काठमाडौं । तपाईँले सुन्नु नै भएको होला, अहिले उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले धेरैको जागिर खोस्न सक्ने वा खोसिरहेका समाचार । यो कुराबाट तपाईँ पनि चिन्तित हुनुहुन्छ भने डराइ हाल्नु पर्ने अवस्था नभएको विज्ञहरू बताउँछन् । तर त्यसका लागि तपाईँलाई नयाँ सीपको भने आवश्यकता पर्न सक्छ ।
वर्ल्ड इकोनोमिक फोरमका अनुसार आगामी दिनहरूमा एआईका कारण करिब एक करोड २० लाख नयाँ जागिरहरू सिर्जना हुनेछन् । पछिल्लो समय नेपालमा समेत एआई कम्पनीहरूको स्थापना र एआई जनशक्तिको माग बढ्दो छ । विभिन्न सङ्घ/संस्थाहरूले आफ्नो कामका लागि एआई प्रयोग गर्न थालिसकेका छन् ।
यस्तोमा एआई क्षेत्रका जानकारहरूको माग बढ्ने निश्चित छ । फेरि यो त्यस्तो सीप हो, जुन अन्तर्राष्ट्रिय रूपमा समेत उपयोग हुन्छ । यसको अर्थ एआईमा करियर बनाउने यो सबैभन्दा उपयुक्त पनि समय हो ।
तर कसरी एआईमा प्रवेश गर्ने ? आज हामी यही विषयमा चर्चा गर्दै छौं:
के हो एआई ?
सामान्य भाषामा बुझ्दा एआई भनेको त्यस्तो प्रविधि हो, जसले कृत्रिम बौद्धिकता प्रयोग गरेर कामलाई सजिलो बनाउछ । अथवा मानिसको काम यो प्रविधिले नै गरिरहेको छ । गुगल म्यापमा भएको भोइस असिस्टेन्ट, च्याटजीपीटी, अमेजनको एलेक्सा, कारखानामा प्रयोग हुने स्वचालित रोबोटिक हात, चालक विहीन अर्थात् स्वचालित कार-यी सबै एआईका उदाहरण हुन् ।
अहिले एआई विकासको प्रारम्भिक चरणमा छ । यो चरणले हाम्रो क्षमता र सीपहरूलाई विस्तार गर्न सहयोग गर्छ । भविष्यमा भने एआईमा पनि मानिसले जस्तो स्वनिर्णय गर्न सक्ने क्षमता हुने आँकलनहरू समेत हुन थालेका छन् ।
एआईको औपचारिक अध्ययन
एआईमा मात्र केन्द्रित हुने खाले औपचारिक शिक्षा विश्वविद्यालय तह अर्थात् उच्च शिक्षामा मात्र सीमित रहेको छ । तर त्यसमा भर्ना हुन ११/१२ मा भौतिक विज्ञान, रसायन विज्ञान र गणित विषय अनिवार्य पढेको हुनु पर्छ । उच्च शिक्षा भने कम्प्युटर विज्ञान, आईटी र इलेक्ट्रोनिक्स जस्ता विषयहरूमा पढ्नुपर्छ ।
अनि कुनै पनि एआई कोर्स अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोग्रामिङबारे थाहा हुन आवश्यक छ । लिनक्स कमाण्ड लाइन, वर्क फ्लो, जाभा, जाभास्क्रिप्ट, सी, सी++, पाइथन जस्ता ल्याङ्ग्वेजको ज्ञान हुनु पनि उत्तिकै जरुरी हुन्छ ।
तर सुरुमा नै यी प्रोग्रामिङ ल्याङ्ग्वेज नआएपनि विद्यार्थीले पछि सिक्न सक्छन् । त्यसपछि एआईसँग सम्बन्धित कुनै पनि कोर्समा दक्षता हासिल गरेर तपाईँ यस क्षेत्रमा प्रवेश गर्न सक्नुहुन्छ।
नेपालमा समेत औपचारिक रूपमा एआई कोर्स पढाइ हुन थालिसकेको छ । काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय सहित केही विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूमा एआई विषय पढाइ भइरहेको छ ।
एआई अध्ययनका लागि आवश्यक योग्यता
एआईमा करियर बनाउन विज्ञान पृष्ठभूमिबाट हुनु आवश्यक छ । काठमाडौं विश्वविद्यालयको उदाहरण लिएर कुरा गर्ने हो भने कोर्समा (स्नातक तह ‘बीटेक इन एआई’)मा भर्ना हुन ११/१२ कक्षामा फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीए) वा फिजिक्स, म्याथम्याटिक्स र कम्प्युटर साइन्स (पीएमसी) लिएको हुनु पर्छ ।
त्यस्तै १२ कक्षाको अन्तिम परीक्षामा न्यूनतम २.० सीजीपीए वा ५० प्रतिशतभन्दा बढी अङ्क ल्याएको हुनु पर्छ । साथै काठमाडौं विश्वविद्यालयले लिने प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नु पर्छ । त्यसमा आउने विद्यार्थीको नतिजाले पनि भर्नामा फरक पार्ने गर्छ । मूलत: एआई पढाउने अन्य शैक्षिक संस्थाले समेत लगभग यस्तै आवश्यकता तय गरेका छन् ।
नेपालमाएआईकोस्नातकडिग्री
नेपालमा ‘बीटेक इन एआई’, 'बी टेक इन कम्प्युटर साइन्स एन्ड एआई', ‘बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स’, 'बीएससी (अनर्स) कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स' लगायतका कोर्स पढाइ भइरहेका छन् ।
यी मध्ये तपाईँले कुनै पनि कोर्सको अध्ययन गर्न सक्नुहुन्छ । यी स्थानीय र विदेशी विश्वविद्यालयका कोर्स हुन् । तपाईंले आफ्नो सहजताको आधारमा पढ्ने विश्वविद्यालय चयन गर्न सक्नुहुन्छ ।
एआईको पाठ्यक्रम
प्राय: एआईका कोर्सहरूमा प्रोग्रामिङ, कम्प्युटर आर्किटेक्चर, मसिन लर्निङ, न्यूरल नेटवर्क, रोबोटिक्स, बिग डेटा आदि समावेश हुन्छन् । यी समान विषय हुन् । यस बाहेक वर्कशप र प्रोजेक्ट वर्क त हुने नै भइहाले ।
स्नातक तहमा एआई अध्ययन गर्दा तपाईँले आधारभूत शिक्षा लिनुहुन्छ भने स्नातकोत्तर तहपछि कुनै विशेष क्षेत्रमा विशेषज्ञता हासिल गर्नुहुन्छ ।
तर प्रमाणपत्र पाइने विभिन्न कोर्सहरूले समेत तपाईँको करियरलाई थप उचाइ दिन सक्छन् । बेलाबेला नेपालमा नामी, फ्युज मसिन लगायतका संस्थाहरूले पनि एआई सम्बन्धी तालिम दिइरहेका हुन्छन् । भौतिक रूपमा सञ्चालन हुने तालिम बाहेक तपाई अनलाइनमार्फत पनि त्यस्ता तालिम लिन सक्नुहुन्छ ।
अनलाइन कोर्स तथा तालिम
सामान्यतः गुगल सर्च गर्ने हो भने पनि एआई सम्बन्धी थुप्रै अनलाइन कोर्स भेटिन्छन् । तर पनि राम्रो र भरपर्दो प्लेटफर्मबाट तालिम लिनु बुद्धिमानी हुन्छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयको स्ट्यानफोर्ड स्कूल अफ इन्जिनियरिङले एआई ग्राजुएट सर्टिफिकेट कोर्स अफर गरिरहेको छ । जसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स, प्रिन्सिपल्स एन्ड टेक्निक्स, मसिन लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ विथ डिप लर्निङ, मसिन लर्निङ विथ ग्राफ्स, डिप लर्निङ फर कम्प्युटर भिजन लगायतका धेरै कोर्सहरू पाउन सकिन्छ । यी सबै कोर्स सशुल्क छन् ।
यदि स्ट्यानफोर्ड विश्वविद्यालयको कोर्स महँगो लाग्यो भने तपाईँ आईबीएम एआई इन्जिनियरिङ कोर्स नि:शुल्क रूपमा लिन पनि सक्नुहुन्छ । यसमा डिप लर्निङ, न्युरल नेटवर्क्स, मसिन लर्निङ एल्गोरिदम जस्ता विषय रहेका छन् ।
त्यसैगरी तपाईँ माइक्रोसफ्ट एआई इन्जिनियर एसोसिएट सर्टिफिकेसन कोर्स पनि गर्न सक्नुहुन्छ । यो कोर्स पूरा गरेपछि विद्यार्थीहरूले एजर प्लेटफर्म र एजर कग्नेटिभ सर्भिस निर्माण गर्न, व्यवस्थापन गर्न र एआई एप्लिकेसन बनाउन सक्षम हुन्छन् ।
यदि तपाईँ अलि स्तरीय एआई प्रोग्राममा भर्ना हुन चाहनु हुन्छ भने डिप लर्निङ नामक प्लेटफर्म पनि हेर्न सक्नुहुन्छ । अनलाइन लर्निङ प्लेटफर्म कोर्सेराका सह-संस्थापकले सुरु गरेको यो प्लेटफर्ममा सबै स्तरका विद्यार्थीहरूको लागि कोर्स उपलब्ध छन् । 'एआई फर गुड' जस्ता सुरुवाति चरणका कोर्सदेखि एड्भान्स लेभलसम्मका कोर्स यसमा पाउन सकिन्छ ।
त्यस्तै सामाजिक सञ्जाल लिंक्डइन चलाउनु हुन्छ भने लिङ्कडिन लर्निङको नाम पक्कै सुन्नु भएकै होला । त्यहाँ एआई सम्बन्धी आधारभूतदेखि एड्भान्स तहसम्मका कोर्सहरू पाउन सकिन्छ ।
गुगल एआईसँग पनि जोडिएर तपाईँ एआई कोर्स पढ्न सक्नुहुन्छ । गुगल आफैँमा एआई अनुसन्धानमा ग्लोबल लिडर हो । यस कम्पनीले हरेक वर्ष एआईका विभिन्न अनुसन्धानपत्रहरू समेत प्रकाशित गर्छ । इच्छुक र नयाँलाई सिकाउने पनि गर्छ । गुगल एआईको मसिन लर्निङ क्र्यास कोर्स निःशुल्क रूपमा उपलब्ध छन् । १५ घण्टा लामो यो कोर्स पनि उपयोगी नै हुन सक्छ ।
आवश्यक सीप
प्रोग्रामिङ
एआई इन्जिनियरसँग पाइथन, आर, जाभा, सी++ जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजमा राम्रो ज्ञान हुनु पर्छ ।
मसिन लर्निङ र एल्गोरिदम
एआई इन्जिनियरसँग प्रोग्रामिङ ल्याङ्ग्वेज मात्र भएर पुग्दैन । एउटा एआई मोडेल बनाउन मसिन लर्निङ र अल्गोरिदमबारे पनि राम्रो दक्षता हुन आवश्यक छ । यसका साथै लिनियर अल्जेब्रा, प्रोब्याब्लिटी, स्टाटिस्टिक्समा समेत बलियो ज्ञान हुनु आवश्यक छ।
स्पार्क र बिग डेटा
एआई इन्जिनियरहरूले प्रायः ठूलो परिमाणको डेटामा काम गर्नुपर्ने हुन्छ । यस्तो डेटा व्यवस्थापन गर्न स्पार्क, अपाचे स्पार्क, हडूप जस्ता बिग डेटा प्रविधिमा विशेषज्ञता हासिल गरेको हुनु पर्छ ।
अल्गोरिदम र फ्रेमवर्क्स
मसिन लर्निङ मोडेलहरूलाई काम गराउन अल्गोरिदम र फ्रेमवर्कको गहिरो ज्ञान आवश्यक छ । ठुलो परिमाणका डेटा प्रायः अन-स्ट्रक्चर्ड फर्म्याट अर्थात् नमिलेको ढाँचामा हुन्छन् । यसलाई स्ट्रक्चर्ड फर्म्याटमा ल्याउन न्यूरल नेटवर्क, रिक्रेन्ट न्यूरल नेटवर्क, र जनरेटिभ एड्भर्सेरियल नेटवर्क (जीएएन) जस्ता मसिन लर्निङ मोडेलहरू प्रयोग गर्नुपर्ने हुन्छ ।
अप्राविधिक सीप
एआई इन्जिनियरलाई प्राविधिक सीप त चाहिने भइ हाल्यो । सँगै अप्राविधिक सीपको पनि उत्तिकै जरुरत पर्छ । समस्या समाधान गर्ने क्षमता, समूहमा काम गर्न सक्ने क्षमता, समय व्यवस्थापन, आलोचनात्मक सोच जस्ता अप्राविधिक सीप पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छन् ।
अब एआईका यी विषय अध्ययन गरिसकेपछि के करियरको रूपमा गर्नुपर्ने काम बारे पनि बुझौँ ।
एआई प्राविधिकका जिम्मेवारी
मुख्यत: एउटा एआई इन्जिनियरहरूले आफ्ना ग्राहक वा कम्पनीको व्यापारिक आवश्यकता बुझेर मसिन लर्निङ अल्गोरिदम र डिप लर्निङ न्यूरल नेटवर्क प्रयोग गरी एआई मोडेलहरू विकास गर्ने काम गर्छन् ।
यसका लागि प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, डेटा साइन्सको राम्रो समझ चाहिन्छ । तर मोडेल बनाएर मात्र पनि हुँदैन, विभिन्न एआई टुलको प्रयोग गरेर डेटा प्रोसेसिङ र एआई प्रणालीको मर्मत सम्भार गर्न समेत सक्षम हुनु पर्छ ।
के एआई प्राविधिक बन्न गाह्रो छ ?
झट्ट हेर्दा यो चुनौतीपूर्ण नै देखिन्छ । तर त्यति कठिन पनि छैन । कम्प्युटर विज्ञान, प्रोग्रामिङ वा गणितमा कमजोर भएका व्यक्तिलाई केही गाह्रो पर्न सक्छ । यसका लागि तालिम, अभ्यास र समर्पण भने चाहिन्छ । मुख्य कुरा सिक्नका लागि प्रशस्तै स्रोतहरू उपलब्ध छन् ।
के डिग्री बिना एआईमा करियर बनाउन सकिन्न ?
यसको सरल उत्तर हो, सकिन्छ । यद्यपि सम्बन्धित डिग्री हुनु भनेको राम्रो हो । औपचारिक शिक्षा बिना नै अनलाइन कोर्स, बुटक्याम्प, तालिम लिएर यसमा करियर बनाउन त सकिन्छ ।
तर यसका लागि कम्प्युटर प्रोग्रामिङ, डेटा स्ट्रक्चर, र अल्गोरिदममा बलियो आधार भने बनाउन जरुरी छ । अथवा भनौ न, डिग्री हुनु सुनमा सुगन्ध हो ।
भविष्य
आज एआई कहाँ प्रयोग भइरहेको छ भन्दा पनि कहाँ भइरहेको छैन भन्ने दिन आइसकेको छ । डिजाइनिङ, व्यापार, शिक्षा, अनुसन्धान तथा विकास, अटोमोबाइल, मेडिकल, सङ्गीत, खेलकुद सहित प्राय: सबै जसो क्षेत्रमा यसको प्रयोग भइरहेको छ ।
यसमा काम गर्नेहरूको कमाई पनि आकर्षक हुन्छ । अझ यस क्षेत्रमा लागि रहँदा अमेजन, माइक्रोसफ्ट, गुगल, आईबीएम जस्ता कम्पनीहरूमा काम गर्ने अवसरको ढोका पनि खुल्न सक्छ ।
विशेषत; एआईको अध्ययनपछि तपाईँ मसिन लर्निङ इन्जिनियर, डेटा वैज्ञानिक, एआई अनुसन्धाकर्ता, रोबोटिक्स इन्जिनियर, बिग डेटा एनालिस्ट आदि बन्न सक्नुहुन्छ । समग्रमा भनौँ, एआई क्षेत्रमा करियर बनाउनु भनेको समय सापेक्ष रूपमा अघि बढ्नु हो ।