close

नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिका विषयमा सराेकारवालाबीच छलफल हुँदै

टेकपाना टेकपाना

मंसिर १३, २०८० १४:३०

नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिका विषयमा सराेकारवालाबीच छलफल हुँदै

काठमाडौं । नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सराेकारवालाबीच छलफल हुने भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) को संयुक्त आयोजनामा मंसिर १३ गते बुधबार हायत रिजेन्सी काठमाडौंमा ‘एक्सिलेरेटिङ डिजिटल एन्ड इकाेनाेमिक ट्रान्स्फर्मेसन’ (Accelerating Digital and Economic Transformation) विषयक कार्यक्रम हुन लागेकाे हाे । 

कार्यक्रममा अर्थतन्त्रको विकासलाई गति दिन फाइभजी प्रविधि प्रयोगबारे वृहत् छलफल हुनेछ । यसका लगि फाइभजी प्रविधिको मुख्य विशेषता, ग्लोबल ट्रेन्ड,  फाइभजी प्रविधिको परिदृश्य र आर्थिक मूल्याङ्कन, फाइभजी प्रविधि प्रयाेग गरेका देशका केस स्टडी तथा फाइभजी नेपाल ल्याउँदा अपनाउनुपर्ने रणनीति तथा याेजनाबारे सराेकारवालाबीच अन्तर्क्रिया हुनेछ ।

कार्यक्रममा विषयविज्ञबाट कार्यपत्र प्रस्तुति तथा प्यानल छलफल हुनेछ । यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पाैडेलले फाइभजीको विकास र कार्यान्वयनका सम्बन्धमा सरकारको दृष्टिकोण तथा हालकाे प्रगति अवस्थाबारे प्रस्तुति दिनेछन् । त्यस्तै मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स कोअर्डिनेटर राजन कंडेलले व्यवसाथ तथा अर्थतन्त्रमा फाइभजी प्रविधिको प्रभावबारे विश्लेषण तथा केस स्टडीसहितकाे प्रस्तुति दिनेछन् ।

कार्यक्रमकाे अर्काे सत्रमा ‘अनलिशिङ द इकोनोमिक पोटेन्सियल अफ फाइभजी टेक्नोलोजी’ विषयमा प्यानल डिस्कसन हुनेछ । उक्त प्यानल डिस्कसनको मोडेरेसन आईसीटी विज्ञ डा. विवेककुमार राणाले गर्नेछन् । छलफलमा सरकार, दूरसञ्चार तथा निजी क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूले भाग लिनेछन् । यसअन्तर्गत फाइभजीबाट लाभान्वित हुने आर्थिक क्षेत्रहरूकाे चर्चा, उद्यमशीलता र स्टार्टअपलाई बढावा दिन फाइभजीको भूमिका तथा फाइभजीमा सार्वजनिक-निजी साझेदारीको महत्त्व लगायतका विषयमा छलफल हुनेछ । साे प्यानल डिस्कसनमा दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदिप पौडेल, नेपाल टेलिकमकी निर्देशक रिना डंगाेल, खल्ती वालेटका सहसंस्थापक अमित अग्रवाल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स कोअर्डिनेटर राजन कंडेल सहभागी हुनेछन् ।

समग्रमा फाइभजीको सम्भाव्यता र यसले देशको डिजिटल परिदृश्यमा पार्न सक्ने प्रभावबारे चर्चा गर्नु, नेपालमा फाइभजीमा लगानी गर्न निजी क्षेत्र र फाइभजी प्रविधि प्रदायकलाई प्राेत्साहन गर्नु तथा सराेकारवालाहरूबीच अन्तर्क्रिया गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेकाे छ । 

कार्यक्रममा दूरसञ्चार कम्पनी तथा भेन्डर, उद्योग विशेषज्ञ, इन्टरनेट सेवाप्रदायक, ईकमर्स कम्पनी तथा व्यवसायहरू, सरकारी निकाय, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशी नियोगका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० २२:९