close

रिलायन्स जिओले ल्यायो स्याटलाइटमा आधारित भारतकै पहिलो इन्टरनेट सेवा

टेकपाना टेकपाना

कात्तिक १२, २०८० १४:५०

रिलायन्स जिओले ल्यायो स्याटलाइटमा आधारित भारतकै पहिलो इन्टरनेट सेवा

काठमाडौं । भारतीय मोबाइल सेवाप्रदायक कम्पनी रिलायन्स जिओले स्याटलाइटमा आधारित देशकै पहिलो इन्टरनेट सेवा प्रदर्शन गरेको छ । इन्डिया मोबाइल कङ्ग्रेस कार्यक्रममा कम्पनीले शुक्रवार 'जिओस्पेस' फाइबर स्याटलाइट इन्टरनेट प्रस्तुत गरेको हो ।

इन्टरनेटका लागि आवश्यक भौतिक पूर्वाधार पुग्न नसकेका ग्रामीण भेगलाई लक्षित गर्दै कम्पनीले यस्ताे सेवा ल्याउन लागेको जनाएको छ । मिडियम अर्थ अर्बिट (एमईओ) इन्टरनेट उपलब्ध गराउन जिओले लक्जम्बर्गमा अवस्थित स्याटलाइट सञ्चार कम्पनी एसईएससँग सहकार्य गरेको छ ।

जिओका अनुसार एसईएसले उपलब्ध गराउने ०३भी र ०३बी एमपावर (mPOWER) नेटवर्क एकमात्र एमईओ कन्स्टिसेलेसन हो, जसले अन्तरिक्षबाटै फाइबर जत्तिकै द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम छ ।

द्रुत गतिको स्याटलाइट इन्टरनेट उपलब्ध गराउन सामान्यतः लो अर्थ अर्बिट (एलईओ) स्याटलाइट कन्स्टिलेसनको प्रयोग हुन्छ । एलईओ स्याटलाटइट पृथ्वीको सतहभन्दा २५० किलोमिटरदेखि दुई हजार किलोमिटरबीचको उचाइमा राख्ने गरिन्छ ।

एलन मस्कको कम्पनी स्टारलिङ्क र वन वेब नामक कम्पनीले लो लेटेन्सी भएको उच्च गतिको स्याटलाइट  इन्टरनेट सेवा उपलब्ध गराउन एलईओ स्याटलाइट प्रविधि प्रयोग गर्ने गर्छन् ।

हाल एलईओका लागि अन्तरिक्षमा पाँच हजार बढी स्टारलिङ्क स्याटलाइट छन् । कम्पनीले अबको केही महिनामा थप सात हजार स्याटलाइट थप गर्ने योजना बनाएको छ । पछि उक्त सङ्ख्या बढाएर ४२ हजार स्याटलाइट पुर्‍याउने स्टारलिङ्कको लक्ष्य छ ।

यता वन वेबले भने पृथ्वीको कक्षमा ६३० ओटा स्याटलाइट मात्र थप्ने योजना बनाएको छ । अर्कोपट्टि जेफ बेजसको कम्पनी ब्लु ओरिजिनले पृथ्वीको कक्षमा तीन हजार स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ ।

स्टारलिङ्क तथा वन वेब जस्ता कम्पनीले उपलब्ध गराउने सेवा सानो टर्मिनलबाटै प्रयोग गर्न सकिन्छ । र, यस्तो इन्टरनेट व्यक्ति र संस्थाहरूले खरिद गर्ने गर्छन् ।

तर, जिओस्पेस फाइबर सोलुसनले भने एमफओ स्याटलाइट इन्टरनेट उपलब्ध गराउन ठूलाे स्याटलाइट डिश उपलब्ध गराउनुपर्ने हुन्छ ।

पत्रकार सम्मेलनमा जिओले गुजरातको गिर, छत्तिसगढको कोब्रा, उडिशाको नवरङ्गपुर र आसामको जोरहटमा यस्ताे सेवा उपलब्ध गराउने जानकारी दियाे ।

त्यस्तै एलईओ स्याटलाइटको तुलनामा आफूले उपलब्ध गराउने इन्टरनेटको लेटेन्सी निकै कम हुने कम्पनीको दाबी छ । यो सेवा कहिलेबाट सुरु हुन्छ, अनि शुल्क कति पर्छ भन्नेबारे भने कम्पनीले केही खुलाएकाे छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १२:२७