close

मंगल ग्रहमा ७२ पटक उडान भरेको हेलिकप्टरमा क्षति, अब उड्न नसक्ने

टेकपाना टेकपाना

माघ १३, २०८० १६:५३

मंगल ग्रहमा ७२ पटक उडान भरेको हेलिकप्टरमा क्षति, अब उड्न नसक्ने

काठमाडौं । पृथ्वीबाहेक अन्य ग्रहमा उडान भर्ने पहिलो मानव निर्मित हेलिकप्टरको मिसन टुङ्गिएको छ । मङ्गल ग्रहको अध्ययन गर्न गएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘इन्जेन्युइटी’ नामक सानो हेलिकप्टरको मिसन समाप्त भएको हो । 

अन्तरिक्ष एजेन्सी नासाका अनुसार ‍कार्बन फाइबर रोटर ब्लेड बिग्रिएकाले हेलिकप्टरले थप काम गर्न सक्नेछैन । हेलिकप्टरले मङ्गल ग्रहबाट पठाएको तस्वीर र डेटाका आधारमा नासाले यो कुरा पुष्टि गरेको हो ।

गत जनवरी १८ मा उडान भरेर अवतरण गर्ने क्रममा हेलिकप्टरमा उक्त क्षति पुगेको नासाले बताएको छ । २०२१, अप्रिल १९ का दिन पर्सभेरेन्स रोभरसँगै नासाले इन्जेन्युइटी हेलिकप्टरलाई मङ्गल ग्रहमा पठाएको थियो ।

वैज्ञानिकहरूले यस हेलिकप्टरबाट ३० दिनमा पाँच ओटा परीक्षण उडानको अपेक्षा राखेका थिए । 

तर तीन वर्ष मङ्गल ग्रह बसेको यस हेलिकप्टरले आफ्नो जीवनभर ७२ ओटा ऐतिहासिक उडान भरेको थियो । त्यसक्रममा सानो हेलिकप्टरले कुल दुई घण्टा बढी उडान भरेर १०.५ माइल (१७ किलोमिटर) दूरी पार गरेको थियो । साथै ८० फिटसम्मको उचाइमा पुगेको थियो ।

विशेषत: नासाले मङ्गल ग्रहको भूसतहको तस्वीर खिच्ने र अर्को मिसन निर्धारणका लागि आवश्यक पर्ने विवरण सङ्कलन गर्न इन्जेन्युइटी हेलिकप्टरलाई प्रयोग गरेको थियो । यसका लागि वैज्ञानिकहरूले रोभर र हेलिकप्टरलाई पहिले ताल र नदी हुन सक्ने मङ्गल ग्रहको क्षेत्र जेजेरो क्रेटरमा राखेका थिए ।

त्यस क्षेत्रमा पर्सिभेरेन्स रोभरले सङ्कलन गरेका नमुनाहरूलाई नासाले पृथ्वीमा फर्काउने बताएको छ । त्यसबाट मङ्गल ग्रहमा जीवन थियो/थिएन भनेर पुष्टि गर्न सकिने नासाको विश्वास छ । यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १६:५३