close

अफलाइनमा यसरी गर्नुहोस् गुगल डक्स, शिट्स र स्लाइड्सको काम

टेकपाना टेकपाना

माघ १९, २०८० २०:४४

अफलाइनमा यसरी गर्नुहोस् गुगल डक्स, शिट्स र स्लाइड्सको काम

काठमाडौं । हालैका वर्षमा हामीले देखेको एउटा रूपान्तरण हो, डेस्कटप सफ्टवेयरलाई ब्राउजरमा लोड गर्न सकिने वेब एपको सुविधा । यो मामिलामा गुगल सबैभन्दा अगाडि छ, जसले गुगल डक्स, जिमेल, गुगल क्यालेन्डर, गुगल फोटोज लगायतमा वेब ब्राउजर र इन्टरनेट हुँदा जहाँबाट पनि पहुँच बनाउन सकिने सुविधा दिएको छ ।

यी एपहरू यति धेरै लोकप्रिय हुनुको कारण स्पष्ट छ- यसमा केही पनि इन्स्टल गर्नु र कुनै चिज सम्झिराख्नु पर्दैन । यदि तपाईं अर्को कम्प्युटरमा सर्नु भयो भने अथवा अर्को कुनै व्यक्तिसँग सँगसँगै मिलेर काम गर्नु पर्‍यो भने लोकल हार्ड ड्राइभमा रहेका फाइल वा प्रोग्रामको तुलनामा वेब एपका यी सुविधा कहाँ हो कहाँ सहज बनिदिन्छन् ।

यो तरिकाबाट काम गर्नुको एउटै असुविधा भनेको सारा समय अनलाइनमै भइरहनु पर्ने आवश्यकता हो । तर वास्तवमै के तपाईंलाई थाहा छ, गुगल डक्स, शिट्स र स्लाइड सफ्टवेयर केही हदसम्म अफलाइनमा पनि प्रयोग गर्न सकिन्छ । आज हामी तपाईंलाई एयरप्लेन मोड, इन्टरनेट नै नभएको दुर्गम भूभाग वा भनौं इन्टरनेट अवरुद्ध भएको समयमा कसरी यी एपहरू प्रयोग गर्ने भन्ने बारेमा बताउँदै छौं । 

 

अफलाइन एक्सेसका लागि सेटिङ

डक्स, शिट्स र स्लाइड अफलाइन एक्सेसका लागि तपाईंले केही तयारीका कामहरू भने गर्नुपर्छ । जसले गर्दा इन्टरनेट नहुँदा पनि ब्राउजरमा यी टुल सामान्य तवरमा प्रयोग गर्न सक्नु हुन्छ । यसका लागि तपाईंले गुगल क्रोम अथवा माइक्रोसफ्ट एजलाई आफ्नो ब्राउजरको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ, जो दुवै एउटै क्रोमियम कोडमा आधारित छन् । 

यसका साथै तपाईंको ल्यापटप अथवा डेस्कटप कम्प्युटरमा आवश्यक फाइल स्टोर गर्न पर्याप्त स्पेस पनि हुनुपर्छ । यति छ भने ब्राउजरमा गुगल ड्राइभ खोल्नुहोस् र आवश्यक परेको खण्डमा आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । अब माथि दायाँ कुनामा रहेको गियर आइकनमा क्लिक गर्नुहोस् र सेटिङभित्र रहेको जनरल (General) मा जानुहोस् । 

त्यहाँ अफलाइन अन्तर्गत रहेको ‘Create, open and edit your recent Google Docs, Sheets and Slides on this device while offline' लेखिएको अप्सन छान्नुहोस् । यो सेटिङ तीन ओटै वेब एपमा लागु हुन्छ, तर एउटा डिभाइसमा गरेको सेटिङ अन्य डिभाइसमा भने लागु हुँदैन । त्यसैले आफूले व्यक्तिगत रूपमा प्रयोग गर्ने प्रत्येक कम्प्युटरमा यसलाई इनेबल गर्नुपर्ने हुन्छ । 

यति गरेपछि तपाईंले कम्प्युटरको स्क्रिनमा अफलाइन एक्सेस कन्फिगर भइरहेको मेसेज देख्न सकनु हुन्छ, केही मिनेट पश्चात् यो तयार हुन्छ । सेटिङ लेबलमा उल्लेख भएअनुसार यो रिसेन्ट फाइलमा लागु हुन्छ । तपाईंले गुगल ड्राइभमा रहेका फाइलमा राइट क्लिक गरेर 'Make available offline' छानेपछि फाइल अफलाइनका लागि तयार हुन्छ । 

जब तपाईं ड्राइभ अथवा कुनै निश्चित डक्स, शिट्स अथवा स्लाइड पेज खोल्नु हुन्छ, अफलाइन उपलब्ध भएका फाइलहरू त्यसको नामसँगै खैरो अर्थात् मधुरो सङ्केत देख्न सकिन्छ । जसमा तपाईंले अर्काइभको रूपमा उपलोड गरेका अथवा अन्य प्रयोगकर्ताको स्वामित्वमा रहेका फाइल समेत हुन सक्छन् । 

 

अफलाइनमा फाइलको काम

गुगल डक्स, शिट्स र स्लाइड अफलाइनमा प्रयोग गर्दा अनलाइनको तुलनामा त्यस्तो खासै फरक पाउनु हुने छैन । यद्यपि इन्टनरनेट नभएको अवस्थामा वेबबाट तस्विर भने लोड गर्न सक्नु हुने छैन । अफलाइन हुँदा केही प्रक्रियाहरू थोरै भिन्न हुने गर्छन् । 

उदाहरणको लागि यदि तपाईं नयाँ फाइल क्रियट गर्नु हुन्छ भने तपाईंले तत्कालै त्यसको नाम राख्नुपर्ने हुन्छ । अर्थात् यस्तो फाइल अनटाइटल्ड डकुमेन्ट, स्प्रेडशिट्स अथवा प्रिजेन्टेसनको रूपमा तत्कालै नदेखिन सक्छ । यस बाहेक तपाईं रिनेम अथवा फाइल डाउनलोड गर्न अथवा आफ्नो गुगल ड्राइभका फोल्डरबीच सार्न पनि सक्नु हुन्न । 

आफूले काम गरिरहेको फाइलको नामको दायाँ तर्फ रहेको टाइटल स्टाटस इन्डिकेटरमा पनि नजर लगाइराख्नु पर्ने हुन्छ । यसले तपाईंलाई तपाईंको लोकल कम्प्युटरमा फाइलमा गरिएका परिवर्तनहरू सेभ भएको जानकारी दिन्छ । यहाँ तपाईंले अफलाइन रहेको अवस्थामा क्लाउड आइकनको साटो कम्प्युटर आइकन देख्नु हुनेछ । 

तपाईंले अफलाइ हुँदा गरेका सबै परिवर्तनहरू गुगल डक्स, शिट्स र स्लाइडमा सेभ भएर बस्छन् र इन्टरनेटको पहुँच स्थापित हुने बित्तिकै लाइभ भर्सनमा स्वतः सिंक हुन्छन् । यो तरिकामा काम गर्दा शेयर गरिएका फाइलहरूको सन्दर्भमा भने केही झन्झटिलो बनिदिन सक्छ । त्यसैले आफू अफलाइन हुँदा त्यस्ता फाइलहरू यत्तिकै छोड्न पनि सक्नु हुन्छ । कम्तीमा विभिन्न व्यक्तिहरू एकै पटक अफलाइन हुँदा सबैले एडिट नगर्ने कुरा भने निश्चित गर्न सक्नु हुन्छ । 

 

मोबाइलमा अफलाइन एक्सेस

सामान्यतया तपाईंले गुगल डक्स, शिट्स र स्लाइडमा गर्ने काम अधिकांश रूपमा नियमित डेस्कटपको वेब ब्राउजरबाटै गर्नुहुन्छ होला । यद्यपि यस प्रकारको अफलाइन एक्सेस मोबाइल एपमा समेत पाउन सक्नु हुन्छ । जहाँबाट तपाईंले आफ्नो फोन अथवा ट्याब्लेट अफलाइनमा हुँदा पनि डेस्कटपमा जस्तै गरी फाइल एडिट गर्न सक्नु हुन्छ । 

यसका लागि एन्ड्रोइड अथवा आईओएसमा रहेको गुगल ड्राइभ एपमा गएर फाइलसँगै रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् र 'Make available offline' मा जानुहोस् । यदि तपाईं मुख्य गुगल ड्राइभको साटो डक्स, शिट्स अथवा स्लाइडका लागि छुट्टाछुट्टै एप प्रयोग गर्दै हुनुहुन्छ भने पनि अफलाइन अप्सनका लागि फाइलसँगै रहेको तीन ओटा थोप्लामा थिच्न सक्नु हुन्छ । 

पछिल्लो अध्यावधिक: माघ २०, २०८० १६:३६