सकिने सेलफोनबाट उनले पहिलो कल गरे ।
जहाँ मानिसहरू एक शताब्दी लामो समयसम्म फोनको तारमा बाँधिएर बसेका थिए त्यहाँ कुपरले मानिसलाई स्वतन्त्र बनाउन यो डिभाइस तयार गरे ।
वास्तवमा तत्कालिन समयमा बेल ल्याबोरेटरी घर वा अफिसमा मात्र फोनमा कुरा गर्न सकिने अवस्थालाई अन्त्य गर्दै कारमा पनि प्रयोग गर्न सकिने फोन बनाउने तयारीमा थिए ।
तर कुपरको लागि यो मान्य थिएन । "हामी सय वर्षसम्म आफ्नो घर वा अफिसमा यही तामाको तारमा अल्झिएर बस्यौँ । अब कम्पनी हामीलाई कारमा पनि त्यही तारमा बाँधेर राख्न चाहन्थ्यो । यो सोच नै मलाई मन परेन," बीबीसीसँगको कुराकानीमा कुपरले बताए ।
मोटोरोला र कुपर दुवैले यो कुरालाई नकार्दै नयाँ डिभाइसमा काम गर्न थाले । फलस्वरुप आज सबैको हात-हातमा मोबाइल छ । त्यो पहिलो मोबाइल कल जसरी प्रयोग भएको थियो आज पनि प्रक्रिया उही नै छ ।
फोनले तपाईँको आवाजलाई विद्युतीय संकेतमा परिणत गर्छ र रेडियो वेभमा परिमार्जन हुन्छ ।
उक्त रेडियो वेब नेटवर्कका टावरबाट प्रशारण हुन्छन् र सो टावरले तपाईँको आवाज तपाईँले फोन गर्नु भएको अर्को व्यक्तिसम्म पुराउन मद्दत गर्दछ ।
मोटोरोलाको त्यो पहिलो मोबाइलको तुलनामा आजका स्मार्टफोनहरू निकै विकसित छन् । कम्पनीलाई त उक्त पहिलो मोबाइल फोनको व्यावसायिक मोडेल बजारमा प्रयोगकर्ताको लागि उपलब्ध गराउन नै ११ वर्ष लागेको थियो ।
कुपरले आफ्नो प्रोटोटाइप फोनबाट कल गरेको ११ वर्षपछि १९८४ मा मात्र उक्त फोन सार्वजनिक भएको थियो । त्यो समयमा उक्त फोनको मूल्य ११ हजार ७०० डलर थियो ।
त्यो समयमा त्यो फोनबाट कुनै मेसेज गर्न वा फोटो खिच्न मिल्दैन थियो । यो फोन कल मात्र गर्नका लागि तयार गरिएको थियो । यसमा एकपटकमा ३० मिनेटसम्म मात्र बोल्न सकिन्थ्यो भने यो फोनको चार्ज १० घण्टासम्म टिक्थ्यो ।
पहिलो मोबाइल फोन तयार गरेका कुपर आजको दिनमा सार्वजनिक हुने स्मार्टफोनहरूसँग भने खुशी भने छैनन् । "सोच्नुहोस् त तपाईँको हातमा एउटा सोझो डिजानको प्लास्टिक वा सिसाको टुक्रा छ जुन तपाईँको घुमाउरो आकारको अनुहारको लागि डिजाइन गरिएको छ," उनी भन्छन्, "स्मार्टफोनमा भएका उत्कृष्ट फिचर प्रयोग गर्न तपाईँलाई फरक-फरक एपहरू डाउनलोड गर्नुपर्छ । यो आफैमा असहज कुरा हो ।"
यद्यपि उनलाई विश्वास छ भविष्यमा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स तयार हुनेछ जसले मोबाइल प्रयोगकर्ताको आवश्यकता अनुसारको एप तयार गरिदिनेछ । साथै मानिसको उत्पादकत्व बृद्धि गर्ने र जीवन थप सहज गर्ने गरी भविष्यमा नयाँ फोनहरू विकास हुनेमा पनि उनको विश्वास छ ।