close

आईटी पढेका विद्यार्थीहरू सरकारी जागिर खाने कल्पनै गर्दैनन्ः मन्त्री शर्मा

टेकपाना टेकपाना

साउन ११, २०८० १५:१०

आईटी पढेका विद्यार्थीहरू सरकारी जागिर खाने कल्पनै गर्दैनन्ः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) पढेका विद्यार्थीले सरकारी जागिरको कल्पनै नगरेकाे धारणा राखेकी छन् । राजधानीकाे सफ्टवेरिका कलेजमा बिहीबारदेखि सुरु भएको प्रविधि प्रदर्शनी कार्यक्रमकाे उद्घाटन गर्दै उनले आईटी पढेका विद्यार्थीको प्राथमिकता विदेश हुने र विदेश सम्भव नभए देशकै निजी क्षेत्र पर्ने गरेकाे उनले बताइन् ।

"आईटी क्षेत्रका विद्यार्थी त सरकारी जागिरको कल्पनै गर्दैनन्," मन्त्री शर्माले भनिन्, "सकेसम्म विदेश, नभए यहीँ देशभित्र बसेर प्राइभेट काम गर्ने मात्र सोचिरहेका छन् । त्यसैले हामीले सरकारी सेवामा अब दक्ष म्यानपावरहरूलाई आकर्षित गर्नुपर्छ ।"

अहिले संघीय निजामती सेवा ऐनमा आईटी समूहलाई अलग समूह बनाएर त्यसलाई अगाडि बढाउने कोसिस भइरहेकाे उनले सुनाइन् । आईटीका दक्ष जनशक्ति परम्परागत ढङ्गको निजामती सेवामा बाँधिएर बस्न नसक्ने भन्दै उनले प्राविधिक जनशक्तिलाई अगाडि बढाउन हाइब्रिड मोडेल ल्याउन लागिएकाे बताइन् ।

"परम्परागत ढङ्गको निजामती सेवा र त्यसभित्र आउने कर्मचारीको सेवा, सुविधा सर्तको जे अवस्था छ, त्यसमा बाँधिएर दक्ष जनशक्ति बस्न सक्दैन । त्यसकारण सूचना प्रविधिको क्षेत्रका निम्ति एउटा हाइब्रिड मोडेल, सरकारी सेवामा आउने तर सेवा सुविधामा अर्को फरक ढंगले सोच्ने भनेर त्यो पनि वर्कआउट गरिरहेका छौं," उनले भनिन् ।

आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजले  आयोजनामा स्मार्ट प्रविधिको प्रदर्शनी हुने भएको छ । भोलि बिहीबारदेखि डिल्ली बजार काठमाडौं स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु हुने भएको हो । 

टेक एक्जिबिसन २०२३ सुरु

आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजको आयोजनामा बिहीबारदेखि डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको  छ । 

आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ । 

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका एआई र साइबर सुरक्षा क्षेत्रका विभिन्न प्रोजेक्टहरू समेत गरी ३० भन्दा बढी स्टलहरू रहेका छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) देखि होम सेक्युरिटीसहित घरमा  अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टमसम्मका नवप्रवर्तनात्मक सिर्जनाहरू अवलोकन गर्न पाइने छ ।

यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत प्रदर्शनीमा राखिएकाे छ ।

यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन्  ।

बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयको अध्यापन हुने गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्स्पोको रुपमा परिचित सफ्टवेरिका कलेजको प्रदर्शनी यस पटक भने टेक एक्स्पोको नाममा प्रस्तुत गर्न लागिएको हो ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १७:१२