close

नेपालपे क्यूआर मार्फत एक महिनामै १ अर्ब रुपैयाँ बढीको कारोबार

टेकपाना टेकपाना

कात्तिक १, २०८० १५:५६

नेपालपे क्यूआर मार्फत एक महिनामै १ अर्ब रुपैयाँ बढीको कारोबार

काठमाडौं । नेपालपे क्यूआरमार्फत एक महिनामै एक अर्ब बढीको कारोबार भएको छ । सार्वजनिक भएको ६ महिनायता पहिलो पटक असोज महिनामा नेपालपे क्यूआरको कारोबार एक अर्ब रुपैयाँभन्दा बढी पुगेको हो ।

विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा चार लाख २५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध छन् । कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धिलाई एक महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा लिएको नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।

नेपालपे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । क्यूआर स्किमको रूपमा समेत उपलब्ध रहेको नेपालपेमा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपालपे क्यूआरमा चार लाख २५ हजार र स्मार्ट क्यूआरको दुई लाख ५० हजार समेत गरी ६ लाख ७५ हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध छन् ।

त्यस्तै सबै वाणिज्य बैंक, अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ्ग र वालेटहरुबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

मर्चेन्ट र व्यवसायीहरूले नेपालपेमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरेर, ईकमर्स पोर्टलमा क्यूआर गेटवे जोडेर वा एन्ड्रोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केही बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १५:५६