close

अहिलेसम्म स्मार्टफोनमा कुनकुन क्यामेरा मोड प्रयोग गर्नु भएको छ ? थाहा पाइराख्नुहोस् यी ९ मोड

टेकपाना टेकपाना

भदौ ३, २०८१ १९:५५

अहिलेसम्म स्मार्टफोनमा कुनकुन क्यामेरा मोड प्रयोग गर्नु भएको छ ? थाहा पाइराख्नुहोस् यी ९ मोड

काठमाडौं । आज विश्व फोटोग्राफी दिवस । अलि अगाडिसम्म फोटोग्राफर हुन गाह्रै थियो । क्यामेरा महँगा हुन्थे । फोटोग्राफीको प्रविधि पनि जटिल थियो । तर, अहिले मोबाइल फोनमा भएको विकासका कारण जोकोही सजिलै फोटोग्राफर बन्न सक्ने भएका छन् । 

अहिले त महँगा फोनको क्यामेराबाट ठुला डीएसएलआरले जस्तै राम्रै फोटो/भिडिओ खिच्न सकिन्छ । त्यसरी कतिपय चलचित्रकर्मीले मोबाइलबाटै लघुचलचित्र बनाएर प्रशंसा समेत राम्रै पाएका छन् । यसकारण आज विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा स्मार्टफोनबाट फोटो/भिडिओ खिच्न उपयोगी हुने केही मोडबारे चर्चा गरौं ।

क्यामेरा मोड पूर्वनिर्धारित हुन्छन् । सजिलो गरि बुझ्दा फोटो/भिडिओ खिँच्दा क्यामेराले कसरी काम गर्छ भन्ने कुराको पूर्वनिर्धारित सेटिङ नै क्यामेरा मोड हुन् । यसो हुँदा उही दृश्यलाई फरक फरक मोड प्रयोग गरि खिच्दा नजिता पनि भिन्न पाइन्छ ।

१. पोट्रेट मोड

हरेक जसो स्मार्टफोनको क्यामेरामा पोर्ट्रेट मोड पाइन्छ । विशेषत: यस मोडले फोटोमा आउने कुनै निश्चित अब्जेक्ट (चिज, वस्तु वा व्यक्ति) लाई हाइलाइट गर्छ । यसलाई कतिपयले बोके मोड पनि भन्ने गर्छन् ।

यस मोडबाट फोटो/भिडिओ खिच्दा ब्याकग्राउण्ड ब्लर अर्थात् धमिलो अनि सब्जेक्टमा फोकस हुन्छ । त्यस्तै यो भर्टिकल रेसिओ अर्थात् ठाडो हुने गर्छ । तपाईंले यस मोडबाट कुनै व्यक्ति, कुनै उत्पादनको फोटो खिच्न सक्नु हुन्छ ।

२. नाइट मोड

धेरै जसो स्मार्टफोनले रातको समयमा राम्रो फोटो खिच्दैनन् । यो कुराको समाधानका लागि नाइट मोड उपयोगी हुन्छ । नाम जस्तै यो मोडको काम रातको समयमा फोटो खिच्नु हो । यसरी यो मोड प्रयोग गरी रातको समयमा पनि उत्कृष्ट फोटो लिन सकिन्छ ।

यो मोडमा शटर स्पिड निकै कम गरिएको हुन्छ । सामान्य रूपमा बुझ्दा शटर स्पिड भनेको क्यामेराले आफ्नो शटर खोल्न कति समय लगाउँछ भन्ने हो । जति ढिलो शटर खुल्छ, उति नै लेन्सभित्र धेरै प्रकाश जान्छ । यसले स्वत: फोटो स्पष्ट र राम्रो बनाउँछ । 

३. एचडीआर मोड

एचडीआरको पूरा रूप हाई डाइनामिक रेन्ज हो । यसको सहयोगमा तपाईंले फोटोलाई अझ राम्रो बनाउन सक्नुहुन्छ । जब तपाईं एचडीआर मोडबाट फोटो खिच्नुहुन्छ, क्यामेराले एकसाथ कयौं फोटोहरू कैद गरिरहेको हुन्छ ।

जसमा सबै फोटोहरू फरक फरक एक्सपोजरमा खिचिएका हुन्छन् । सफ्टवेयरको सहयोगमा स्मार्टफोनको क्यामेराले ती सबै तस्विरलाई मिलाएर एक राम्रो कलर र कन्ट्रास्ट भएको फोटो तयार पार्दछ । 

आजकलका सस्ता स्मार्टफोनमा समेत एचडीआर मोड पाउन सकिन्छ । अलि कम लाइट भएको ठाउँमा खिच्दा, एकदम बढी प्रकाश भएको बेला, इनडोर फोटोग्राफी गर्दा यो मोड प्रयोग गर्न सक्नुहुन्छ ।

३. पानोरमा मोड

यदि तपाईंलाईं धेरै फराकिलो क्षेत्र अथवा निकै अग्लो दृश्य खिच्नु छ भने पानोरमा मोड उपयोगी हुन सक्छ । यस मोडको विशेषता भनेकै सामान्य क्यामेरा मोडले भन्दा बढी क्षेत्रफल फोटोमा समेट्नु हो ।  

जब तपाईंले यो मोड छनौट गर्नुहुन्छ, स्क्रिनमा एक बक्स देखा पर्छ । जसमा दुई तिर एरो देखिन्छ । अब शटर बटनमा क्लिक गरेपछि तेर्छो अथवा ठाडो तरिकाले फोनलाई घुमाउन सक्नुहुन्छ । त्यसो गर्दा आफूले खिच्ने दिशातर्फ विस्तारै स्मार्टफोन घुमाउनु पर्छ । 

यसो गर्दा क्यामेराले आफैं एक एक गर्दै फोटो खिच्दै जान्छ र अन्तिममा एउटै फोटो तयार पारिदिन्छ । ल्यान्डस्केप, ट्राभल, ग्रुप, आर्किटेक्चर तथा विभिन्न कार्यक्रमहरूको यो मोड प्रयोग गरी दृश्य खिच्न सक्नुहुन्छ ।

४. टाइम ल्याप्स

टाइम ल्याप्सको अर्थ समयलाई कम गर्नु हो । घण्टौंसम्म भइरहेका घटनाक्रम वा दृश्यलाई केही सेकेन्डभित्रै सीमित गर्न यो फिचर प्रयोग गर्ने गरिन्छ । 

अझ सजिलो गरी बुझ्दा टाइम ल्याप्स भिडियो भनेको धेरै समय लगाएर एउटै फ्रेममा लिइएका हजारौं तस्विरको एउटा सङ्कलन हो । टाइम ल्याप्स यस्तो फोटोग्राफी तथा भिडियोग्राफी प्रविधि हो, जसमा एउटै स्थानमा कयौं फोटो खिचिन्छन् । र, ती फोटोहरूलाई मिलाएर स्मार्टफोनमा भएको सफ्टवेयरले एउटा भिडियो बनाउँछ ।

अहिलेको समयमा टाइम ल्याप्स भिडियो फिचर थुप्रै स्मार्टफोनमा आइसकेको छ । यदि तपाईंको फोनमा यो फिचर छैन भने यससँग सम्बन्धित फ्रेमल्याप्स, ल्याप्स इट जस्ता एप डाउनलोड गर्न सक्नुहुन्छ । विशेष गरी सूर्यास्त तथा सूर्योदयको भिडिओ खिच्न, बादल बहेको खिच्न, कुनै कार्यक्रम/घटना खिच्न यो मोड प्रयोग गर्न सकिन्छ ।

५. प्रो मोड

यो एक प्रकारको म्यानुअल मोड हो । धेरै जसो स्मार्टफोनहरूमा यो मोड क्यामेराको 'मोर अप्सन' भित्र राखिएको हुन्छ । यो मोडमा तपाईंले सबै कुरा आफैंले नियन्त्रण गर्नु पर्ने हुन्छ । फोकस, ह्वाइट ब्यालेन्स, शटर स्पिड, आईएसओ लगायतका विकल्पहरूमा तपाईंले आफ्नो रोजाई अनुसार सेटिङ मिलाउन सक्नुहुन्छ ।

यस मोडबाट फोटोग्राफी सम्बन्धी तपाईले विभिन्न परीक्षण गर्न सक्नुहुन्छ । यसले तपाईंको फोटोग्राफीको सीप तिखार्न भूमिका खेल्छ ।  यदि अन्य मोड तपाईंलाई पर्याप्त लागेन भने एक पटक प्रो मोड प्रयोग गर्न सक्नुहुन्छ । 

६. एक्सन मोड 

यो मोड भिडिओहरू स्टेबलाइज गर्न काम आउँछ । नाम जस्तै एक्सन भिडिओ अर्थात् धेरै गतिमा भएका वस्तुहरूको फोटो/भिडिओ खिच्न यो मोड प्रयोग गरिन्छ । यसो हुँदा त्यस्ता भिडिओहरू खिच्न तपाईंलाई गिम्बल, स्ट्यान्ड जस्ता अन्य साधनको आवश्यकता पर्दैन ।

चालमा भएको वस्तुको चाहे जस्तै स्पष्ट  फोटो तथा भिडिओ खिच्न क्यामेरामा स्टेबसाइजेसन प्रविधि प्रयोग गरिएको हुन्छ । यस प्रकारको क्यामेरा मोडबाट तपाईंले बाइकिङ, साइकलिङ, हाइकिङ, स्केटबोर्डिङ जस्ता खेलहरूको फोटो खिच्न सक्नु हुन्छ ।


७. सिनेम्याटिक मोड

हेर्दामा राम्रो र अलि प्रोफेसनल जस्तो देखिने फोटो/भिडिओ खिच्न सिनेम्याटिक मोड प्रयोग गरिन्छ । तपाईंले खिचेको भिडिओलाई अलि चलचित्र जस्तो मुड दिन यसमा विशेष खाले सफ्टवेयर प्रयोग गरिएको हुन्छ ।

यस मोडबाट खिचिएका भिडिओहरूमा हामीले ब्लर ब्याकग्राउन्ड पनि देख्न सक्छौं । साथै भिडिओलाई सिनेम्याटिक लुक्स दिन २४ एफपीएसमा भिडिओ खिच्ने गरिन्छ । यसो हुँदा यदि तपाईं भिडिओग्राफीमा रुचि राख्नुहुन्छ भने यो मोड पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 

८. स्लो-मो मोड

यो टाइमल्याप्सको ठीक उल्टो हुन्छ । अर्थात् यसमा उही दृश्यलाई सामान्य भन्दा ढिलो गरी देखाइन्छ । यस प्रकारको मोडबाट हाई फ्रेम रेटमा भिडिओहरू खिचिन्छ । अनि जसलाई पछि सामान्य गतिमा देखाइन्छ । त्यसो हुँदा उही घटना पनि अलि सुस्त गतिमा देखिन्छ ।

द्रुत गतिमा भएको वस्तुहरूलाई यो मोडबाट खिचेर पछि हेर्दा निकै आकर्षक देखिन्छ । सामान्यत: यो मोडले खिचेका भिडिओहरू १२० देखि २४० एफपीएससम्मका हुने गर्छन् । एक्सन, विज्ञान, प्रकृति, तथा कुनै पनि इफेक्टहरूबारे भिडिओ बनाउन यो मोड उपयोगी हुन्छ ।


९. म्याक्रो मोड

प्राय: सानो आकारको वस्तुहरूको क्लोज अप अर्थात निकै नजिकबाट फोटो खिच्न म्याक्रो मोड प्रयोग गरिन्छ । नाम झैं यो क्यामेरा मोडको काम ससना वस्तुहरूको फोटो खिच्नु हो । प्राय: सामान्य क्यामेरा मोडबाट ससना वस्तुहरूको फोटो खिच्दा जुम गर्नुपर्ने हुन्छ ।

अनि नजिक गएर खिच्दा प्राय: फोकस आउट हुन्छ । तर यस प्रकारको मोडमा भने ससना वस्तुहरूको फोटो खिच्न क्यामेरालाई वस्तु नजिकै लानु पर्ने हुन्छ । त्यसपछि क्यामेराले वस्तु आफैंलाई फोकस गर्छ ।

तर यसो गर्दा तपाईंले वस्तुमा प्रकाश भने अभाव हुन दिनु हुन्न । आर्टस एन्ड क्राफ्ट, टेक्सटाइल एन्ड फ्याब्रिक, गरगहना आदिको फोटो खिच्न यो मोड उपयोगी हुन्छ ।  

माथि उल्लिखित बाहेक पनि क्यामेरामा ब्रस्ट मोड, म्याक्रो मोड, फुड मोड लगायतका अन्य मोड पनि हुने गर्छन् । तपाईंले आफू अनुकूलको मोड प्रयोग गरेर फोटो तथा भिडिओ खिच्न सक्नु हुन्छ ।


 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८१ १९:५५