close

वनएक्स बेट प्रचार गर्ने युट्युबर/कलाकार भन्छन्ः ‘पुलिसले समात्ला भन्ने लागेको थिएन’

टेकपाना टेकपाना

असार १२, २०८० १६:२१

वनएक्स बेट प्रचार गर्ने युट्युबर/कलाकार भन्छन्ः ‘पुलिसले समात्ला भन्ने लागेको थिएन’

काठमाडौं । अनलाइन बेटिङ प्रकरणमा पक्राउ परेका कलाकार तथा युट्युबरले आफूहरूलाई वनएक्स बेट अवैध हो भन्ने थाहा नभएर प्रचार गरेको बयान दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौ‍ंको हिरासतमा रहेका उनीहरूले नेपालमा वनएक्स बेट प्रतिबन्धित भएको कुरा थाहा नभएको बयान दिएका हुन् ।

जेठ ३० गते अवैध वनएक्स बेट प्रचार गरेको आरोपमा कलाकार तथा युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) पक्राउ परेका थिए । त्यस्तै असार १० गते सोही आरोपमा युट्युबर राजकुमार थापा भनिने राज कुमार तामाङ पक्राउ परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले प्रचार गरेबापत पैसा पाउने लोभले युट्युबरहरू वनएक्स बेटिङमा संलग्न देखिएको बताए । “उनीहरूले पैसा आउँछ भनेरै प्रचार गरेको बयान दिएका छन्,” डा. केसीले टेकपानासँग भने, “एक जनाको (राजकुमार तामाङ) को बयान बाँकी छ । बाँकी अरूको बयान सकियो ।”

सबै एउटै किसिमको घटना भएकाले सँगसँगै मुद्‍दा अगाडि बढाउने तयारी भइरहेको उनले बताए । “अनुसन्धानका क्रममा अवैध काम गरिसकेपछि प्रायः सबैले आफूलाई गैरकानूनी हो भनेर थाहा नभएको भन्छन् । उनीहरूले पनि त्यही भनेका छन्,” केसीले भने, “पुलिसले समातिहाल्ला भन्ने लागेन भनेका छन् ।” अहिले अरू संलग्न भएका युट्युबरलाई खोजी गरिरहेको केसीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १६:२१